उत्तमकृष्ण मजगैयाँ
प्रायः कवि–गोष्ठीहरूमा आफ्नो उपस्थिति दिँदै कविता वाचन समेत गर्ने र कविताको अन्त्यमा ‘जय मान्छे’ भनेर मान्छेको महत्ता उद्घोष गर्ने वयोवृद्ध कवि गिरिराज पन्तका कवितामा पनि मान्छेकै विविध रूप र प्रवृत्तिमाथि टिप्पणी वा व्यङ्ग्य गरिएको पाइन्छ ।
विचारका दृष्टिले ‘म प्रगतिशील हुँ’ भन्न रुचाउने कवि पन्तजीका कविता केही नीति–नैतिकता, केही बढ्दो राजनीतिक असहिष्णुता र घट्दो सामाजिक–सांस्कृतिक सद्भाव एवम् केही राष्ट्र र राष्ट्रियतामाथि नै केन्द्रित रहेका क्वाँटी–वैविध्यजस्ता लाग्छन् । युवावयमै वाम–चिन्तक निर्मल लामा, मोहनविक्रम र नारायणप्रसाद शर्माहरूको सङ्गत र राजनीतिक शिक्षादीक्षाले उहाँको विचार र जीवनशैलीमा केही परिवर्तन आएको कुरा उहाँले बेला–बेलामा दिएका अभिव्यक्ति र कार्यशैलीले प्रष्ट्याउँथे ।
घर–परिवार र समाजमा उहाँद्वारा देखाइने उदारता, धार्मिक अन्धता र कट्टरताको विरोध तथा पूजाआजाजस्ता कुराप्रति त्यति विश्वास नहुनुले उहाँलाई केही प्रगतिशील देखाउँथे पनि । मरेपछिको काजक्रियाको व्यर्थता तथा धर्म–संस्कृति र संस्कारको कट्टर आलोचक भए पनि घर–परिवारको सन्तुष्टिका निम्ति सबै सम्पन्न गर्नैपर्ने बाध्यता रहँदा उहाँ केही खिन्न र असन्तुष्ट पनि देखिनुहुन्थ्यो ।
कहिलेकाहीँ आफ्नो परिवारसँग यस्ता विषयमा सामान्य विवाद हुने गरेको उहाँको निकटका सम्बन्धी र गाउँले–छिमेकीहरूले देख्ने, सुन्ने अवसर पाएकै हुन् । यस्ता कुराबाट उहाँले बेलाबखत समाजको टीकाटिप्पणी पनि सहनुपरेको थियो । कोरा सिद्धान्तवादी मात्र नभएर त्यसलाई व्यवहारमा पनि उतार्नुपर्छ भन्ने मान्यता राख्नुहुने गिरिराज पन्तले एउटी छोरीको नाम चिनिया भाषाजस्तै लाग्ने ‘याङ्सु’ र अर्को छोराको नाम ‘थमसङ’ राखेर पनि आफूलाई परम्पराविरोधी देखाउन खोज्नुभएको थियो ।
आफ्नो खानपान, बोली व्यवहार एवम् अन्य गतिविधिबाट पनि आफूलाई सधैँ फराकिलो सोचको प्रदर्शित गर्ने प्रयास गर्नुहुन्थ्यो । त्यति हुँदाहुँदै पनि उहाँमा प्रजातान्त्रिक संस्कार रहेको थियो । कुनै एउटा पार्टीको झन्डा नबोकेर असल व्यक्तिलाई नै चुनावमा जिताउनुपर्छ भन्ने उहाँको मान्यता व्यवहारमा पनि देखिएको थियो । उहाँ सधैँ ‘असल’कै पक्षपाती बन्नुभयो, कुनै पार्टीको ताबेदार बन्नुभएन ।
