पालिका अधिवेशन सौहार्दपूर्ण : केन्द्रीय सदस्य गिरी

गोरक्ष समाचारदाता
तुलसीपुर, ११ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत वडा तथा गाउँ÷नगर अधिवेशनहरु निकै सौहार्दपूर्ण अवस्थामा सम्पन्न भएको जनाएका छन् ।

दाङ जिल्लाका एक सय वडा र दशवटै पालिकाहरुमा कतै सहमति त कतै निर्वाचन प्रक्रियाबाट अधिवेशनहरु सम्पन्न भएको सन्दर्भमा केन्द्रीय सदस्य गिरीले निर्वाचनको परिणामलाई पनि सहजरुपमा लिन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

‘जहाँ–जहाँ सर्वसम्मत नेतृत्व चयन गर्न स्थानीय नेताहरुले पहल गर्नुभो, उहाँहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु, त्यस्तै निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको अवस्थामा पनि यसलाई सहज रुपमा लिन मेरो आग्रह छ’, केन्द्रीय सदस्य गिरीले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सर्वसम्मत नेतृत्व चयन नभएको अवस्थामा निर्वाचन प्रक्रियामा जानु अत्यन्तै लोकतान्त्रिक अभ्यास पनि भएकाले यो एउटै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको परिणामलाई सबैले सहजरुपमा लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै नेता गिरीले नयाँ नेतृत्वले पार्टीलाई चलायमान र एकढिक्का बनाउन पनि आग्रह गरेका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा नेतृत्व चयन हुँदा कसैले त्यसलाई हार वा जितका रुपमा लिन हुँदैन, निर्वाचित साथीहरुले पनि विजय र पराजयको कुरालाई बिर्सेर सबै साथीहरुलाई मिलाएर नेपाली कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन हरतरहले पहल गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

महाधिवेशन सकिएलगत्तै मुलुकमा क्रमशः तीनै तहका आम निर्वाचनहरु हुन गइरहेको सन्दर्भ उठाउँदै विज्ञप्तिमा यी सबै तहका निर्वाचनमा कांग्रेसजनहरुबीच भावनात्मक एकता भैसक्ने विश्वास गरिएको छ । निर्वाचनका बेला कहिँकतै भएका तीता–मीठा अनुभवहरुलाई आत्मसात गर्दै आगामी अधिवेशन सम्पन्न भैसकेपछि सबै तीता–मीठा अनुभवहरुलाई बिर्सेर नेपाली कांग्रेसलाई जनताको पक्षको पार्टी भएको अनुभूति आम नागरिकहरुलाई गराउनतर्फ केन्द्रित हुन नेतृत्वलाई आग्रह गरिएको छ ।

‘मुलुकमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि आगामी आम निर्वाचनमा नेपाली कांग्रेसलाई सबैभन्दा बलियो र सशक्त पार्टी बनाउनुको कुनै विकल्प छैन, कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले पनि मुलुकको समग्र आर्थिक विकास र समावेशिता तथा संघीयताको पूर्ण कार्यान्वयनका लागि पनि नेपाली कांग्रेसलाई सुदृढ र सशक्त बनाउने दायित्व आम स्थानीय पालिका नेतृत्वबीच आएको छ’, विज्ञप्तिमा भनिएको छ ।

वडा र पालिका अधिवेशनसँगै आसन्न क्षेत्रीय अधिवेशन, प्रदेश अधिवेशन, जिल्ला अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनलाई पनि भव्य एवं सभ्यरुपमा सम्पन्न गर्नका लागि जिल्लामा पनि सक्षम प्रतिनिधि छनोट गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।