विनोद पोख्रेल
२०७७ साउन २९ गते
कैले काहीँ नेपाली राजनीतिले दिक्क पनि पार्छ । हुनत उत्साह दिन छाडेको धेरै भयो । त्यसमा पनि आफू निरपेक्ष भएपछि केही मतलब हुँदैन । यति हुँदाहुँदै पनि अली बढी भएपछि दिक्क लााग्ने गर्छ । आजभोलि सत्तासीन पार्टीको गुटबन्दी हो कि भागबण्डा होकि आलोपालो हो वा अन्य केही कारण हो त्यसलाई व्याख्या आफ्नै तरिकाले आफ्नै वौद्धिकस्तर र अनुभव अनुसार गरिएला, त्यसले बढी चर्चा पाएको छ । यसले राज्य सञ्चालनमा समेत असर पा¥यो । संसद नै समयभन्दा चाँडो सकियो ।
धेरै विधेयकहरुबारे छलफल र निर्णय हुन सकेन । केही काम अध्यादेशबाट गर्ने गराउने गलत खेल हुन खोजे तर अति छोटो समयमै फेरि तिनलाई सच्याउनुप¥यो । खेल अझै जारी छ । छलफल, संवाद, संवादहीनता, अप्रत्यक्ष संवाद सबै चलेकै छ । यता कोरोनाको डरले केही महिना पन्छाउन पाएको कांग्रेसको पनि हालत उस्तै छ । पाँच बजेसम्म गर्न नगरेका कामहरु जसमध्ये धेरैजसो तीन महिना या ६ महिनाभित्र गरिसक्नुपर्ने विधानमा उल्लेख छ । आजभोलि अधिवेशनको तिथि मिति तोकेपछि भइरहेका छन् । धेरै व्यक्तिहरुलाई केन्द्रीयस्तरको जिम्मेवारी दिएकोजस्तो पारिएको छ ।
यो सबै अधिवेशन आफ्नो प्रभावमा पार्ने प्रयासवाहेक केही होइन भन्ने सबैलाई थाहा छ तर पनि सामान्य वार्ड पदाधिकारीहरुदेखि धेरै सक्रिय सदस्यहरुसमेत अधिवेशन घोषणा भएपछि सक्रिय भएको देखेको छु । पाँच वर्षसम्म केही नगर्ने वा नगरेकाहरु जनप्रतिनिधि निर्वाचनमा र पार्टीको आन्तरिक निर्वाचनमा भने सक्रिय बन्छन् । त्यसकारण यो स्थितिले मलाई केही विशेष प्रभाव पार्ने गरेको त छैन तर केही व्यक्तिको महत्वाकांक्षाहरु बाहिर आउँदा रमाइलो लाग्छ । यहाँ कामको लागि सक्रियता छैन ।
पार्टीको सक्रिय सदस्य वितरण र नवीकरणसमेतमा आजभोलि मात्रै सक्रियता थपिएको छ । यस्तै सक्रियता संगठन निर्माणमा सधै रहने हो भने संगठनहरु धेरै बलिया हुन्थे ।त्यसैले मलाई राजनीति पनि सामयिक खेती अथवा साइड जवजस्तो मात्रै भएको भान हुन्छ । अर्को पक्ष जनतासँग यस्तै निर्वाचनको बेला मात्रै पुग्ने हो अथवा कोही म¥यो भने पुग्ने हो तर नेताहरुसँग सकेसम्म सधै पुग्ने हो । संगठन यदि नेताको भरमा चलेकोहोइन भने यो उल्टो प्रक्रिया हो । यसले राजनीतिमा स्वाभिमान बचाउन खोज्नेहरु पाखा लाग्छन् । नेताको वरिपरि घुम्नेहरु अगाडि आउँछन् । म यस बारेमा अरुभन्दा केही बढी उदार छुजस्तो लाग्छ ।
नेताहरुको आशीर्वादकै भरमा आन्तरिक निर्वाचनमा नेतृत्वमा स्थापित भएकासँग मेरो कुनै पूर्वाग्रह छैन बरु उनीहरुले नेतृत्वसँग समेत सम्पर्क बनाउन सकेकोमा उनीहरुलाई केही सफल नै मानिएला तर सानो या ठूलो कुनै पनि पदमा बस्नु भनेको जिम्मेवारी निर्वाह गर्न बस्नु भनेको हो । संगठनलाई बलियो र सफल बनाउने काम जसले गर्दा पनि हुन्छ । असहमति उहाँनेर आउँछ । सानो होस् या ठूलो नेतृत्व भनेको अलग विषय हो । यो फाँटवाला होइन ।
फाँटवालाले हाकिमले अह्राएको गर्ने हो तर नेतृत्वले संगठनलाई सक्षम बनाउन आवश्यक गतिविधि पत्ता लगाएर त्यो गर्नुपर्छ । यहाँ त अधिवेशनको लागि अझ कसैलाई हराउन भयौ या पन्छाउनकै लागि मात्रै अधिवेशनमा सक्रिय हुने वा पारिने अनि अभीष्ट पूरा भए पनि नभए पनि संगठनका गतिविधिहरुमा चाख नै नराख्ने समय नै नदिनेहरु बढी छन्जस्तो लाग्छ । यहाँ संगठनको क्षमता विकास भनेको प्रतिस्पर्धी संगठनको क्षमता वा कमजोरीमा भर पर्ने गर्छ ।
जनता मिच्छेर उता मत दिनेहरु पनि एकदिन यता मत दिने हुन्छन् भनेर समय कुर्ने राजनीतिमा संगठन बलियो बनाउन केही गर्नु पनि पर्दैन । समय दिनु पनि पर्दैन । राजनीति केही दिनको लागि रमाइलो गर्ने विषय मात्रै बनेको छ ।
