सेवाले नै समाजको विकास : मेहता

परिवार नियोजनको संघको केन्द्रीय सभा

दाङ ३१ मंसिर । विशेष गरेर प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघको केन्द्रीय सभा दाङमा सुरु भएको छ । देशका अधिकांश जिल्लामा कार्य क्षेत्र बनाएको संघको नेतृत्व छान्ने ४१औँ सभा दाङमा भएको हो । केन्द्रीय सभाको संयोजन दाङले शाखाले गरेको हो । सभाको उद्घाटन अन्तर्राष्ट्रिय परिवार नियोजन संघ दक्षिण एशियाली क्षेत्रीय निर्देशक सोनाल मेहताले गरेकी हुन् ।

सभाको उद्घाटन गर्दै उनले मानवीय सेवा नै मानव जीवनको धर्म भएको बताइन् । मानवीय सेवा नै मानव जीवनको धर्म हो । त्यो भएर संस्थाले यो सहयोगको रुपमा काम गर्दै आएको छ’, उनले भनिन्– ‘यो कार्यमा सबैले सहयोगी भावना राख्नुपर्छ ।’ नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि मेहताले सेवा र सहयोगको भावनाको विकासले नै समाज सत्मार्गको बाटो पहिल्याउन सक्ने समेत बताइन् ।

सेवासहितको सहयोगी भावनाको हात फैलाउँदै संघले दूरदराजका गाउँ–गाउँ, वस्ती–वस्तीका पीडामा मलमपट्टी लगाउने काम गर्दै आइरहेको छ’, उनले भनिन्– ‘जसका कारण थोरै भए पनि राहतको महसुस लाभान्वित वस्ती, वर्ग, क्षेत्रले पाएको छ ।’ उनले आफूहरु सेवामा समर्पित भएकोले सबैले सबैका लागि सेवा र सहयोगको भावना काम गर्न सुझाव समेत राखिन् । ‘जसले समाजलाई सकारात्मक बाटोमा हिँडाउन सक्छ ।’

जसका लागि अब युवाहरु अग्रसर बन्नुपर्ने, युवा समुदायको सेवा र सहयोगका लागि जागरुक बनाउन प्रयत्न सबैको रहनुपर्छ’, उनले भनिन् । भारतीय मुलुकको नागरिक मेहताले नेपाल एक सुन्दर र स्रोत सम्पदाले भरिपूर्ण देश भएकाले नेपालले आफ्नै स्रोत साधनको उपयोग गरी समृद्धिउन्मुख बन्नसक्ने विश्वास समेत व्यक्त गरिन् । नेपाल विकास उन्मुख राष्ट्र नभई विकासको गतिमा अघि बढिसकेको राष्ट्र भएकाले नेपालमा धेरै सम्भावना र अवसर रहेकाले अब सुन्दर मुलुकलाई अझ सुन्दर बनाउन हातमा हात जोड्दै केही गर्न उत्प्रेरणा पैदा गर्न सबै अग्रसर बन्नुपर्ने विचार राखिन् ।

कार्यक्रममा नेपाली कांग्रेस राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटाले नेपाल परिवार नियोजन संघले दुर्गमदेखि सुगमसम्मका वस्ती–वस्तीमा हरेक स्वास्थ्य सेवा क्षेत्रमा मलम लगाउँदै आइरहेको चर्चा गरिन् । उनले त्यसको थप विस्तार र विकास अझै आवश्यक भएको बताइन् । प्रजनन स्वास्थ्य सेवा क्षेत्रमा अझै संघले हरेक वस्ती–वस्तीमा लुकेर बसेको पीडालाई खोज्दै रोग लुकाएर बस्नुपर्ने बाध्यता खोज्दै सेवा पु¥याउन सुझावसमेत दिइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सिचाई उर्जा तथा जलस्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले संघले नागरिकको स्वास्थ्य सेवा क्षेत्रमा एक ईट्टा थप्ने काम गरेको चर्चा गरे । जसको सेवा क्षेत्रको विकास र विस्तारका लागि सबैले सहयोग गर्नुपर्ने उनले बताए । नेपाल परिवार नियोजन संघ दाङका शाखाका अध्यक्ष तीर्थराज सन्तोषीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संविधानसभा सदस्य राजु खनाल, नेपाल यातायात महासंघका योगेन्द्रनाथ कर्मचार्य, स्वास्थ्य कार्र्यालय दाङका प्रमुख अंगदबहादुर शाहीलगायतको मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण दाङ शाखा सचिव माया पोख्रेलले गरेकी थिइन् ।