राष्ट्रियता सवै पत्रकारको मिशन : प्रवक्ता महरा

  •   
  •  

प्रेस सेन्टरको चौथो अधिवेशन

दाङ, ९ कार्तिक । नेकपा माओवादीका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्र र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै पत्रकारहरुको एउटै मिशन हुनुपर्ने बताएका छन् । पार्टीलाई पत्रकार चाहिने कि पत्रकारलाई पार्टी चाहिने भन्ने फरक बहस चलिरहेका बेला प्रवक्ता महराले पत्रकार पार्टीभन्दा माथि उठेर कलम चलाउन सुझाव दिए ।

‘जब मुलुकमा संकट आउँछ, राष्ट्रियता र सार्वभौमसत्ता नै अप्ठेरोमा पर्छ, त्यो बेला सबै विचारका पत्रकारहरुको एउटै मिशन राष्ट्रियता जोगाउने सन्दर्भमा हुनुपर्दछ’, प्रेस सेन्टर दाङको चौथो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका नेता महराले भने । सोही कार्यक्रममा सम्वोधन गर्दै नेता महराले मुलुकमा संविधान ट्रयाक बाहिर जान थालेकाले ५ दलीय गठबन्धनको जन्म भएको बताउँदै मुलुकलाई सही बाटोमा डो¥याउनु पत्रकारिताको पनि धर्म हुने बताए । ‘यो गठबन्धनको मुलुकका संविधान विरोधी शक्ति र केही विदेशी शक्तिहरुले पनि विरोध गरेका छन्, किनकि उनीहरु मुलुकमा सधै अस्थिरता, अराजकता र निरंकुशता चाहन्छन्’, नेता महराले भने ।

विश्व राजनीतिसँगै नेपालको राजनीति पनि कता जाने भन्ने सर्वत्र चर्चा भइरहेको अवस्थामा अब मुलुकलाई स्थायी समृद्धि दिन र जनचाहनाअनुरुप अघि बढाउनका लागि बैज्ञानिक समाजवादको क्याम्पेनिङ गर्नुपर्ने महराको आग्रह थियो । यसका लागि नेकपा माओवादी केन्द्रले महाधिवेशनको तयारी गरिरहेको उनले बताए । महाधिवेशनको माहोलमा पार्टी होमिइसकेको बताउँदै वडा तहदेखि पालिका, क्षेत्र, प्रदेश र केन्द्रीय नेतृत्वका लागि पार्टी गम्भीर रहेको पनि नेता महराको अभिव्यक्ति थियो । नेता महराले उनीहरुले देश र जनताको समृद्धि नचाहने भन्दै उनीहरुबाट सचेत हुनुपर्ने समेत बताए ।

देशलाई असंवैधानिक गतिविधिबाट जोगाउनका लागि गठबन्धन बन्दा संविधानविरोधी र विदेशी केही शक्तिहरुको लागि टाउको दुखाइको विषय बनेको उनको भनाइ थियो । उनले देशमा अस्थिरता चाहने शक्तिहरुका कारण अहिले पनि खतरा रहेको भन्दै उनीहरुबाट सचेत भएर अघि बढ्नका लागि आम जनतालाई प्रेरित गर्न सञ्चारजगतलाई आह्वान पनि गरे । जनआन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागतसँगै देशलाई असंवैधानिक गतिविधिबाट बचाउन बनेको पाँच दलीय गठबन्धन अहिले राजनीतिक केन्द्रमा रहेको उनको भनाइ थियो ।

उनले देश र संविधानको रक्षासँगै जनताको समृद्धिका लागि पत्रकारहरुलाई कमल चलाउनसमेत आग्रह गरेका छन् । विदेशमा देशको राष्ट्रियता संकटमा पर्दा सञ्चार माध्यमहरु एकजुट भएर अघि बढ्ने गरेको अभ्यास रहेको भन्दै पूर्वसभामुखसमेत रहेका महराले हाम्रो देशको राष्ट्रियताको लागि सञ्चार माध्यमहरु एकजुट हुनुपर्ने बताए । पूर्वसभामुख महराले पत्रकारहरुलाई सर्वहारा वर्गप्रति निष्ठावान, श्रमिक जनताप्रति उत्तरदायी भएर समाजवाद उन्मुख पत्रकारितामा लाग्न आग्रह गरेका थिए । त्यसका लागि पत्रकारको मिशन देश र जनताको समृद्धिका लागि हुनुपर्ने बताए । प्रेस सेन्टरका जिल्ला अध्यक्ष प्रकश चौधरीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले जनताका अधिकार स्थापित हुने गरी जनपक्षीय रुपमा कलम चलाउन आग्रह गरेका थिए ।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य दामा शर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्मा, माओवादी केन्द्र दाङका संयोजक सुवास पुन, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले पत्रकारिताले राष्ट्रलाई सही मार्गमा डो¥याउन प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।

त्यसैगरी कार्यक्रममा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, प्रेस सेन्टर नेपालका महाधिवेशन आयोजक समितिका सदस्य अजयदीप शर्मा, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश संयोजक मानसिंह बिश्वकर्मा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा सम्मानित व्यक्ति मधुसूदन वैद्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष प्रताप रेग्मी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, नागरिक समाज दाङका संयोजक केबी मसाल, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सबिन प्रियासन, नेपाल उद्योग व्यापार संगठनका प्रदेश उपाध्यक्ष नारदमणि पोख्रेल, प्रगतिशील पत्रकार संघका महेश रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जनपक्षीय पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिकाको खेलेको भन्दै पत्रकारहरु नरबहादुर अधिकारी, शोभाकर अधिकारी, नरेन्द्र केसी, हिरामणि दुःखी, केएल पीडित, मधुसूदन बैद्य, पुरण शर्मा, बिष्णु अधिकारी, अजयदीप शर्मा, माधव खनाललाई सम्मान गरिएको थियोे । प्रेस सेन्टर दाङका उपाध्यक्ष दिवाकर पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव पाण्डव शर्माले गरेका थिए ।

अध्यक्षमा शर्मा
यसैविच प्रेस सेन्टर नेपाल दाङ शाखाको चौथो जिल्ला सम्मेलनले पाण्डप शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षः राकेश बस्नेत, महिला उपाध्यक्ष अनिता पोखरेल, सचिवमा जनक नेपाली, कोषाध्यक्ष जीवन नेपाली, सहसचिव दिपक बोहरा, समावेशी सहसचिव राजेश चौधरी रहेका छन् ।

सचिवालय सदस्यमा गिरिराज नेपाली, कार्यसमिति सदस्यहरु आभाष बुढाथोकी, सुमन केसी, बिकास डागी, भागबत भट्टराई, उदिराम चौधरी, सन्तोष डाँगी, शान्तराज बुढा,हेमराज नेपाली ‘परिवर्तन’, उमेश बञ्जाडे र कमल कुँवर रहेका छन् ।