२०७७ साउन ३० गते
आज नीद अलि चाँडै खुल्यो । कारण थाहा छैन । मलाई लाग्छ यस्ता कुरामा केन्द्रित हुन पनि हुँदैन । मैले सजिलो नै मानेको हु भने अलिकति ढिलो वा चाँडोको कारण वास्ता गर्नै हुँदैन । बरु चाँडो नीद खुलेपछि मनमा कुरा खेल्ने भन्छन् सायद यस्तै केही भयो । धेरै कुराबारे तर्कहरु आए । आज बढी आफ्नो अतितबारे नै धेरै कुरा आए । यस्ता कुराको केही मतलब त हुँदैन ।
कहिलेकाहीँ सोच्छु जति अतीतको बारेमा सोचिन्छ, त्यति भविष्यको बारेमा समयमा सोच्ने हो भने धेरै कुरामा सफल हुन सकिन्थ्यो । तर सबैले यही वा यस्तै तरिकाले सोच्छन् भन्ने मेरो दावी भने पटक्कै छैन । कतिले भविष्यको बारेमा पनि त सोच्छन् होला । त्यसैले उनीहरु सफल भएका देखिन्छन् । मेरो यो ठूलो कमजोरीमध्ये एउटा हो कि मैले भविष्यबारे सोच्नुपर्ने बेलामा केही सोचिनँ ।
त्यसैले आफूलाई सफल भन्ने दावी गर्ने मौका कहिल्यै पाइनँ । यति हुँदा पनि केही पछुतो भने छैन । सफलताको न त परिभाषा छ न त सीमा नै । म आफैले पनि निरपेक्ष भएर अरुको मूल्यांकन गर्दा यो सफल भएकै हो भनेर दावी गर्न सक्दैन । जसलाई मैले केही सफलजस्तो देख्छु, उसँग कुरा गर्दा उसले पनि सन्तुष्टि वा सफलता पाएको स्वीकार गर्दैन । तर पनि सायद उसको जीवन मेरोभन्दा सजिलो र सन्तुष्ट छ । यसैलई आधार बनाएर मूल्यांकन गर्ने हो भने त मेरो जीवन पनि कति मानिसहरुको जीवनभन्दा सहज नै छजस्तो लाग्छ ।
त्यसकारण चित्त बुझाएर बस्न सकिन्छ । पछुतो मान्नुपर्ने केही कारण देख्दैन । हुन त आफ्ना कमजोरीहरु लुकाउन विभिन्न तर्कहरु गर्नुपर्छ, सायद । कसले पो यो मेरो कमजोरी हो भनेर स्वीकार गर्न चाहन्छ ? म कुन अपवादमा पर्ने वस्तु वा व्यक्ति हुँ र ? आफूले मनले स्वीकारे पनि उचित अनुचित तर्कहरु त मसँग पनि हुन्छन् । तर पनि भविष्यको बारे नसोचेको पक्कै हो । आजभोलि भविष्यको बारे सोच्दा डर नै बढी लाग्छ । अब गर्न सकिने केही छैन । दुःख पाइने हो कि जस्ता कुरा आउने न हुन् मनमा ।
दुःख शारीरिक, भौतिक, मानसिक, आर्थिक, जुन कारणले पनि आउनसक्छ । त्यसैले सोच्दै नसोच्यो आनन्द । हिजो पनि चिन्ता भएन । आज पनि चिन्ता गर्नुको केही मतलब छैन । मनमा कुरा खेलेको कारणले आज यी कुराहरु भित्रैबाट निस्केका हुन् । नत्र यिनी पटक्कै आउने थिएनन् । कति तर्कको अथवा प्रश्नको जवाफ हुँदैन मसँग । अरुसँग हुन्छ कि हुँदैन मलाई थाहा छैन । अब बितेको जीवनबारे पछुताएर मैले के गर्न सक्छु र ? यस्तो गरेको भए अथवा यस्तो भएको भए भनेर के मतलब ? जीवनजस्तो बित्यो, बित्यो । त
र पनि मनमा कुरा खेल्दा यस्तै यस्तै कुरा खेल्छन् । अरुको अनुभव कस्तो छ मलाई थाहा छैन । यस्तो कसैको प्रभावले भएको पनि होइन । यो मेरो भोगाई हो । मैले राम्रा कुरामात्रै मनमा आऊन् भन्ने चाहन्छु । तर मेरो चाहनाले मात्रै यस्तो कुरा नपुग्ने रैछ । अर्को कुरा धेरै कुराहरु के आए भनेर सम्झँदा पनि नसकिने हुन्छ । उतिखेरै बिर्सी पनि हाल्छु । कति कुरा सम्झे पनि न त तिनको केही प्रसंग मिल्छ नत महत्वपूर्ण नै लाग्छ । मैले यस्तो परिवेशलाई समय कटाउने एउटा उपायको रुपमा लिन्छु र चित्त बुझाउँछु ।
सायद यस्तै यस्तैबाट बच्न नियमित योग अथवा पाठपूजा आदि गर्ने चलन चलेको हो कि ? यो पनि मेरो अन्दाजमात्र हो । तर यदि हो भने पनि राम्रै हो । मैले त्यही पनि त केही गर्दैन वा गर्न सक्दैन । कमजोरी मेरै त हो । सायद ममा अरु भन्दा धेरै कमजोरीहरु छन् । तिनै कमजोरीहरुले प्रसंगवश देखाउने प्रभावहरु हुन् यस्तो भोगाईहरु । यति कुरा त मैले स्वीकार गर्नैपर्छ । न त मैले आफ्ना कमजोरीलाई ढाक्न सक्छु न त जित्न नै सक्छु ।