सानैमा बुवा–आमा नरहेपछि घरकी जेठी आमा (निःसन्तान एकल महिला) ले स्याहार सुसार गरेर आफूलाई एवम् आफूभन्दा केही वर्ष जेठी दिदीलाई हुर्काएको, एक्लो भएकाले सानैदेखि कसैको नियन्त्रण नसहने, स्वतन्त्र, केही हठी र जिद्दी स्वभावको भए पनि पारिवारिक संस्कार र सामाजिक–नैतिक बन्धनले आफूलाई किशोरावस्थामा पूरै छाडा र चौपट हुन नदिएको, हापुरका भुसाल परिवारकी किशोरी बालिका (पन्त) सँग विवाह भएपछि अझ अनुशासित र मर्यादित बनेको कुरा गफका क्रममा पटक पटक हामीसँग भन्नुभएको थियो ।
केही रचनात्मक चिन्तन गर्ने, सामाजिक गतिविधिमा सक्रिय भाग लिने, अरूलाई आवश्यक सहयोग गर्ने जस्ता गुण हुनुका साथै केही न केही नौलो काम गरिरहने गिरिराजजीको स्वभाव रहेको थियो । आरम्भमा आफूले काभ्रे सिरुवारीमा थालनी गरेको कपडा र किरानाको व्यापारबाट सन्तुष्ट नभएपछि कसैले सोच्दै नसोचेको एकदमै नौलो योजना लिएर घोराही बजारको बीच भागमा सिनेमा हल खोल्ने निर्णय गरी कामको शुभारम्भ पनि गर्नुभयो ।
आरम्भमा भवनको भित्ता ढल्नु, सोचेको भन्दा बढी धन व्यय हुनु र महत्त्वपूर्ण जमिनसमेत बेच्नुपर्ने केही अनपेक्षित बाधाहरू आए पनि अन्ततः सम्पूर्ण निर्माण कार्य पूरा गरी ‘राप्ती सिनेमा हल’ चालु गरेर राप्ती अञ्चलमै पहिलो सिनेमा उद्योग चलाउने महत्त्वपूर्ण व्यवसायीका रूपमा आफू स्थापित हुन सफल पनि हुनुभयो । गज्जबको दूरदर्शिता, कठोर श्रम गर्न सक्ने, जुझारु र दृढप्रतिज्ञ गिरिराज पन्तले एउटा नयाँ इतिहास नै रच्नुभयो ।
यो व्यवसाय बढी नाफामूलक लागेर नै यसपछि मात्रै अन्य व्यक्ति–व्यवसायीहरूले यस क्षेत्रमा लगानी गर्ने आँट देखाएको पाइन्छ । व्यवसायमा आफ्ना कर्मचारीहरूमाथि नै बढी निर्भर रहनुपर्ने बाध्यता रहेबाट उनीहरूकै केही अवाञ्छित क्रियाकलापले गर्दा भने यो उद्योग पछि धराशायी हुन पुग्यो । सिनेमा हलमा अख्तियारको ताला लाग्यो र लामो कानुनी लडाइँपश्चात् ठूलै रकम जरिवाना स्वरूप दिनुप¥यो । अरूमाथि आँखा चिम्म गरेर गरिएको अति विश्वासको अनपेक्षित परिणाम र त्यसको दुष्प्रभाव सम्पूर्ण परिवारजनले भोग्नुपर्ने नियति देखाप¥यो ।
व्यवसाय स्थापनाका लागि चालु पुँजी नभएकैले साहीपुर (मूलथलो) को सम्पूर्ण जमिन र घोराही नगरपालिकास्थित कर्जाहीको केही महत्त्वपूर्ण र उब्जाऊ जमिन बिक्री भइसकेको अवस्थामा पहिलेको भन्दा आर्थिक स्थिति केही विषम देखियो तर असहज र असामान्य भएको भने होइन । हिङ नभए पनि हिङ बाँधेको ‘च्यादर’ अझै बाँकी नै रहेको छ, जसबाट चार छोराहरूसहित सबैको जीवनयापन सम्मानित ढङ्गले भइरहेको छ ।
