calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

फूलले छोप्यो फूलवारी

नारायण खड्का,

फूलवारी, ८ कात्र्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारीको अम्वापुर निवासी ४३ बर्षीय हिरामोती चौधरी फूलवारीमा यतिधेरै फूल फूलेको कहिलै देखेकी थिइनन् । तर यसपटक उनले फूलवारीको मजघटवामा फूलेका हजारौं सयपत्री देख्न पाइन । चौधरीले भनिन् – ‘ढकमक्क फूलका सयपत्री फूलहरुले धर्ती नै उज्यालो भएको छ । मलाई त यही फूलहरुको माझमा बसी रहँजस्तो लाग्छ।’ धान,मकै, गहुँ, मसुरो जस्ता अन्नबालीको मात्रै खेती हुँदै आएको स्थानमा फूलको व्यवसायिक खेति गरिएपछि आज त्यसले धेरैको ध्यान केन्द्रीत गरेको छ ।

दंगिशरण गाउँपालिका वडा नं. १ गोलटाकुरी निवासी ६१ बर्षीय शाक्य खत्रीपनि फूलखेतिको चर्चा सुनेर दुई घन्टा पैदल हिडेर फूलवारी नियाल्न आएको अवस्थामा फूवारीमै भेटिए । उनले हजारौंको संख्यामा फूलेका सयपत्री फूलहरु देख्दा अतेन्तै खुसी लागेको प्रतिक्रिया दिए । खत्रीले भने–‘हाम्रो ठाउँमा पनि मज्जाले फूलखेति हुने रहेछ भन्ने यसले पुष्टि भयो । अब म घरमा गएर छोराहरुलाई पनि फूलखेति गर्नुपर्छ भन्ने सल्लाह दिनेछु।’

झन्डै १७ किलोमिटर टाढा तुलसीपुर बाजर क्षेत्र वडा नं. ६ बाट फूलवारीस्थित सयपत्री फूलको फूलवारीमा पुगेका ऋतिसा आचार्य र भिजन आचार्य दिदी बहिनीले आफ्नै क्षेत्रमा व्यवसायिक फूलको खेति भएको देखेर खुसी साटे । उच्च शिक्षा अध्यनरत भिजनले त्यसको शिको हुन सके देशले फूल किन्दा बाहिरीने ठूलो धनरासी जोगिने संभावना औंल्याइन । ‘विदेशी आयात निरुत्साहित गर्न यस्तै नयाँ संभावनाहरुको खोजी हुन आवश्यक छ,’ भिजनले भनिन् ‘ यसले हामीलाई स्वाबलम्बी बनाउने छ र स्थानीय स्तरमा रोजगारीका अवसरहरु सृजना गर्ने छ ।’ आचार्यले दिदी बहिनीले तिहारमा प्राकृतिक फूलको माला नपाएर प्लाष्टिकको माला लगाउनु पर्ने अवस्थाको समेत यस्ता प्रयासहरुले अन्त्य गर्ने आशा व्यक्त गरे ।

बस्तु चौपाया चराउन खाएका स्थानीय ६० बर्षीय तेजबहादुर बस्नेतले युवाहरुले पहिलो पटक गरेको व्यवसायिक फूलखेतिले धेरै स्थानीयलाई नयाँ ढंगले सोच्न बाध्य पारेको तर्क गरे । ‘यहाँ सुरुमा युवाहरुले फूलखेति गर्छौं भन्दा कसैले विश्वास गरेका थिएनन्,’ बस्नेतले भने ‘तर जव आज एकैसाथ हजारौं फूलहरु फूलेको देखे बल्ल गाउँलेहरुले पुष्प खेतिबाट राम्रो आयआर्जन गर्न सकिने रहेछ भन्ने विश्वास गर्न थालेका छन् ।’

गाउँका धेरैले अर्कौ वर्षदेखि फूलखेति गर्नको लागि सल्लाह र छलफल गर्न थालेको उनले बताए । ‘ हाम्रो ठाउँको नाम फूलवारी भन्ने त थियो,तर, फूलहरुको बगैचा थिएन, बल्ल आज फूलवारी भन्न लायक भएको छ,’ बस्नेतले खुसी साटे ।

फूलवारीमा पहिलो पटक तुलसीपुर क्षेत्रमा विभिन्न सामाजिक क्षेत्रमा क्रियासिल ५ जना युवाहरु मिलेर फूलवारीमा १ विगाहा जति जग्गा खरिद गरि पहिलो पटक सयपत्री फूलको व्यवसायिक खेति गरेका हुन । त्यसैले आज त्यो फूलवारी हेर्न जाने मानिसहरुको कमि छैन ।

तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसी , त्रिभूवन विश्वविद्यालयका सहयाक प्राध्यापक मनोज बस्नेत, तुलसीपुर सिटी हस्पिटलका प्रशासकिय अधिकृत हेमराज बस्नेत, ५ नं. प्रदेश ग्याँस व्यवसायी संघका सचिव सचिन पौडेल, तुलसीपुर फ्लोर मिलका सञ्चालक सन्दिपन रिजालले मिलेर सामुहिक जग्गा खरिद गरि पहिलो पटक फूलवारीमा व्यवसायिक रुपमा ‘थाईल्याण्ड सोनम अरेञ्ज’सयपत्री फूलको खेति गरेका हुन ।

काठमान्डौंवाट विउ ल्याएर वेर्ना उत्पादन गरि गत भदौमा सयपत्री रोपेको जानकारी दिए । ‘हाम्रो उदेश्य आम्दानी गर्नु मात्रै हैन स्थानीयलाई विभिद कृषिको संभावना उजागर गर्नुपनि हो । परम्परागत खेतिगर्दै आएका किसानले समेत त्यो हेरेर विश्वास गरुण भन्ने हाम्रो चाहाना हो,’विनिल केसीले भने ।

उनले आफुहरुको चाहाना आफैले खेति गर्नु भन्दापनि अरुलाई सिकाउनका लागि त्यसो गरेको बताए । उनले सोही ठाउँमा एकजना कृषि विज्ञलाई राखेर च्याउ उत्पादन केन्द्र समेत स्थापना गरिएको जानकारी दिए । ‘हामीलाई तुलसीपुर बजारमै व्यवसाय गर्न भ्याई नभ्याई छ ।

जहाँ पैंशापनि राम्रै छ,’ केसीले थपे ‘हामी विकट मानिने गाउँमा गएर फूलखेति र च्याउको व्यवसायिक खेति गर्नुको कारण स्थानीयलाई परिवर्तन गराउनु प्रमुख उदेश्य हो।’गत वर्षदेखि पहिलो पटक जिल्लाको घोराहीमा फूलको व्यवसायिक खेति सुरु भएको हो । रोल्पाबाट आएका मानिसहरुले जग्गा भाडामा लिएर मिलेर घोराहीमा पहिलो पुष्प खेति गरेका थिए । त्यसको सिको गर्दै जिल्लाका विभिन्न स्थानमा यो वर्ष पुष्पखेति भएका छन् ।

डाँगीको पुष्प खेती

नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले पनि पश्चिम दाङमा पुष्प खेति गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारेमा १० कठ्ठा क्षेत्रफलमा सचिव डाँगीले लगाएको फूल आज ढकमक्क फूलेको छ । घोराही निवासी सचिव डाँगीले बाघमारे स्थित आफ्नै जग्गामा पहिलो पटक पुष्प खेति गरेको जानकारी दिए । चितवनवाट ल्याएर १० हजार फूलको बोटहरु लगाएको र त्यसमा झन्डै ७ क्विन्टल जति फूल तयार भएको जानकारी दिए । एक दुई दिनमै फूलहरु टिप्न सुरु हुने र विक्रिका लागि बजार पठाउने सचिव डाँगीले योजना सुनाए ।

बजारको चिन्ता

तुलसीपुर १३ फूलवारीमा तयारी अवस्थामा रहेका सयपत्री फूलहरु यो बीचमा ८४ किलो सुर्खेतमा विक्रि भएको छ । झन्डै ५ सय केजी जति फूलका थुङ्गाको अडर काठमान्डौं बाट आएको विनिल केसीले बताए । बुटवल र नेपालगञ्जबाट पनि फाट्ट फुट्ट रुपमा अडर आएको भएपनि त्यो प्रयाप्त छैन । विनिल केसीका अनुसार फूलवारीस्थित उनीहरुको बगैचामा अझैं १० गुना बढी तयारी फूलहरु छ । निकै आकर्षक ‘थाईल्याण्ड सोनम अरेञ्ज’ जातको सयपत्री फुल किलोको फूटकरमा २ सय ५० र थोकमा उठाउँदा मुल्यमा केही सस्तोमा विक्रि हुँदै आएको छ ।

तर उचिव बजार नपाएको खण्डमा हजारौंको संख्यामा तयार भएको फूल त्यसै खेर जाने खतरा विनिल केसीले औंल्याए । ‘ हामी कहाँ बरु महंगो हालेर आयातित प्लाष्टिककै फूल लगाउने,तर, प्राकृतिक फूल नखोज्ने प्रचलन पनि छ,’ केसीले भने ‘ अब सबैले स्थानीय उत्पादनलाई प्रोत्साहान गर्नु पर्छ । प्राकृतिक फूलको माला नै लगाउने प्रयास सबैको हुनुपर्छ।’ नेपाली काँग्रेसका सचिव शंकरप्रशाद डाँगीले पनि उत्पादित फूल कहाँ बेच्ने भन्ने चिन्ता जाहेर गरे ।