संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ,११ कार्तिक । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले शुक्रबार रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको हो ।

प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस गरिएको हो । संसद्को चालु अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा एमालेले अधिवेशन अवधिभर अवरोध गरेको थियो ।

एमालेको अवरोधबीच संघीय संसद्को चालु अधिवेशनले बजेट पारित गरेको थियो । बजेट पारित गर्नुका अलावा संसद्को यो अधिवेशनले अन्य काम भने गर्न सकेन । एमालेले अध्यादेश ल्याएर पार्टी विभाजनको आरोप लगाउँदै संसद्मा अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले अर्को बैठक कात्तिक २९ गतेका लागि तय गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक भने अनिश्चित थियो ।