तुलसीपुर पूर्वाधार प्राधिकरण : तीन बर्षमा ३० किमि मात्रै कालोपत्रे

खेमराज रिजाल
तुलसीपुर, १५ कार्तिक । विकास निर्माणलाई एकरुपता एवं छिटो–छरितो र सस्तोमा सम्पन्न गर्ने भन्दै गठन भएको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणले लक्ष्यबमोजम काम गर्न सकेन । प्रतिबर्ष एउटा वडामा कम्तीमा पनि ३ किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिइको भए पनि विभिन्न समस्या देखाउँदै प्राधिकरणले करिब तीन बर्षको अवधिमा जम्मा ३० किमि मात्र सडक कालोपत्रे गर्न सफल भएको हो ।

एक बर्षमै कम्तीमा ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएर तुलसीपुर उपमहानगरपालिकामा स्थापना भएको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणले विगत तीन बर्षमा ३० किमि सडक मात्र कालो बनाएको छ । यद्यपि निर्माण भएका सडकहरुमा गुणस्तरको एकरुपता समेत देखिँदैन । कहिँकतै निर्माण भएका सडकहरुमा नाला समेत निर्माण गरिएका छन् भने अधिकांश सडकहरुमा नाला निर्माण हुन सकेका छैनन् । स्थानीय उपभोक्ता तथा सम्बन्धित टोल विकास संस्थाले नालासहित सडक कालोपत्रे हुने आशा गरे पनि नाला भने निर्माण भएका छैनन् ।

प्राधिकरणले भने नाला सबै स्थानमा आवश्यक नहुने भन्दै आवश्यक स्थानमा मात्र निर्माण गर्ने बताउँदै आएको छ । तुलसीपुर उपमहानगरपालिकाअन्तर्गतका विशेषगरी सडक निर्माणलाई एकत्रित एवं व्यवस्थित गरी सस्तो मूल्यमा गुणस्तरमा समेत एकरुपता हुने गरी वि.सं. २०७६ सालमा प्राधिकरण गठन भएको हो । प्राधिकरण गठन भएसँगै तुलसीपुर उपमहानगरपालिकाले करिब ५ करोड रुपैयाँ बराबर रकम खर्च गरी स्रोत साधनसमेत व्यवस्थापन गरेको छ ।

प्राधिकरणकै स्वामित्वमा हाल एउटा ग्रेडर, २ वटा रोलर, एउटा स्काभेटर दुईवटा टिप्पर, दुईवटा हट मिक्सचर प्लान्ट, एउटा विटुमिन डिस्ट्रीव्युटर दुईवटा जेसिबीसमेत खरिद गरिसकेको छ । त्यसैगरी प्राधिकरणमा एकजना इन्जिनियर, तीनजना ओभरसियर, दुई जना सुपरभाइजर र यान्त्रिक साधन हेर्ने एकजना तथा सबै मेसिनमा दुई÷दुईजना चालकसमेत कार्यरत छन् । प्राधिकरणमार्फत भौतिक निर्माणका काम हुने भएपछि वडामा जाने नियमित बजेटमा पनि भारी कटौती गरिएको थियो ।

यति धेरै मेसिन औजार खरिद भए पनि विकास निर्माणले अपेक्षाअनुरुपको गति लिन नसकेको नगरबासीहरुको गुनासो रहेको छ । यी साधनहरु निरन्तर प्रयोगमा आउन समेत नपाएको बताइएको छ । यति धेरै स्रोत साधन भए पनि पछिल्लो समय फेरि कालोपत्रेको काम भने ठेक्का प्रक्रियाबाटै सुरु हुन थालेको छ । अपेक्षाअनुरुप सडक निर्माणको काम नहुँदा वडाका जनप्रतिनिधिहरुले समेत असन्तुष्टि व्यक्त गरेका छन् । यति धेरै स्रोत साधन भए पनि प्राधिककरणले लक्ष्यअनुरुप सडक स्तरोन्नतिको उपलब्धि हासिल गर्न नसकेकोमा नगरबासीहरुले गुनासो गरेका छन् ।