बरु आफ्नो जीवन छँदै सबै छोराहरूलाई आ–आफ्नो अंश दिएर आपसी मेल र सद्भावको वातावरण समेत मिलाइदिने दूरदर्शिता पनि देखाउनुभएको हो । आफू मिर्गौला सम्बन्धी समस्याबाट ग्रस्त भएर थलिए पनि जीवनसँगिनी बालिका पन्तकै आडभरोसामा आफ्नो बाँकी जीवन व्यतीत गर्नुभयो । सन्तान अविवेकी होइनन् तथापि सबैबाट माया र सम्मानको अपेक्षा राख्दै सचेत तुल्याउन भने बिर्सनुभएको थिएन । उहाँका सबै फुटकर कवितामध्ये उत्कृष्ट र कालजयी ठानिएका निम्न चार पङ्क्तिले पनि उहाँको यस इच्छा र आग्रहलाई अझ स्पष्ट गर्छन्–
छोरा हो, सुन है ! छ एक गहिरो सन्देश यो आँतको
खाँचो हुन्न यहाँ मरेपछि कुनै रोटी, पुवा, भातको
पानी, पिण्ड नद्यौ मरेपछि रुँदै, ज्यूँदै छँदै खान द्यौ
मीठो बोल सधैँ बसेर नडसी, माया र सम्मान द्यौ ।
हाम्रा पिताजी देवीप्रसाद मजगैयाँमा रहेको फलफूलको बाग–बगैँचाप्रतिको रुचि र गिरिराज पन्तको रुचि समानजस्तै, जसको प्रत्यक्ष प्रभाव र प्रेरणा मैले पनि ग्रहण गरेको छु र कर्जाहीको मेरो घरबासमा फलफूल र विविध उपयोगी वनस्पति, बोटविरुवा रोपण गरेर हराभरा बनाएको छु । थरी थरी फूलहरू रहेको एउटा उद्यान पनि छ ।
यस्तै माछाको पोखरी निर्माण गर्नुका साथै आधुनिक कृषि प्रणालीतिर मेरो अभिरुचि पनि न्यूनाधिक गिरिराज पन्तका क्रियाकलापले जगाएको मान्न सकिन्छ । उहाँले उबडखाबड रहेको कर्जाहीको आफ्नो जमिनलाई पहाडबाट मजदुरहरू झिकाई लामो समयसम्म श्रम र धन व्यय गरेर चामत्कारिक ढङ्गले एक विशाल उब्जाउ समतल भूमिमा परिणत गरिदिनुभएको थियो भने सम्भवतः दाङमै केही दूरदर्शी व्यक्तिहरूको सत्प्रयासबाटै कर्जाही गाउँमा मूल नापी हुनुअघि नै चक्लाबन्दी गरिएको हो ।
आरम्भमा विमति राख्ने चौधरी समुदायका केही व्यक्ति र अन्य केही जमिन्दारहरूलाई समेत यस कामको महत्त्वबारे सम्झाइबुझाइ गरेर सहमत गराउन गिरिराज पन्तको पनि ठूलो भूमिका रहेको थियो । उहाँको शीतल, सरल र केही ठट्टा पनि गर्ने हँसिलो स्वभाव भएका कारण गाउँले चौधरीहरूले उहाँमाथि विश्वास र भरोसा राखेकाले यो जटिल काम जम्मा दुई महिनाभित्रै सकुशल सम्पन्न भएको थियो ।
दाङको जेठो साहित्यिक संस्था राप्ती साहित्य परिषद्मा पहिलो पुरस्कार स्थापना गर्ने श्रेय उहाँलाई नै छ । २०४५ सालमा आफ्ना बुवाको नाममा ‘तारा पन्त पुरस्कार’ स्थापना गरेर यहाँका साहित्यकारहरूलाई उत्प्रेरित गर्ने महत्त्वपूर्ण कार्यको थालनी गरेर इतिहास निर्माण गर्नुभएको थियो । त्यसपछि मात्रै अन्य व्यक्तिहरूले यस्ता पुरस्कारहरू स्थापना गर्नतर्फ चासो दिएको पाइन्छ ।
