खुला फुटबल प्रतियोगिता सुरु, टिएफसीको बिजयी सुरुवात

लक्ष्मण बस्नेत
तुलसीपुर,९ असोज । दाङ तुलसीपुरको टरिगाउमा शनिवारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ ।
टरिगाउ युवा क्लब तुलसीपुर–१२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पाण्डेले खेलकुद क्षेत्रलाई देशको समृद्धिसंग जोडेर लैजानु पर्ने बताए । ‘खेलकुद रास्ट्रको सान र गौरव हो, यसलाई खेल पर्यटनको गन्तव्यको रुपमा बिकास गर्न सके देश समृद्धिको दिशातर्फ उन्मुख हुनेछ’, नगर प्रमुख पाण्डेयले भने ।

दाङ जिल्ला फुटबल संघ अध्यक्ष सुशील श्रेष्ठ र तुलसीपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष सुर्यबहादुर डाँगी श्यामलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका सचिब शिव बुढाथोकीको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबीच प्रतियोगिता अन्तरगत शनिवार भएको उद्घाटन खेल आयोजक टरिगाउ युवा क्लबले बिजयी सुरुवात गरेको छ । उल्लेख्य दर्शकले खचाखच भरिएको खेलमैदानमा भएको रोमाञ्चक अनि शानदार खेलमा रोयल बिजौरीलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै टरिगाउ युवा क्लबले बिजयी सुरुवात गरेको हो ।

टरिगाउकातर्फबाट जर्सी न ७ का खेलाडी अर्जुन नेपालीले खेलको ३० औ मिनेटमा गोल गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाए भने ८६ औ मिनेटमा थप गोल गर्दै दुई सुन्यको जित दिलाउन सफल भए । प्रतियोगिता अन्तरगत आईतवार बिहान सात बजे ज्ञान ज्योती तुलसीपुर र बबई युथ क्लब कचिला भिड्नेछन् ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरेले जानकारी दिएका छन । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउदै तुलसीपुर १२ मा रहेको टरिगाउ खेल मैदानमा जारि प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न । त्यस्तै ब्यक्तिगत बिधातर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिने छ ।