कांग्रेस महाधिवेशन : प्रदेशसभामा नेतृत्व छान्दै कांग्रेस

दाङ, ३ मंसिर । सत्तारुढ कांग्रेसले २४ देखि २६ मंसिरमा काठमाडौंमा १४औं महाधिवेशन गर्दैछ । कांग्रेसले भदौमै महाधिवेशन सक्नुपर्ने थियो तर सर्दा–सर्दा कांग्रेस महाधिवेशन मंसिरमा पुगेको छ । कांग्रेसले महाधिवेशनको लागि भनेर वडा, पालिकाको अधिवेशन गरिसकेको छ । त्यसैगरेर प्रदेश सभाका क्षेत्रमा आज अधिवेशन गर्दैछ । देश संघीय संरचना गएसँगै पहिलोपटक हुन थालेको नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा कांग्रेसले नयाँ नेतृत्व चयन गर्न थालेको हो ।

सहमति भए आज दाङ जिल्लाका प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा कांग्रेसले नयाँ नेतृत्व पाउनेछ । तर दाङमा सहमतिमा नेतृत्व चयनको सम्भावना कमजोर बन्दै गएको छ । त्यो कारण पनि पार्टीका दुईवटा समूहले प्यानल नै बनाएर प्रचार–प्रसार गरेका छन् । नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापनइतरको समूह चुनावी प्रचारमा व्यस्त छन् । दुवै समूहले टिम बनाएर चुनावी अभियानमा छन् । नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले शुक्रवार विहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारलाई मनोनयन दर्ताको समय तय गरेको निर्वाचन समितिले जनाएको छ । यो समयमा उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन स्थलमा पुगेर उम्मेदवारी दर्ता गराउनेछन् ।

उम्मेदवारी दर्तापछि दिउँसो ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार ३ः१५ देखि ३ः४५बजेसम्म उम्मेदवारीमाथि दावी विरोध र संशोधन गर्ने, ४ बजे उम्मेदवारको संशोधन नामावली प्रकाशन गर्ने, ४ः५ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता र ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने कार्यतालिका छ । निर्वाचन मंसिर ४ गते विहान ९ बजेदेखि मतदान सुरु हुनेछ । अधिवेशनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र १ ‘क’ का लागि गढवा र १ ‘ख’ का लागि लमही, निर्वाचन क्षेत्र नं. २ ‘क’ का लागि घोराही र २ ‘ख’ का लागि नारायणपुर र निर्वाचन क्षेत्र नं. ३ ‘क’ लागि तुलसीपुर र ३ ‘ख’ का लागि श्रीगाउँ मतदान स्थल तोकिएको छ ।

निर्वाचनले जिल्लाका ६ वटा प्रदेश निर्वाचन क्षेत्रहरुमा एक÷एक जना सभापति, दुई÷दुई जना उपसभापति, दुई÷दुई जना सचिव र सहसचिवहरु निर्वाचन हुने व्यवस्था पार्टीको विधानले गरेको जिल्ला निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले बताए । कार्यवाहक संयोजक बस्नेतका अनुसार प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रत्यक्षतर्फ ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा तीन महिलासहित दशजना प्रदेश प्रतिनिधिहरु खुल्लातर्फबाट निर्वाचित हुने भएका छन् । त्यसैगरी ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा दलिततर्फ १÷१ जना र मधेशी, मुस्लिम, अपांग अल्पसंख्यक मध्यबाट १÷१ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. १ (क) मा खस आर्यबाट एकजना र (ख) बाट एकजना महिलासहित दुई जना प्रदेश प्रतिनिधिहरु निर्वाचित हुनेछन् । त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र नं. २ (क) मा एक महिलासहित २ जना र (ख) मा एक महिलासहित ३ जना प्रदेश महाधिवेशन प्रतिनिधि र निर्वाचन क्षेत्र नं. ३ (क) र (ख) मा १÷१ जना महिलासहित ३÷३ जना प्रदेश महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार आदिवासी जनजाति प्रदेश महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ (क) र (ख) बाट १÷१ जना, क्षेत्र नं. २ (क) बाट एक महिलासहित २ जना र प्रदेश निर्वाचन क्षेत्र नं. २ (ख) बाट एकजना प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

आदिवासी जनजाति प्रतिनिधिअन्तर्गत क्षेत्र नं. ३ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिको व्यवस्था छैन भने (ख) बाट एकजना प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनमा थारुबाट निर्वाचन क्षेत्र नं. १ (क) र (ख) बाट १÷१ महिलासहित ३÷३ जना, निर्वाचन क्षेत्र नं. २ (क) र (ख) बाट १÷१ जना र निर्वाचन क्षेत्र नं. ३ (क) बाट एक महिलासहित दुई जना र (ख) बाट एकजना प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको छ । यसरी निर्वाचित भएका प्रतिनिधिहरु उक्त कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत यही मंसिर ३ गते हुने प्रदेशसभा निर्वाचनअन्तर्गत जिल्लामा १ सय ३ जना प्रदेश महाधिवेशन प्रतिनिधि र ४२ जना प्रदेश पदाधिकारीहरु निर्वाचित हुँदैछन्