२०४९ सालमा मैले उक्त पुरस्कार प्राप्त गर्ने अवसर पाएको हुँ । आफूले उच्च शिक्षा ग्रहण गर्न नपाए पनि शिक्षा पाउनबाट कुनै पनि व्यक्ति वञ्चित हुनुहुँदैन भन्ने मान्यता राख्नुहुने गिरिराज पन्तले आफ्नो पैत्रिकस्थल काभ्रे–४, सिरुवारीमा रहेको आफ्नो घर, गोठ एवम् २२.५ रोपनी क्षेत्रफल भएको जमिन त्यहाँको ‘काभ्रे माध्यमिक विद्यालय’लाई दान गरेर निकै पुण्यको काम गर्नुभएको थियो । विद्यालयले यस सन्दर्भको शिलालेख राख्दै उहाँप्रति सम्मान प्रकट गरेको छ ।
हिजोका दिनमा निकै रवाफिलो र वैभवशाली जीवन व्यतीत गर्नुभएकी उहाँकी धर्मपत्नी बालिका पन्तका आजका दिन आफ्ना पति गिरिराज पन्तको मृत्युपश्चात् केही शोकमय र कष्टमय अवश्य बनेका छन्, तथापि सन्तानहरूको मुख हेर्दै आत्मबलले धानिनुभएको छ । धेरैअघि आफ्नो एउटा छोराको मृत्युशोकमा भावविह्वल रहेकै बेला उहाँको अन्तर रसाएर काव्य–वाणी खुलेको र पछि दुर्घटनामा दुर्भाग्यवश माहिली बुहारी सङ्गीताको देहावसान भएपछि उहाँको पीडा रूपी काव्य–उद्गारहरू सहज रूपमै प्रवाहित हुन थालेको पाइन्छ । भारतीय महाकवि सुमित्रानन्दन पन्तले यस्तै पीडा र अश्रु कविताका स्रोत रहने गरेको कुरा निम्न पङ्क्तिमार्फत यसरी व्यक्त गरेका छन्, जुन बालिका पन्तमा दुरुस्त लागू भएको छ–
वियोगी होगा पहला कवि, ‘आह’ से उपजा होगा गान
लुढककर आँखोँ से चुपचाप बही होगी कविता अनजान ।
यसरी वाग्देवी सरस्वतीका कृपाले एक अपठित सामान्य गृहिणीले पनि आशुकवित्व–शक्ति प्राप्त गरी मुखाग्रै प्रशस्तै गीत–कविताको रचना गर्नुभयो । यसले उहाँको पीडा–विरेचनमा निश्चय पनि सहयोग त पु¥यायो नै, एक कवयित्रीका रूपमा पहिचान पनि दियो । उहाँको २०६८ सालमा ‘आमाको माया’ नामक कवितासङ्ग्रह प्रकाशित रहेको छ । यस कार्यका आफ्ना पति गिरिराज पन्तबाट भरपुर प्रोत्साहन र सहयोग पाएको कुरा उहाँले पटक पटक दोहो¥याउनुभएको छ ।
गिरिराज पन्तका उत्तराद्र्धका दिनहरू नेपालका धेरैजसो वृद्ध–वृद्धाको जस्तै कष्टकर बनेका थिए । वृद्धावस्था आफैमा एउटा रोगजस्तै हुन्छ, त्यसमा पनि रुग्ण भई गलेको देहयष्टि, केही विषम आर्थिक अवस्था, छोराहरू विवाहपछि आ–आफ्नै घरमा व्यस्त, चारै भाइहरू आ–आफ्ना पेसा–कर्ममा जीवन–सङ्घर्ष गर्दै, पत्नीमाथि भातभान्सा, सरसफाइ र घरको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, अब बिछ्यौनामै थलिएका बूढासँग लामो समयसम्म बसिरहन कसलाई फुर्सद हुने ? आजको आर्थिक युगमा अन्य इष्टमित्रहरू पनि सबै व्यस्त रहने नै भए ।