कतिपय नागरिकहरुले प्राधिकरण मार्फत यो बर्ष सडक स्तरोन्नतिको काम सम्पन्न हुनेमा आशंका समेत व्यक्त गरेका छन् । किनकि प्राधिकरणका अधिकांश योजना अधुरा रहेका छन् भने निर्माण सम्पन्न भएका सडकहरुमा पनि नालाको व्यवस्थापन हुन सकेको छैन ।‘हामीले यो अवधिमा कम्तीमा ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएका थियौँ तर विविध समस्याका कारण ३० किमि सडक मात्र कालोपत्रे गर्न सक्यौं’, तुलसीपुर पूर्वाधार प्राधिकरणका प्रमुख सिइओ पवनकुमार योगीले भने ।

सुरु–सुरुमा योजना छनोटमै अलमल, त्यसपछि हालसम्म जारी रहेको विश्वव्याधि कोरोना भाइरसको संक्रमण र मौसमी प्रतिकुलताका कारण काममा केही ढिलाइ भएको इन्जिनियर योगीले बताए । ‘लक्ष्य अनुरुपको बाँकी ३० किमि सडक कालोपत्रे पनि ठेक्का भैसकेको छ, सम्भवतः चैत मसान्तभित्रै यो काम सम्पन्न हुनेछ’, इन्जिनियर योगीले भने । बाँकी स्थानमा ठेकेदार मार्फत काम सुरु भैसकेको पनि उनले बताएका छन् । सडक कालोपत्रे मात्र नभएर विभिन्न एक सयभन्दा बढी स्थानमा सडकका नयाँ ट्रयाक खोल्ने काम पनि प्राधिकरण मार्फत नै भएको उनको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिकाले प्राधिकरण गठन भएसँगै पहिलो बर्ष २२ करोड बजेट प्राधिकरणलाई विनियोजन गरेको थियो । तर विविध ढिलासुस्तीका कारण १४ करोडभन्दा बढी खर्च हुन सकेन । दोस्रो बर्ष विनियोजन गरिएको १० करोड रुपैयाँमा ३ करोड रुपैयाँ मात्र मुस्किलले खर्च भएको छ । बाँकी रकमले यो बर्ष काम हुँदैछ । तर यो बर्ष नयाँ योजना र नयाँ बजेट अझैसम्म पनि सार्वजनिक भएको छैन । प्रदेश सरकारले बजेट नपठाइसकेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले यो बर्षका लागि बजेट तथा योजनाहरु आफ्नो वेभसाइट र रातो किताबमार्फत सार्वजनिक गरिसकेको छैन ।

यो बर्ष नया योजनामा काम नहुने

यसैबीच यो बर्ष प्राधिकरणमार्फत नयाँ स्थानमा सडक कालोपत्रेको काम हुने सम्भावना न्यून रहेको छ । किनकि अघिल्लै बर्षको बजेट अनुसारका योजनाको काम सम्पन्न नभएका कारण यो बर्ष ती योजनामा काम हुँदैछन् । यद्यपि प्राधिकरणले भने थप काम पनि हुनसक्ने विश्वास व्यक्त गरेको छ ।

‘हामी प्रतिवडा ३ किमिबाट ५ किमिसम्म पुग्नेमा विश्वस्त छौँ, सम्भवत अर्को आर्थिक बर्षसम्म हरेक वडामा कम्तीमा ५ किमि सडक कालोपत्रे गर्ने काम हुनेछ’, इन्जिनियर योगीले भने– ‘तर थप योजनाका शीर्षकमा नयाँ बजेट भने अझै आइसकेको छैन । उपमहानगरपालिका त्यसै पनि ऋणमा चलिरहेकाले थप योजनाहरु सञ्चालन हुनेमा वडाका जनप्रतिनिधिहरु पनि विश्वस्त छैनन् ।

प्राधिकरणले हालसम्म तुलसीपुर उपमहानगरपालिकाको १ नं. वडामा आधा काम मात्रै सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका–२, ३ र ४ मा सबै काम सम्पन्न भइसकेको बताइएको छ । त्यसैगरी ५, ६, ७, ८ र ९ वडामा पनि चार÷चार स्थानमा सडक स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । वडा नं. १७ मा एउटा योजनाको काम सम्पन्न हुन बाँकी रहेको तथा १८ वडामा २ वटा योजना सम्पन्न भएका छन् । अन्य बाँकी वडाहरुमा कालोपत्रेको ठेक्का भइसकेको र काम सम्पन्न हुने प्रक्रियामा छन् ।