‘स्मार्टसिटीमा सडक बत्ती छैन’

  •   
  •  

बालाराम खड्का

तुलसीपुर, ९ कार्तिक । अन्य बजारहरु रातमा झिलिमिली हुँदा तुलसीपुरको स्मार्टसिटी भने अन्धकार हुन्छ । तुलसीपुरको बीरेन्द्रचोकमा जडान गरिएको एलसीडी चलेपछि बीरेन्द्र चोक भने झिलिमिली देखिन्छ तर अन्य मुख्य सडक र सहायक सडकहरुमा भने सडक बत्ती नहुँदा रातमा अन्धकार हुने गरेको छ ।

तुलसीपुर बजारका अधिकांश क्षेत्रमा रहेका सडक बत्तीहरु बिग्रिएको स्थानीयहरु बताउँछन् । त्यस्तै केही समय पहिले तुलसीपुरका मुख्य सडकमा जोडिएको सोलार बत्तीहरु पनि बिग्रिएका छन् । रातमा उज्यालो दिने बत्तीहरु अहिले जुनकिरी जस्तो बल्न थालेका छन् । बजारको सुरक्षाका लागि जडान गरिएका सडक बत्तीहरु समयमै मर्मत नहुँदा बजार अन्धकार हुने गरेको स्थानीयहरु बताउँछन् । सोलार बत्तीहरुको बल्वहरु बिग्रेका कारण जुनकिरीजस्तै उज्यालो दिने गरेको नगरवासीहरु बताउँछन् । समयमै सोलार बत्तीहरु मर्मत नहुँदा लाखौँको लगानी खेर गएको छ ।

‘सोलार बत्तीहरुको रिपियर गर्नुपर्छ त्यो हुन सकेको छैन, कुनै बल्छन् कुनै बल्दैनन्’, उपमहानगरपालिका एक अधिकारीले भने । तुलसीपुर बजारका केही सडकहरुमा भने स्थानीयहरुले पोलमा बत्ती हालेर आफै रातमा बाल्ने गरे पनि धेरैजसो स्थानमा भने अन्धकार हुने गरेको स्थानीय रमेश केसीले बताए । ‘तुलसीपुर बजार सम्साँझै सुत्ने गरेको छ, घरको वरपर केही उज्यालो हुन्छ सडक भने सुनसान, अन्धकार हुन्छ’, उनले भने ।

मुख्य लाइनमा नै सडक बत्ती नभएपछि अन्य गल्लीमा भने बत्ती बल्ने सम्भावना नै छैन स्थानीयहरुको गुनासो छ । ‘सडक बत्तीहरु धेरै जसो स्थानमा छैन्, सबेरै बन्द हुने बजार बत्ती नहुँदा सम्साँझै सुत्ने गरेको छ’, नगरवासी कृष्ण खड्काले भने । उनले सम्बन्धित टोल र उपमहानगरपालिकाले समयमै सडक बत्तीहरु मर्मत गर्नुपर्ने बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि सडक बत्तीहरु मर्मत नहुँदा तुलसीपुर बजार अन्धकार हुने गरेको अधिकारीहरु बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का बडाअध्यक्ष बीरेन्द्र शाहले बजारमा सडक बत्तीहरु सबै ठाउँमा नहुँदा बजार अन्धकार हुने गरेको बताए । उनले सम्बन्धित टोलले पनि यसमा चासो लिनुपर्ने बताए । ‘सम्बन्धित टोलले पनि यसको जिम्मेवारी लिनुपर्छ, कहाँ बत्ती बल्छ कहाँ बल्दैन भन्ने कुरा जानकारी दिनुपर्छ’, उनले भने । शाहले सानो–तिनो तारहरु चुडिएको र बिग्रेको स्थानमा टोलले आफैले मर्मत गर्न सक्ने बताए । सडक बत्तीहरु जडानका लागि आफूहरुले पहल थाल्ने उनले बताए । ‘त्यही विषयमा आज छलफल चलेको छ, विभिन्न टोलबाट निवेदन पनि आएको छ, तिहार अगाडि बत्तीहरु जडान गर्ने तयारी गरेको उनले बताए ।

सडक बत्तीहरु नहुँदा चोरी डकैती र असुरक्षा पनि बढ्नसक्ने भन्दै यसलाई तत्काल मर्मत गर्नुपर्ने नागरिकको भनाइ छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका एक अधिकारीले भने दोघरे साइटमा टोलले आफै लगानी लगाएर सडक बत्ती जडान गरेको बताए । उनले उपमहानगरपालिकाका बत्ती जडान गर्ने व्यक्ति बिरामी भएका कारण जडान हुन नसकेको बताए । त्यस्तै तुलसीपुर–घोराही सडकका बत्ती जडानको काम केही समय पहिले सुरु गरे पनि त्यसले पूर्णता भने पाउन सकेको छैन ।

बजारको शौन्दर्यता तथा सुरक्षाका लागि जडान गरिएको सडक बत्तीहरु समयमै मर्मत नहुन दुर्भाग्य भएको नगरवासीहरु बताउँछन् । ‘यसले स्मार्टसिटीलाई गिज्याएको छ, नाम मात्रको स्मार्टसिटी के काम ?’, एकजना नगरवासीले भने । उनले केही कुरा उठायो भने विरोध गरेको भने ठान्ने भन्दै सामान्य कामहरु पनि हुन नसकेको बताए ।

त्यस्तै बजार क्षेत्रमा लगाइएका सिसी क्यामेराहरु पनि बिग्रिँदै गएको र समयमै मर्मत सम्भार नहुँदा कुनै अप्रिय घटना घट्यो भने त्यसको अनुसन्धानमा समेत कठिनाई हुने स्थानीयहरु बताउँछन् । चट्याङले सिसी क्यामेराहरुमा क्षति पु¥याएकाले धेरै जसो क्यामेराहरु बिग्रिएको तुलसीपुर उपमहानगरपालिका आइटी शाखाका इन्जिनियर निपेन्द्र झाँले जानकारी दिए ।

‘बजारमा रहेका केही ठाउँका रहेको क्यामेराहरु बिग्रिएका छन्, केहिले काम गरिरहेका छन्, बनाउनका लागि पत्राचार गरेका छौँ, छिट्टै मर्मत हुन्छन्’, उनले भने । उनले सामान मगाएको र केही दिनभित्र बिग्रिएका क्यामेराहरु मर्मत हुने बताए । त्यस्तै कमसल खाले क्यामेराहरु जडान गरेकाले पनि विभिन्न समयमा समस्या आउने गरेको बताएको छ ।