युवाहरू विदेश पलायन हुँदा गाउँघर रित्ता हुँदै गएसँगै अब त बिरामीको छेउ बसेर गफ–भलाकुसारी गर्ने, पुराना कुरा स्मरण गरेर एक–अर्काका सुखदुःख साटासाट गर्दै समय व्यतीत गर्ने व्यक्तिहरू पनि नपाइने अवस्था बन्दै छ । त्यसैले एक्लोपनको थप पीडा भोग्नुपर्ने स्थितिमा क्रमशः अन्तर्मुखी बन्दै मानसिक तनावको रोगी बनिरहेका छन् आजका नेपाली वृद्ध–वृद्धाहरू ! यस्तै अवस्था पन्तजीको पनि नभएको होइन ।
केही हताशा, केही दिग्भ्रम, हिजोको र आजको आफ्नो अवस्थाको तुलनाबाट उब्जेको निराशा र पश्चात्ताप जस्ता मानसिक सन्ताप, आफ्नाहरूसँग रहेका केही सिकायत र असन्तुष्टिका माझ उहाँका अन्तिम दिनहरू व्यतीत भएका हुन् । जीवनका भोगाइबारे आफ्नो आत्मकथा लेख्ने उहाँको चाहना पनि अधुरै रहन गयो । रोगले सताइएको वृद्ध उमेरमा लेख्ने जस्तो कष्टसाध्य श्रम गर्न नसक्दा मस्तिष्कमा चलचित्रझैँ सल्बलाइरहेका पूर्वस्मृतिले पनि उहाँलाई थप पीडा दिएका हुन् । मैले उहाँलाई प्रायःजसो भन्ने पनि गर्थें– ‘जीवनमा जे जति गर्नुभयो, त्यसैमा सन्तुष्ट बन्नुस्, धेरैले यत्ति पनि गर्न सक्दैनन् ।
तपाईँले शिक्षा र साहित्यका क्षेत्रमा जुन योगदान दिनुभएको छ, त्यो आफैमा महत्त्वपूर्ण छँदैछ । समाजले तपाईँको सम्मान गर्ने र सम्झने आधारहरू प्रशस्तै छन् । जीवनको सार्थकता भनेकै यही हो । तपाईँको जीवनबाट यस्तै सार्थक सन्देश अरूलाई पनि मिलिराखोस् ! तपाईँबाट हामी जस्ताले सिक्ने भनेको जीवनप्रतिको सकारात्मक धारणा, सत्कर्म र परमार्थ चिन्तन नै हो । बरु अब अध्यात्म–चिन्तनतिर पनि समय दिनुस् ।
दुई विपरीत संस्कृति वा भिन्न भाव–विचार र प्रवृत्तिका बीचमा द्वन्द्वात्मक वा तुलनात्मक अध्ययन गर्नाले कुन सही छ र कुन गलत छ वा कुन ग्राह्य र कुन त्याज्य छ भनेर आफै निष्कर्ष निकाल्न पनि सकिन्छ । यसले समय व्यतीत गर्न निकै सहज हुन्छ भने जीवन–रहस्य पनि खुल्न सक्छ । तपाईँको अनुभवबाट हामी पनि लाभान्वित बनौँला ।
चिन्तनको अन्तर्वस्तु र सार्थक निष्कर्षले मन र मस्तिष्कलाई पोषण र शक्ति प्रदान गर्छ । तपाईँका अबका दिन सकेसम्म सहज, कम कष्टकर एवम् तनावरहित बनून् । रोगव्याधिबाट सम्भव भएसम्म मुक्त हुँदै पूर्ण जीवन प्राप्त होओस् । तपाईँबाट हामीले उचित मार्गनिर्देशन र आशीर्वाद पाइरहौँ ।’
अन्ततः २०७७ साल मङ्सिर १ गतेका दिन उहाँले आफ्नो नश्वर शरीर त्याग गरेर शारीरिक व्याधि तथा त्यसले दिएको लामो कष्ट र मानसिक पीडाबाट सदाका लागि मुक्ति प्राप्त गर्नुभयो । दाङको शिक्षा तथा साहित्य क्षेत्र र यहाँको समाजले उहाँलाई सधैँ स्मरण गरिरहनेछ !