महाधिवेशनको ‘मौसम’

इन्द्र डी.सी.
दाङ, १ मंसिर । देशमा महाधिवेशनको मौसम सुरु भएको छ । ठूला राजनीतिक दलहरूले मंसिर र पुसमा महाधिवेशन गर्दैछन् । नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले मंसिरमा महाधिवेशन गर्दैैछन् भने सत्तारुढ नेकपा माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ । नेकपा मालेले महाधिवेशन गरिसकेको छ ।

कार्तिक २७ मा चितवनमा भएको नेकपा मालेको महाधिवेशनबाट पुनः सिपी मैनाली नै निर्वाचित भएका छन् । त्यसैगरेर मुख्य दलमा समेत वर्तमान नेतृत्व नै महाधिवेशनबाट पुनः नेतृत्वमा आउने सम्भावना उच्च छ । दलले मंसिर र पुसमै महाधिवेशन वा राष्ट्रिय सम्मेलन किन गर्दैछन् ? मुख्य कारण भनेको संविधानले तोकेको सीमा नै । नेपालको संविधानको धारा २६९ को उपधारा ४को ख मा हरेक ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने’ उल्लेख छ ।

कारणवश पाँच वर्षमा त्यस्तो निर्वाचन नभएमा बढीमा ६ महिना लम्ब्याउन सक्ने छुट पनि संविधानले दिएको छ । निर्वाचन आयोगका अनुसार साढे पाँच वर्षमा अधिवेशन नगर्ने राजनीतिक दलले निर्वाचनमा भाग नै लिन पाउँदैन । आयोगका अनुसार अधिवेशन नगरेमा दल दर्ता हुँदैन । दल नै दर्ता नभएपछि चुनावमा भाग लिन पाउँदैन । प्रमुख दलमध्ये प्रमुख प्रतिपक्षी नेकपा एमालेले सबभन्दा पहिले महाधिवेशन गर्दैछ । एमालेले मंसिर १० र १२ गते चितवनमा पार्टीको १०औँ महाधिवेशन गर्दैछ । त्यसको लागि एमालेले महाधिवेशन प्रतिनिधिसमेत छनोट गरिसकेको छ । महाधिवेशनको लागि एमालेले १९९९ जना प्रतिनिधि छनोट गरेको छ । अधिवेशनको अधिकांश काम सकिसकेको एमालेले जनाएको छ । विधान महाधिवेशन गरिसकेको एमालेले महाधिवेशनबाट नयाँ नेतृत्व मात्र चयन गर्नेछ ।

एमालेले असोज १५ देखि १७ मा काठमाडौंमा विधान महाधिवेशन गरेको थियो । विधानतः एमालेले २०७६ मै महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, एमाले र माओवादी मिलेर नेकपा नेकपा बनेपछि त्यसबीचको अवधिलाई ‘शून्य समय’ मानेर अहिले महाधिवेशन गर्न लागिएको हो । एमाले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । कार्तिक ६ मा वडा र ९ मा पालिका अधिवेशन गरेको थियो । सत्तारुढ कांग्रेसले २४ देखि २६ मंसिरमा काठमाडौंमा १४औं महाधिवेशन गर्दैछ । त्यसो त कांग्रेसले भदौमै महाधिवेशन सक्नुपर्ने थियो तर सर्दा–सर्दा कांग्रेस महाधिवेशन मंसिरमा पुगेको छ ।

कांग्रेसले महाधिवेशनको लागि भनेर वडा, पालिकाको अधिवेशन गरिसकेको छ । त्यसैगरेर संघीय क्षेत्र र प्रदेशको क्षेत्रमा मंसिर ६ र ३ को लागि मिति तय गरेको छ । त्यसैगरेर जिल्ला अधिवेशन मंसिर १० को लागि तय भएको छ । त्यसैगरेर प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिक सावर्जनिक गरेको छ । ‘२३ भदौमै कांग्रेसले महाधिवेशन गरिसक्नुपर्ने हो । त्यसपछि ६ महिनाभित्र नगरे वैधानिकताको प्रश्न उठ्छ’ त्यो भएर यो समय हाम्रो लागि बाध्यकारी नै हो’, कांग्रेस एक नेताले भने– ‘अहिले हामीले गर्न लागेको समयमै गरे संकट आउँदैन, यो पनि घक्र्यो भने चाहिँ वैधानिक प्रश्न उठ्छ ।’

सत्तारुढ माओवादी केन्द्रले १० देखि ११ पुसमा राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनमा दुई हजार प्रतिनिधिले भाग लिनेछन् । माओवादीले मंसिर ४ मा वडा र ९ मा पालिका अधिवेशन गर्दैछ । माओवादीले यसअघि २०७३ मा राष्ट्रिय सम्मेलन गरेको थियो । ‘यो प्राविधिक सम्मेलन हो । भोलि अवरोध नहोस् भनेर वैधानिकता जोगाउन राष्ट्रिय सम्मेलन गर्दैछौँ,’ माओवादी एक नेताले भने । एमालेको महाधिवेशन सकिने दिन नै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा महाधिवेशन गर्दैछ । राप्रपाले ११ देखि १३ मंसिरमा महाधिवेशन आयोजना गर्दैछ ।

पार्टीले यसलाई एकताको महाधिवेशन भनिएको छ । २०७६ फागुनमा पूर्व पञ्चहरूले नेतृत्व गरेका विभिन्न घटकले एकता गरेका थिए । एकतापछि राप्रपाले बल्ल महाधिवेशन गर्न लागेको हो । राप्रपाले १ देखि ३ मंसिरसम्म महाधिवेशन प्रतिनिधिहरूको छनोट गर्दैछ । करिब पाँच हजार प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छनोट गर्न भाग लिनेछन् । २०७३ मा राप्रपाले महाधिवेशन गरेको थियो । जसबाट सर्वसम्मत अध्यक्ष चयन गरेको थियो । तर, पार्टी भने ६ महिना पनि टिकेन ।

२२ भदौ २०७४ मा पशुपति शमशेर राणाले पार्टी फुटाए । लगत्तै चुनाव भयो । अघिल्लो निर्वाचनमा ३७ सिट जितेको राप्रपा २०७४ सालको निर्वाचनमा एक सिटमा झरेको थियो । प्रतिनिधिसभामा राप्रपाका राजेन्द्र लिंगदेनले मात्र झापाबाट चुनाव जितेर आएका थिए । २०७६ मा फेरि पार्टी एकता भएको थियो । जसबाट तीन अध्यक्ष बनेका छन् ।