बालाराम खड्का
तुलसीपुर, ८ असोज । सांकेतिक भाषा सम्बन्धी दोभाषे नहुँदा समस्या भएको अपाङ्गता भएका बहिरा विद्यार्थीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा राप्ती बहिरा संघ दाङले गरेको बहिरा शिक्षा तथा स्थानीय निकायको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम बोल्ने सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बहिरा विद्यार्थी अम्बिका डाँगीले सबै ठाउँमा सांकेतिक भाषाको व्यवस्था नहुँदा सञ्चारबाट बञ्चित भइरहेको गुनासो गरिन् । उनले स्थानीय सरकारले हरेक क्षेत्रमा दोभाषेको व्यवस्था गरिदिए समस्याबाट मुक्त हुने बताइन् । ‘विभिन्न ठाउँमा छरिएर रहेका बहिरा बालबालिकाहरू शिक्षाबाट वञ्चित छन्’, उनले भनिन्– ‘बहिरा तथा फरक क्षमता भएका व्यक्तिहरूले प्रयोग गर्ने सांकेतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिलाउन स्थानीय सरकारले पहल गर्नुपर्छ ।’ शिक्षक विजय वलीले स्थानीय तहमा बहिरा शिक्षकको संख्या न्यून रहेको बताउँदै यसका लागि उपमहानगरपालिकाले बहिराहरुका लागि विभिन्न तालिमहरुको व्यवस्था गरिदिनुपर्ने बताए । ‘उपमहानगरपालिकामा पटक–पटक जान्छौ, त्यहाँ हाम्रा कुरा सुन्ने बुझ्ने कोही पनि हुँदैन’, उनले भने ।
राप्ती बहिरा सघंका संस्थापक अध्यक्ष अजयकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पञ्चायतकालमा बहिराहरुको संगठन खोल्दा खोल्न नपाइएको अवस्थाबाट गुज्रँदै अहिलेसम्म आउँदा संघले महत्वपूर्ण भूमिका खेलेको बताए । जिल्लामा रहेको बहिरा संघले यस क्षेत्रका सांकेतिक भाषा बोल्ने बालबालिकाहरुको लागि मात्र नभई राज्यको ध्यानाकर्षण गर्ने, अपागंताका क्षेत्रमा भएका व्यक्तिहरुको पुनःस्थापना गर्न समन्वय गर्नेजस्ता थुप्रै कामहरु प्रशंसनीय रहेको बताए । सबै क्षेत्रका अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्ने, पठन–पाठन, स्वास्थ्य, पुनःस्थापना सँगसँगै समाजमा आर्थिक जीविकोपार्जनसँग जोड्न स्थानीय सरकारले काम गर्ने समेत बताए ।
‘राप्ती बहिरा संघले विद्यार्थीहरुको पठन–पाठनका लागि ठाउँ सारिरहनु पर्दैन’, उनले भने– ‘अब मावि अश्वारामा गुरुयोजना बनाएर व्यवस्थितरुपमा अपागंतामैत्री छात्राबास निर्माणमा लागौ, यसका लागि उपमहानगरपालिका सहयोग गर्न तयार छ ।’ कार्यक्रममा नेपाली कांग्रेस दाङका सदस्य सुरेन्द्र खड्काले स्थानीय सरकारले वितेको ४ वर्षमा अन्य क्षेत्रमा धेरै भूमिका निर्वाह गरे तापनि बहिरा बालबालिकाको शिक्षाको लागि केही व्यवस्थापन गर्न नसकेको भन्दै यसप्रति ध्यान केन्द्रित गर्न आग्रह गरे ।
हामी सबैका लागि सांकेतिक भाषा, समावेशी समाज मूल अभियान, सांकेतिक भाषा हाम्रो पहिचान भन्ने नारासहित सुरु भएको कार्यक्रममा संघका निर्देशक प्रतिमा शर्माले बहिरा तथा अपागंता भएका व्यक्तिका गुनासा धेरै भए पनि पोख्ने ठाउँ कहीँ नभएको बताइन् । ‘बहिरा बालबालिकाहरुको लागि आफ्नै भाषामा छुट्टै बसेर पढ्न पाउने अवस्था छैन’, उनले भनिन् । सो अवसरमा उपमहानगरपालिकाका शिक्षा शाखाका मदन देवकोटा, पत्रकार सर्मिला डिसी, राप्ती बहिरा संघका सचिव डम्बर ओली, शिक्षक लिलाराज पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए । संघका सहसचिव ज्ञानु खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती बहिरा संघ कार्यक्रम अधिकृत देबा डाँगीले गरेकी थिइन् ।