मेरो सानैदेखिको सपना थियो, सरकारी जागिर खाने । जनजागृति मावि जुँगार रोल्पाबाट मैले वि.सं. २०५२ सालमा एसएलसी पास गरेको थिएँ । त्यसको तगत्तै प्रहरीमा भर्ती खुलेको थियो । नेपालगञ्जमा भएको छनोटमा म पनि परेँ । रोल्पाको तत्कालीन जुँगार गाविस–८ मा जन्मिएका चन्द्रबहादुर डाँगीले भने ।
त्यतिबेला तत्कालीन जनयुद्ध घोषणा भएको थियो । तर, मैले त्यतातिर कुनै ध्यान नदिई राष्ट्र सेवामा लाग्ने परिकल्पनाका साथ नेपाल प्रहरीमा भर्ती भएर नाम निकाल्न सफल भएँ । मैले सरकारी जागिर खाएर देशको सेवा गर्ने भन्ने सोच त्यतिबेला पूरा भयो । ‘मेरो पहिलो खुसी राष्ट्र सेवाका लागि प्रहरी जवानमा जागिर खाँदाको हो, मेरो पहिलो खुसी यही लेखिदिनुहोला’, चन्द्रबहादुर डाँगीले भने ।
२०३४ सालमा रोल्पामा जन्मिएका डाँगीले धेरै कडा संघर्षका साथ प्रहरी जवानमा नाम निकालेर सेवा सुरु गर्दाको क्षण आफू निकै खुसी भएको सुनाए । त्यससँगै एक वर्ष तालिम सकेर पहिलो पटक आप्mनै क्षेत्र रोल्पाकै गजुरमै पोष्टिङ हुँदा अर्को खुसी मिलेको सुनाए । त्यससँगै तत्कालीन द्वन्द्वमा वि.सं. २०५५ सालमा जाजरकोटमा भएको घटनामा घाइते भएका डाँगीले आफूले त्यतिबेला ज्यान बचाउन पाउँदाको अर्को खुसी सम्झिए । आफूलगायत ९ जनाको टोली गस्तीमा गएको बेला तत्कालीन माओवादीले थापेको एम्बुसमा परेर एक जनाको ज्यान गएको, अन्य घाइते र ३ जना हराएको घटना सम्झँदै डाँगीले त्यतिबेला आफु पनि घाइते भएको र घाइते भएर पनि ज्यान बाचेकोमा खुसी व्यक्त गरे ।
‘त्यतिबेला मलगायत केही घाइते भएका थियौँ, केहीको ज्यान गयो तर मैले एउटा पनि हतियार हराउन दिएन, हतियार बचाउन सफल भएँ, मेरो त्यो क्षण पनि खुसीको क्षण हो’, डाँगीले भने, ‘घाइते भएर पनि मैले सबै हतियारहरू आफैले सम्हालेँ, मलाई ज्यानभन्दा पनि त्यो बेला हतियार सम्हालेकोमा खुसी छु ।’ त्यस्तै घाइते भएसँगै आफूले प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकसम्म भएर २०६९ सालमा पेन्सनमा आएर अहिले सामाजिक संघसंस्थामा लागेको उनले बताए । सामाजिक काममा लाग्दा पनि अर्को खुसी मिलेको सुनाए ।
डाँगीले विदेश जाने भनेर वि.सं २०६२ सालमा सबै सम्पत्ति सकेर असफल भएको भन्दै त्यसपछि यातायात र राजनीतिमा हात हालेको र त्यहाँ थोरै धेरै सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरे । डाँगीले वि.स. २०६२ सालमा कांग्रेसको १२औँ महाधिवेशनबाट रोल्पा क्षेत्र नं. २ को सचिवमा मनोनित हुँदा खुसी मिलेको सुनाए । उनले वि.स. २०६४ को निर्वाचनमा रोल्पाका प्रचारप्रसारको समयमा तत्कालीन माओवादीले आफूहरूलाई घेरा हालेको र त्यसबाट बचेकोमा पनि खुसी व्यक्त गरे । ‘रोल्पामा एकजना हाम्रो साथीलाई कुटपिट गरेर खुट्टा भाँचिदिए, हामी भने त्यहाँबाट सकुशल उम्कन सफल भयौँ, घाइते व्यक्तिलाई पहिलो पटक क्षतिपूर्ति तिराएर उसको उद्धार गर्न पाउँदाको क्षण पनि आफ्नो खुसी भएको सुनाए ।
