दाङ,७ कार्तिक । दाङमा रहेको मानव कल्याण समाज (सेवा घर)ले करिब एक वर्षको अवधिमा एक सय बढी सडक जीवन बिताइरहेका मानिसहरूको उद्धार गरेको छ । गत वर्ष कार्तिक २४ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर सञ्चालनमा आएको सेवा घरले दाङ, रोल्पा, बाँके र गुल्मीबाट एक सय बढी सडकमा जीवन बिताइरहेका मानिसहरूको उद्धार गरेको हो ।
मानवताको समाज निर्माण गर्ने उद्देश्यले सडकबाट उद्धार गरिएका अधिकांशलाई संस्थाले परिवारमा पुनःमिलन गरिएको मानव कल्याण समाज (सेवा घरका) संस्थापक केन्द्रीय सचिव विजय पोख्रेलले जानकारी दिएका छन् । उनकाअनुसार जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्लाहरूबाट उद्धार गरिएकामध्ये ३० जनालाई उद्धारपछि उपचार तथा काउन्सिलिङ गरेर घरमै पुनःमिलन गरिएको बताए । त्यस्तै अन्य ३० जनालाई सडकबाटै स्थानीय जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा परिवारको जिम्मा लगाइएको संस्थापक सचिव पोख्रेलले बताए ।
‘सडक मानवमुक्त बनाउने उद्देश्यले संस्थाले दाङमा हालसम्म एक सय बढी मानिसहरूको उद्धार गरेको छ’, केन्द्रीय सचिव पोख्रेलले भने, ‘त्यस क्रममा उद्धार गरिएका कतिपय मानिसहरूलाई राम्रो बनाएर घरमा पुनःमिलन गरेका छौँ ।’ उनकाअनुसार हाल सेवा घरमा ४० जना असहाय, अशक्त तथा अपाङ्गगता भएका नागरिक रहेका छन् । संस्थाले देशका विभिन्न ठाउँहरूमा सेवा घरको माध्यमबाट सडक जीवन बिताइरहेका नागरिकको उद्धार गरेर सेवाको काम गर्दै आएको छ ।
संस्थाले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकासँगै बाँके, रोल्पा र गुल्मी जिल्लामा समेत सडक जीवन बिताइरहेका मानवहरूको उद्धार गर्ने काम गर्दै आएको छ । घोराही उपमहानगरपालिका–१५ मा सञ्चालन गरिएको सेवा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि घोराही उपमहानगरपालिका–१० नारायणपुरमा जग्गा व्यवस्थापनको समेत काम भएको छ । नागरिकको सहयोगबाट सञ्चालन हुँदै आएको सेवाघरलाई घोराही उपमहानगरपालिकाले समेत सहयोग गरेको संस्थाले जनाएको छ ।
अभाव हुन नदिन सेवा घरमा रक्तदान
दाङमा ‘ब्लड’को अभाव हुन नदिनका लागि शनिवार घोराही उपमहानगरपालिका–१५ स्थित रहेको सेवाघरमा रक्तदान गरिएको छ । मानव कल्याण समाज सेवा घरको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको वृहत रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए ।
मानव कल्याण समाजका केन्द्रीय सचिव विजय पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले राज्यले गर्नुपर्ने काम सेवा घरका माध्यमबाट मानव कल्याण समाजले गरेर उदाहरणीय प्रस्तुत गरेको बताए ।
घरपरिवारले सम्हाल्न नसकेर सडकमा आएका मानिसहरूलाई सेवा दिएर घोराही उपमहानगरपालिकालाई सडक मानव मुक्त नगर बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘घोराही उपमहानगरपालिकालाई सडक मानवमुक्त सहर बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेलेको छ’, नगर प्रमुख चौधरीले भने, ‘यो पवित्र कार्यमा उपमहानगरपालिकाले समेत सहयोग गर्नेछ ।’
नगर प्रमुख चौधरीले सेवाघरलाई उपचारसहितको सेवा बनाउने गरी संस्थालाई लाग्न आग्रह गर्दै त्यसका लागि घोराही उपमहानगरपालिकाले सहयोग गर्ने बताए । ‘सेवा घरलाई बेसहारा सडक मानवलाई राख्ने मात्र होइन, उपचार गर्ने व्यवस्था सहितको बनाउनका लागि तपाईंहरू लाग्नुहोस्’, नगर प्रमुख चौधरीले भने, ‘त्यसका लागि आवश्यक औषधीलगायतको सेवा उपमहानगरपालिका उपलब्ध गराउँछ ।’ उनले सेवा घरले प्रचार मात्र नभएर काम समेत गरेको बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका ५ का अध्यक्ष विष्णुमणि दाहाल र घोराही उपमहानगरपालिका १४ अध्यक्ष शक्तिराम डाँगीलगायले सडक जीवन बिताइरहेका मानिसहरूलाई उद्धार गरेर संस्थाले मानवीय सेवाको काम गरेको बताए । उनीहरूले राम्रो काम गर्ने संस्थालाई आफ्नो तर्फबाट सहयोग गर्ने समेत बताएका थिए । मानव सेवाको कार्यमा संलग्न संस्थाले रक्तदान गरेर राम्रो काम गरेको बताएका थिए । कार्यक्रमको सहजीकरण सुस्मिता श्रेष्ठले गरेकी थिइन् ।