कांग्रेसको दशैमिलन : विजयी बन्न शुभकामना साटासाट

  •   
  •  

गोरक्ष समाचारदाता

बिजौरी(दाङ) २३ असोज । नेपाली कांग्रेस तुलसीपुर–१८ ले दशैमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम बिजौरीमा सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले आसन्न सबै तहको निर्वाचनमा विजयी बन्न शुभकामना आदान–प्रदान गरेका थिए ।

विजयादशमी सत्यको विजयको उत्सव भएको भन्दै उनीहरुले कांग्रेसको महाधिवेशनका समयमा वडा प्रतिनिधि तथा पालिका कार्यसमितिको चयन प्रक्रियामा कहिँकतै असन्तुष्टिहरु देखिए पनि त्यसलाई भुलेर नेपाली कांग्रेसलाई बलियो बनाउन सुझाव पनि दिएका छन् ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१८ का इकाई सभापति वीरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले मुलुक अहिले विषम राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताउँदै मुलुकलाई स्थायी शान्ति र समृद्धिको ट्रयाकमा ल्याउनका लागि कांग्रेसलाई तीनै तहका निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि सबै कार्यकर्ताहरु खट्नुपर्ने उल्लेख गरे ।

‘अधिवेशनका क्रममा कहिँकतै तीतामिठा घटनाहरु भए, कसैले जिते त कसैले हार पनि व्यहोर्नुप¥यो, त्यो त एउटा प्राविधिक पक्ष मात्रै थियो’, प्रमुख अतिथि खड्काले भने– अब निर्वाचनको तिक्ततालाई बिर्सेर एकढिक्का भएर अघि बढ्नुको विकल्प छैन ।’ कांग्रेस कमजोर भयो भने लोकतन्त्रनै कमजोर हुने बताउँदै अब नेपाली कांग्रेसलाई गाउँदेखि नै बलियो र एकताबद्ध बनाएर लैजान जिल्ला तहका नेता कार्यकर्ताहरुलाई सुझाव दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति घनश्याम रेग्मीले पालिका अधिवेशनसम्म भएका जित–हारलाई बिर्सेर नविनतम् कांग्रेस निर्माणमा जुट्न कार्यकर्ता एवं शुभेच्छुकहरुलाई आग्रह गरे । ‘हार त आफ्नै कारणले हुने हो, तर खासमा यो हार नभएर पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा मात्रै हो’, रेग्मीले भने– ‘समृद्धिको साम्राज्यबाद फैलाउनका लागि नविनतम कांग्रेस निर्माणमा जुटौं ।’

अर्का नेता गेहेन्द्र गिरीले पछिल्लो समयमा पार्टीका विभिन्न स्थानमा सम्पन्न भएका अधिवेशनहरु बढी खर्चिला भएको उल्लेख गर्दै निर्वाचन सबैले प्रतिस्पर्धा गर्ने खालको हुनुपर्ने सुझाव दिए । ‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक हो तर आम निर्वाचनको अवस्था हेर्दा कुनै वडामा त क्रियाशील सदस्य संख्या बराबरको मत पनि आउन सकेको छैन’, उनले भने ।

यसमा आम कांग्रेस नेता कार्यकर्ताहरु गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । नेता गिरीले कांग्रेसमा कम्तिमा पनि एक क्रियाशील सदस्य बराबर ५ मत मात्रै आउनसक्ने वातावरण बनाए चुनावमा विजय निश्चित हुने अभिव्यक्ति दिए ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति भूपबहादुर डाँगीले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने भन्दै पार्टीलाई बलियो बनाउन तलैदेखि माथिसम्म सुधार हुनुपर्ने सुझाव दिए । अधिवेशन एउटा आन्तरिक प्रतिस्पर्धा मात्रै भएको उल्लेख गर्दै क्षेत्रीय सभापति डाँगीले आम निर्वाचनमा यी सबै कुराहरुलाई पूर्णरुपमा भुल्नुपर्ने बताए ।

नेपाली कांग्रेस तुलसीपुर इकाई सभापति सुरेश हमालले निर्वाचनमा कसैले पनि नहारेको रुपमा लिएर पार्टीलाई अब नयाँ शिराबाट अगाडि बढाउन आफू सधै तत्पर रहेको अभिव्यक्ति दिए । ‘हामी सबै वडाबाट नेतृत्व चुनिएका छौं, को कसको र को कसको भन्ने होइन, सबै नेपाली कांग्रेसको झण्डामुनि आवद्ध भएको स्मरण गर्दै एक भएर अघि बढ्नुपर्ने अवस्था आएको छ’, नगर सभापति हमालले भने । उनले यसको सहजीकरणका लागि नगर समिति सबै वडामा इकाई कार्यालय खोल्ने तयारीमा रहेको बताए ।

कार्यक्रममा सहभागी विद्यार्थी नेता विजय गौतमले हिन्दु राज्यको विषयमा नेपाली कांग्रेसको धारणा, गणतन्त्रका विषयमा नेपाली कांग्रेसको धारणा र प्रजातान्त्रिक समाजबाद र संघीयताका विषयमा नेपाली कांग्रेसको स्पष्ट धारणा नरहेको बताउँदै उच्च नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेस तुलसीपुर–१८ का क्षेत्रीय प्रतिनिधि एवं दलित अगुवा आशाराम नेपाली (शंकर)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कांग्रेस नेता नदन अर्याल, श्याम रेग्मी, रामकुमार डाँगी, कृष्णबहादुर डाँगी, जनजाति नेता एचबी सेर्चन, पोषण आचार्य, पूर्व इकाई सभापति हिमबहादुर डाँगी, वडा नं. १७ का निवर्तमान इकाई सभापति लालबहादुर गिरी, १६ का अध्यक्ष लिलाधर वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१८ का इकाई सचिव विदुर गौतमले चियापान कार्यक्रमको सहजीकरण गरेका थिए भने उपाध्यक्ष चिन्तामणि पोख्रेलले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा तुलसीपुर वडा नं. १८ इकाईलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अर्थपूर्ण पहल गर्ने अग्रज नेतृत्वहरुलाई सम्मानसमेत गरिएको थियो ।