त्यो सँगै दाङ जिल्ला टेक्टर व्यवसायी तुलसीपुरको सदस्य भएर व्यवसायीहरूको हकहितमा काम गर्न पाएकोमा अर्को खुसी व्यक्त गरे । त्यस्तै वि.स. २०६७÷०६८ मा आफूले पढेको जनजागृति जुँगार विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा रही विद्यालयको शैक्षिक, भौतिक विकास गर्न पाएकोमा अर्को खुसी व्यक्त गरे । आफू सदस्य रहँदा विद्यालयमा भवन निर्माण, विज्ञान संकायमा दश जोड दुई सञ्चालन गर्नुका साथै कक्षा १ देखि ८ सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।
जन्मथलो रोल्पा तथा हाल कर्मथलो दाङको तुलसीपुर बनाएका डाँगीले अर्को खुसी बगेश्वरी डाँगी बन्धु ट्रष्टको केन्द्रीय सदस्य भएर विभिन्न कार्यहरू गर्दा खुसी लागेको सुनाए । उनले स्वर्गीय चन्द्रबहादुर डाँगीलाई गिनिज बुकमा नाम लेखाउनमा आफूले पनि धेरै भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे । ‘विश्कै होचो व्यक्ति चन्द्रबहादुरजी आज हामी माझ त हुनुहुन्न तर उहाँ र दाङको पहिचान अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुभयो’, उनले भने ।
त्यस्तै रारा बचत र बाबा बचत सहकारी संस्था तुलसीपुरमा व्यवस्थापकको रूपमा जिम्मेवारी पूरा गरेका डाँगीले सहकारीमा रहँदा धेरै व्यक्तिहरूलाई ऋण प्रवाह गरी उनीहरूको जीविकोपार्जनका लागि सहयोग पु¥याएको भन्दै खुसी व्यक्त गरे । ‘सामान्य सडकमा व्यापार गर्नेहरूलाई ऋण प्रवाह गरी उनीहरूको जीवनस्तर माथि उठाउन मैले धेरै सहयोग गरेको थिएँ, अहिले ठूल्ठूला उद्योगहरू सञ्चालन गरेका छन्, मेरो सानो सल्लाह र सहयोगले धेरै प्रगति गर्नुभएको छ, उहाँहरूको प्रगति पनि मेरो खुसी हो’, डाँगीले भने । उनीहरूले अहिले पनि भेट्दा तथा सम्झँदा आफूलाई खुसी मिल्ने गरेका डाँगीले बताए ।
त्यस्तै गौमाता दुग्ध उत्पादक सहकारीका सचिव तथा राप्ती दुग्ध उत्पादक तथा कृषि समितिका सचिव समेत रहेका डाँगीले एउटा गाई किनेर गाईपालन सुरु गरेकोमा हाल ४० वटा गाई पालेर सहारा पुशपालन फर्म चलाएर ५÷७ जनालाई रोजगारी दिन पाएकोमा खुसी व्यक्त गरे । ‘मैले दिनेश डाँगी दाइसँग एउटा गाई लगेर व्यवसाय सुरु गरेको हुँ, अहिले दैनिक १ सय ५० लिटर दूध उत्पाद गर्न पाउँदा खुशी लागेको छ’ –डाँगीले भने ।
त्यस्तै राष्ट्रिय व्यवसायी पुशपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपाल नगरको कोषाध्यक्ष समेत रहेका डाँगीले आफूहरूले सञ्चालन गरेका संस्थामा सयौँलाई रोजगारी दिन पाउँदा र पशुपालक किसानको सुख–दुःखमा साथ दिन पाउँदा खुसी मिलेको सुनाए । तुलसीपुर –६ मा व्यवसाय सञ्चालन गर्दै आएका डाँगीले तुलसीपुरमा सहकारी संस्थाको विकास र विस्तार गरी सयौँलाई रोजगारी दिन पाएकोमा पनि खुसी व्यक्त गरे ।
लगनशील, मिहिनेती र कर्मठ चन्द्रबहादुरले घरपरिवार, छोरा–छोरी, साथीभाइ र सबैको सहयोगबाट आफू यहाँसम्म आएकोमा खुसी व्यक्त गरे । उनले तीनवटा छोराहरूले पनि प्रगति गरेको भन्दै पारिवारिक खुसी मिलेको सुनाए । त्यस्तै जेठो छोराले भेटेरेनरी डाक्टर पढेको र अर्को दुई भाइले कृषि विज्ञान पढाइ सक्न लागेको भन्दै छोराहरूको प्रगतिमा पनि आफू खुसी भएको सुनाए । त्यस्तै उनले विभिन्न दुःखी गरिब र असहायहरूलाई सहयोग गर्न पाउँदा पनि खुसी मिल्ने गरेको सुनाए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पशुपालन क्षेत्रमा उत्कृष्ट नमुना काम गरेको भन्दै २०७५ सालमा राष्ट्रिपति पुरस्कारबाट सम्मानित हुँदा पनि खुसी मिलेको सुनाए ।