दाङ २८ कार्तिक
दाङ, २८ कार्तिक । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको मुख्य सचेतक अनिता देवकोटाले श्रोत साधनको प्रयोग गरेर जनतालाई विकासको अनुभूति हुने गरेर काम गर्न पालिकालाई सुझाव दिएकी छिन् ।
‘जनप्रतिनिधि आएको चार वर्ष पूरा भएको छ’, जिल्ला समन्वय समिति दाङले आ.व २०७७÷०७८ को जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीलाई आइतबार घोराहीमा सम्बोधन गर्दै सचेतक देवकोटाले भनिन्– ‘अब कामको मूल्यांकन गर्ने समय भएकोले त्यो कति पूरा भएको छ, त्यसमा विशेष ध्यान दिनपर्छ ।’ उनले सबै तहले आ–आफ्नो अधिकार प्रयोग गरेर काम गर्नुपर्ने समेत बताइन् । ‘सबैका आ–आफ्ना अधिकार छन् । ती अधिकार प्रयोग गरेर जनतालाई सुशासन दिनुपर्र्छ’, उनले भनिन् ।
विगतमा कोभिड, बाढीलगायतका कारण विकास निर्माणका काममा अवरोध भएको भन्दै उनले स्थानीय तहले अब भूमिका बढाएर लैजानुपर्ने बताइन् । सचेतक देवकोटाले जिल्ला समन्वय समितिको भूमिकालाई फराकिलो बनाउनुपर्ने समेत विचार राखिन् । संविधानमा जिससको भूमिका साँघुरो छ । अब यसको भूमिका बढाउन सबैले महशुस गरेका छन्’, सचेतक देवकोटाले भनिन् । समन्वयको अभावले गौरवका योजना समेत प्रभावकारी बन्न नसकेको भन्दै समन्वय शब्द आफैमा महत्वपूर्ण भएको समेत बताइन् ।
कार्यक्रममा राष्टियसभा सदस्य कोमल वलीले जिल्लाको विकासको लागि सबैको एकता र सहकार्य आवश्यक भएको बताइन् । ‘जिल्लाको विकास गर्दा जनताको सहभागिता आवश्यक छ’, उनले भनिन्– ‘त्यसको लागि सबै तहका सरकारले विशेष ध्यान दिनुपर्छ ।’ उनले जिल्लामा खेतीयोग्य जमीन खण्डीकरण भएकोमा चिन्ता व्यक्त गर्दै तत्काल भू–उपयोग नीति कार्यान्वयन गरेर जानुपर्ने बताइन् । सांसद वलीले जिल्लामा पानीको मुहान सुक्दै गएको भन्दै योजना बनाएर संरक्षण गर्न जोडसमेत दिइन् ।
सांसद वलीले जिससको भूमिका कमजोर भएकाले प्रभावकारी रुपमा काम गर्न समस्या भएको भन्दै अधिकारलाई फराकिलो बनाएर जानुपर्ने बताइन् । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जनप्रतिनिधि आएपछि जनताले विकासको अनुभूति गर्न पाएको बताए । ‘स्थानीय तहमा विकास निर्माणका धेरै काम भएका छन्’, प्रमुख चौधरीले भने– ‘त्यो जनताले अनुभूति गरेका छन् ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाको विकास निर्माणमा सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक भएको बताए । ‘सबै क्षेत्रको सहयोग र सहकार्यले मात्र जिल्लाको विकास सम्भव छ’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने– ‘त्यसको लागि यहाँहरुको सुझाव आवश्यक छ ।’ विगतको कमजोर पक्षलाई सुधार गर्दै लक्ष्य प्राप्तिको लागि समीक्षाले मार्ग निर्देशन गर्छ । समीक्षामा स्थानीय पालिका, संघ तथा प्रदेशका जिल्ला कार्यालय र संघसंस्थाको सहभागिता छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले आव.०७७÷०७८ को प्रगति विवरण, अनुकरणीय कार्य, समस्या र भावी कार्ययोजनामा केन्द्रित भएर प्रस्तुतीकरण गरेका थिए ।
पालिकाकाले गरेका प्रस्तुतीकरणमा कोरोना, जनशक्तिको अभावले बजेट खर्चमा समस्या भएको उल्लेख गरेका छन् । अधिकांश पालिकाहरुले गत आवमा ८० प्रतिशतदेखि माथि नै बजेट खर्च गरेको उल्लेख गरेका छन् । समीक्षाका दोस्रो दिन सोमवार जिल्लामा रहेका संघीय कार्यालय, प्रदेश कार्यालय र संघसंस्थाले आफ्नो प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।