प्रजातन्त्र सेनानी शर्मा रहेनन्

गोरक्ष समाचारदाता
दाङ,१० चैत । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेस दाङका पूर्व सभापति छविकुमार शर्माको निधन भएको छ ।

काठमाडौंमा बस्दै आएका उनको आइतवार राती निधन भएको हो । उनी भर्खरै नेपाल कांग्रेस ज्येष्ठ नागरिक सभाको सदस्यमा मनोनित भएका थिए । दाङको वनहरी घर भएका शर्मा किशोर अवस्थाबाटै राजनीतिमा संलग्न भएका थिए । उनका दाजु गणेशकुमार शर्मा नेपाली कांगे्रसका सस्थापक सदस्य हुन ।

आफ्नै दाजुको प्रेरणाबाट राजनीतिमा लागेका उनी नेपाली कांग्रेसले आव्हान गरेको २०१८ सालको सशस्त्र आन्दोलनमा दाङ क्षेत्रमा सक्रिय भैइ सहभागी भएका थिए । आन्दोलनमा सफल बनाउन र सरकारकातर्फबाट आन्दोलन दवाउने सहायता आउन नदिन तुलसीपुरको टरिगाउँ एयरपोटलाई प्लेन ओर्लन नसक्ने गरि विगार्ने कामको उनले अगुवाई समेत गरेका थिए ।

आफ्नो जीवनको उत्तरार्धसम्म पनि सक्रियता पूर्वक राजनीतिक गतिविधिमा संलग्न उनी केही समयदेखि बिरामी रहि घरमै आराम गर्दै आएका थिए ।