गोरक्ष समाचारदाता
तुलसीपुर, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत बुधवार सम्पन्न जिल्ला अधिवेशनमा क्षेत्रबहादुर बस्नेत सर्वसम्मत जिल्ला सभापति चयन भएका छन् । निर्वाचन कार्यतालिका अनुसार जिल्ला अध्यक्षका अर्का प्रत्यासी भूपाल रावतले बस्नेतलाई सर्वसम्मत अध्यक्ष स्वीकार्दै उम्मेदवारी फिर्ता लिएपछि बस्नेत सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत अमर वलीले जानकारी दिएका छन् ।
आगामी कार्तिक २७ देखि काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत दाङ जिल्लामा पनि राप्रपालाई अधिवेशनको माहोलमा थियो । जिल्लामा सकेसम्म सर्वसम्मतरुपमा नेतृत्व चयनमा अघि बढेको राप्रपा दाङले बुधवारसम्म सबै पालिका, वडा, क्षेत्र, प्रदेश र जिल्लामा समेत सर्वसम्मतरुपमा नेतृत्व चयन गर्न सफल भएको राप्रपा नेता दामोदर भण्डारीले जानकारी दिएका छन् ।
निर्वाचित भएसँगै यसअघि पनि जिल्ला सभापतिको भूमिकामा रहेका नवनिर्वाचित अध्यक्ष बस्नेतले पार्टीका अग्रज नेता तथा कार्यकर्ता र निर्वाचन समितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले राप्रपाको नीतिलाई अंगीकार गर्दै हिन्दू राज्य र संवैधानिक राजसंस्थाका विषयमा वकालत गर्दै मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षामा आफू सधै अघि बढ्ने विश्वास व्यक्त गरे ।
यसै क्रममा अघिल्लो साता भएको अधिवेशनमा राप्रपा तुलसीपुर उपमहानगरपालिकाको नगर अध्यक्षमा पर्वत बस्नेत सर्वसम्मतरुपमा चयन भएका छन् । राप्रपाको बिहीवार भएको अधिवेशनले बस्नेतलाई सर्बसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । युवा ब्यबसायी बस्नेत युवा माझ निकै लोकप्रिय छन् । सरल स्वभावका धनी बस्नेतले राजनीति सेवामूलक हुनुपर्ने र यसलाई नाफामूलक बनाउनु गलत भएको बताए । बस्नेतका बुवा क्षेत्रबहादुर बस्नेत राप्रपा दाङका अध्यक्ष हुन् । यो परिवार विगतदेखि नै अनबरतरुपमा राप्रपामा आबद्ध रहँदै आएको छ ।
त्यस्तै अधिबेशनले दाङ निर्वाचन क्षेत्र नं. ३ को अध्यक्षमा छोटीलाल थारुलाई सर्बसम्मत रुपमा चयन गरेको छ । प्रदेश सभा ३ ‘क’ को अध्यक्षमा लक्ष्मण केसी, प्रदेश ३ ‘ख’ श्रीमन न्यौपाने सर्बसम्मत चयन भएका छन् । त्यस्तै दाङ निर्वाचन २ (क) मा ईश्वरीप्रसाद शर्मा र क्षेत्र नं. २ ९ख) को अध्यक्षमा चूर्णबहादुर वली सर्बसम्मत रुपमा चयन भएका छन् । क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा नरबहादुर बुढाथोकी चयन भएका छन् । त्यस्तै दाङ निर्वाचन क्षेत्र नं.१ को सभापतिमा लिला यादब चयन गरिएका छन् ।
निर्वाचन क्षेत्र नं. १ (क)मा कमल नारायण चौधरी र १ (ख) शेषमणि घिमिरे सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । जिल्ला निर्वाचन समिति संयोजक अम्मर वली, केन्द्रीय कार्यसम्पादन सदस्य टोपबहादुर शाह, केन्द्रीय सदस्य तिलकबहादुर बस्नेत, मिना स्वर्णकार, हरि देवकोटा, दामोदर भण्डारी, जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत, जिल्ला सहअध्यक्ष हंशराज केसी, उपाध्यक्ष भूपाल रावत, नेता बंशिकुमार शर्मालगायतको उपस्थितिमा राप्रापाभित्र सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ ।