हिरा डाँगी स्मृति कप फुटबलको तयारी

लक्ष्मण बस्नेत
तुलसीपुर, ६ कार्तिक । दाङको तुलसीपुरमा सञ्चालन हुन लागेको सर्वाधिक पुरस्कार राशिको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को तयारी अन्तिम चरणम पुगेको छ ।

हिरा डाँगी फाउन्डेसन तुलसीपुर–५ को आयोजनामा यही कार्तिक १० गतेदेखि तुलसीपुर–५ अरनिको खेल मैदानमा सुरु हुने प्रतियोगिताको तयारीस्वरुप खेल मैदानको घाँस काट्ने तथा मर्मत, आर्थिक ब्यबस्थापन, टिम दर्ता, अतिथि सत्कार, प्रचार–प्रसारलगायतका अति आवश्यकीय कार्यको तीव्रतासँगै तयारी अन्तिम चरणमा आईपुगेको हिरा डाँगी फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगी बमले जानकारी दिएका छन् ।

२०७६ साल चैत ३ गतेका दिन एक समूहको आक्रमणमा परी ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यावसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष डाँगीले जानकारी दिएका छन् ।

बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समय ठप्प बनेको स्थानीयस्तरको खेल गतिविधिलाई चलायमान बनाउन सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड अपनाउँदै सञ्चालन गरिन लागिएको प्रतियोगितामा ईन्डियाको सहारा क्लब, अन्य जिल्ला र स्थानीय गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फका वेस्ट प्लेयर खेलाडी, बेस्ट किप्पर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, हाई स्कोरर, बेस्ट कोच, बेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफीले पुरस्कृत गरिनेछ ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई ट्रफिको ब्यबस्था गरिएको छ । कार्तिक १६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालीका आधारमा खेलाइने छ ।