एमाले वडा अधिवेशन आज

  •   
  •  

सबै वडामा सर्वसम्मत नेतृत्वको प्रयास

इन्द्र डिसी

दाङ, ६ कार्तिक । नेकपा एमाले दाङले जिल्लाका सबै वडामा शनिवार नेतृत्व छान्दै छ । पार्टीको दशौ महाधिवेशनको लागि कार्तिक ६ गते देशभरैका अधिकांश वडाहरुमा एकैपटक नेकपा एमालेले अधिवेशन गर्ने भएको हो । बाढी, पहिरो प्रभावित जिल्लाका वडा अधिवेशन भने केही पछि धकलिएको छ । पार्टीको दशौ महाधिवेशन मंसिरमा चितवनमा तय भएको छ ।

बिहीवार बसेको पार्टीको स्थायी कमिटीको बैठकले चितवनमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि लुम्बिनी प्रदेशको बुटवलमा अधिवेशन गर्ने भनिएको थियो । जिल्लाका सवै वडा अधिवेशनको तयारी पूरा भएको एमाले दाङले जनाएको छ । वडा नेतृत्व सर्वसम्मत चयन गर्ने समेत एमालेले दाङले दाबी गरेको छ । ‘सवै वडामा सर्वसम्मत नेतृत्व चयनको लागि सर्कुलर भएको छ । त्यो अनुसार नै सक्षम नेतृत्व चयन हुनेछ’, एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने– ‘पार्टीभित्रको एकतालाई थप मजबुद बनाउन यो पटक सर्वसम्मत नै नेतृत्व चयन गरिने छ ।’

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले समेत सर्कुलर गरेको अवस्था छ । जिल्लामा घोराही र तुलसीपुर गरेर दुई उपमहानगरपालिका, लमही नगरपालिका र बबई, शान्तिनगर, दंगीशरण, बंगलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिका छन् । सबै पालिकामा गरेर १ सय वडाहरु छन् । मुलक संघीय संरचनामा गएसँगै हुन लागेको अधिवेशन भएर पनि वडा कमिटीको अधिवेशनलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

पार्टीको आधार र टेक्ने धरातल भएकाले वडा कमिटीलाई बलियो र सक्षम नेतृत्व चयन गर्नुपर्ने भएकाले वडा अधिवेशनलाई महत्वपूर्णरुपमा लिने गरिएको छ । अर्कोतर्फ वडाको नेतृत्व भनेको आउँदो स्थानीय चुनावमा वडाध्यक्षको सम्भावित उम्मेदवार भएको कारण पनि धेरैको नजर वडामा छ । जिल्लाका सबै वडामा अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन तयारीस्वरुप वडाहरुमा पार्टीका तयारी बैठक सम्पन्न भएका छन् । अधिवेशनको लागि निर्वाचन संयोजनदेखि मतदान अधिकृत खटाउने काम पूरा भएको छ ।

प्रत्येक वडामा २ देखि ४ जनासम्म निर्वाचन सम्पन्न गर्नको लागि खटाएको नेकपा एमाले दाङका सचिव बुढाथोकीले बताए । ‘जिल्लाका सबै वडाहरुमा निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन मण्डलदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाउने काम पूरा भएको छ’, सचिव बुढाथोकीले भने । गाउँपालिका र नगरपालिकामा वडा कमिटी संख्या ३१ सदस्यीय र उपमहानगरपालिमा ४१ सदस्यीय वडा कमिटी निर्वाचित हुने पार्टीको विधानले व्यवस्था गरेको छ । त्यसैगरेर वडा कमिटी चयन गर्दा समावेशितालाई पनि प्राथमिकता राख्नुपर्ने व्यवस्था पार्टीको विधानमा छ ।

वडामा वडा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ र अन्य सदस्यहरु निर्वाचित हुनेछन् । त्यसैगरेर वडा अधिवेशनबाटै पालिका प्रतिनिधि पनि छनोट गरिने छ । प्रतिनिधि छनोट गर्दा मुस्लिम, अपाङ्गलाई शतप्रतिशत, जनजातिको लागि ७ बराबर १ जना, महिलाको हकमा ३३ प्रतिशत, दलितको लागि ५० प्रतिशत र अन्यको हकमा १० बराबर १ जना प्रतिनिधि छनोट गरिने विधानले व्यवस्था गरेको छ ।

नेतृत्व सर्वसमत गर्न अपिल :

यसैबीच नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का र सचिव मनोहर बुढाथोकीले जिल्लाका सबै वडाको अधिवेशन तयारी पूरा भएको भन्दै सर्वसम्मत नेतृत्व चयन गर्न अपिल गरेका छन् । पार्टीको एकतालाई थप मजबुद बनाउन सहमतिमै नेतृत्व चयन गर्न अध्यक्ष र सचिवले अपिल गरेका हुन् ।
यस्तो छ वडा अधिवेशनको उद्घाटन

नेकपा एमालेले देशभरका करिब ६ हजार वडामा एकैपटक पहिलो अधिवेशन आयोजना गर्दै २ लाखभन्दा बढी कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्ने व्यवस्था मिलाएको छ । एउटा वडामा मात्र अध्यक्ष भौतिकरुपमा उपस्थित भएर उद्घाटन गर्नुभन्दा देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर केन्द्रीय अध्यक्षले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

तामाङका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कार्यालयबाट वडा अधिवेशनहरुको उद्घाटन र शुभकामना मन्तव्य दिनेछन् । त्यसक्रममा दुईदेखि साढे दुई लाख कार्यकर्ता प्रत्यक्षरुपमा भर्चुअल माध्यमबाट जोडिने अनुमान गरिएको छ । केन्द्रीय कार्यालयमा वडा अधिवेशनको ब्यानर राखेर अध्यक्ष ओली र केन्द्रीय नेताहरु बस्नेछन् । इन्टरटेन पहुँच भएका सबै वडा अधिवेशनस्थलमा जुम आइडीको लिंक पठाइने तामाङले बताए ।

केन्द्रीय कार्यालयको तर्फबाट तामाङले बिहीवारै सबै जिल्ला कमिटीहरुलाई वडा अधिवेशनको विधिबारे मापदण्ड पठाइसकेका छन् । प्रत्येक वडामा जिल्ला कमिटीले खटाएका एकजना सदस्य अनिवार्य उपस्थित हुनेछन् । राज्यको पुनः संरचनापछि पहिलोपटक स्थानीय तहका अधिवेशन हुन लागेकाले एमालेले अधिवेशनको संख्या पहिलो भनेको छ ।