कांग्रेसको चौधौ महाधिवेशन : मत दिने मत माग्ने वरावरी

खेमराज रिजाल

हेमन्तपुर, ८ असोज । नेपाली कांग्रेसको चौधौ महाधिवेशनअन्तर्गत गाउँ÷नगर अधिवेशनको मिति आउन दुई दिन मात्रै बाँकी रहँदा तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुरस्थित बस्नेत बंशावली कुलपूजा समितिको सभाहल बिहीवार विहान खचाखच थियो । करिब दुई सयभन्दा बढी अटाउने सभाहलमा मत दिने मत माग्नेहरु करीब करीब बराबरी थिए ।

तुलसीपुर–१७ हेमन्तपुरको त्यो सभाहलमा तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८ र १९ वडा नेपाली कांग्रेस इकाईले संयुक्तरुपमा महाधिवेशनका प्रत्यासीहरुसँग साक्षात्कार कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको समन्वय तथा सहजीकरण नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१८ इकाईले गरेको थियो । कार्यक्रममा सहजकर्ता तथा नेका तुलसीपुर–१८ इकाईका सभापति वीरेन्द्रकुमार खड्काले सबैलाई परिचय दिँदै आफूले नेपाली कांग्रेसको महाधिवेशनमा इच्छाएको पदमा मत माग्न आग्रह गरेसँगै मत माग्नेहरुको चर्को होडबाजी चलेको थियो ।

उम्मेदवार साक्षात्कार कार्यक्रममा विशेष आकर्षण दुई दिनपछि हुने नगर अधिवेशनमा तुलसीपुर नगर समितिका प्रत्यासीहरु थिए । मत माग्न नेपाली कांग्रेस तुलसीपुर नगर समितिको नेतृत्वका लागि प्रत्यासी सुरेश हमाल नेतृत्वको टिम, अनिल कार्की नेतृत्वको टिम र अर्का टिम नबनाएका सभापतिका प्रत्यासी शोभाकर सापकोटाको टिम । सबैले पालैपालो आफ्नो परिचय दिँदै आयोजक ४ वटै वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचितसँग मत मागेका थिए । केहीले परिचयसहित मन्तव्य समेत दिन थालेपछि आयोजकले परिचय र पदमात्रै बोल्न बाध्य हुनुपरेको थियो । किनकि सबैलाई बोल्न दिएको अवस्थामा कार्यक्रम बिहीवार दिनभर पनि सकिने थिएन ।

मत माग्दै नेपाली कांग्रेस तुलसीपुर नगर समितिको सभापतिका प्रत्यासी सुरेश हमालले अग्रज नेताहरुले देखाएको बाटोमा हिँड्ने र आफूले पाएको मतको सम्मान हुनेगरी कांग्रेसलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे । ‘हामी प्रतिद्वन्द्वी नभएर सहयात्री हौं’, निर्वाचनपछि फेरि एउटै बाटोमा हामी हिँड्ने छौं, प्रत्यासी हमालले भने । उनीसँगै उनको टिमका उपसभापति विनिल केसी, सचिव सुशील वली र विमल पौडेललगायतका सबै प्रत्यासीहरुले पालैपालो परिचयसहित मत मागे ।

अर्को प्यानलको नेतृत्व गरिरहेका अध्यक्षका प्रत्यासी अनिल कार्कीले गुटबन्दीका कारण आफूहरुले भावनात्मक पीडा भोगिरहेको बताउँदै कार्यकर्ता, जनता र नेताको पुलका रुपमा आफ्नो उम्मेदवारी हुने प्रष्ट पारे । उनको टिमका सचिवका प्रत्यासी भोजराज न्यौपानेसहित अन्य पदाधिकारीले पनि पालैपालो मत मागेका थिए । त्यसपछि प्रसंग दशैपछि तय भएको क्षेत्रीय अधिवेशन तथा जिल्ला अधिवेशनतर्फ केन्द्रित भएको थियो ।

साँघुरो बसाइ र खचाखच भीडबीच सम्पन्न कार्यक्रममा सबैभन्दा बढी प्रत्यासीहरु महाधिवेशन प्रतिनिधिकै थिए । कोही खुल्ला त कोही आरक्षित कोटाबाट प्रत्यासी बन्ने उद्घोष गरे । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेर पनि क्षेत्रका हिसावले निर्वाचन क्षेत्र नं. २ को अधिकार क्षेत्र रहेको हेमन्तपुरमा मत माग्न सशरीर उपस्थित नहुने यस क्षेत्रका अग्रज नेताहरुले सहजकर्ता वीरेन्द्र खड्कालाई फोनमा पनि नाम र आफूले आकांक्षा गरेको पदबारे जानकारी गराउन जानकारी गराएका थिए ।

‘आफू सहभागी हुन चाहँदा–चाहँदै पनि राष्ट्रियसभामा बजेटबारे छलफल चलिरहेकाले आउन सकिन, महाधिवेशन प्रतिनिधिको आकांक्षीका रुपमा मलाई प्रस्तुत गरिदिनुहोला’, राष्ट्रियसभा सदस्य तथा महिला नेतृ अनिता देवकोटाको आकांक्षालाई खड्काले प्रस्तुत गरेका थिए । त्यसैगरी अर्का नेता अर्जुन श्रेष्ठले पनि महाधिवेशन प्रतिनिधि र महिला नेतृ सावित्रा रानाले पनि आफ्नो जिल्ला उपसभापतिमा आकांक्षा भएको जनाएको खड्काले जानकारी गराएका थिए ।

रोचक र आकर्षक चुनावी कचहरीमा कांग्रेस दाङका पूर्व सभापतिहरु वीरकेशरी गौतमदेखि घनश्याम रेग्मीसम्म मत माग्न पुगेका थिए, महाधिवेशन प्रतिनिधिका लागि । संविधानसभा सदस्य राजु खनालको पनि त्यही उद्देश्यका लागि कार्यक्रममा उपस्थिति थियो । खगराज पाण्डे, कमलकिशोर घिमिरे, भूपबहादुर डाँगी, बद्रीकुमार खड्का, भरत न्यौपाने, भोजराज पाण्डे, भीमप्रकाश खड्का, श्याम रेग्मी, नदन कुमार शर्मा, कृष्णबहादुर डाँगी, हरि रजौरिया, होमबहादुर सेर्चन लगायतले महाधिवेशन प्रतिनिधिको मत मागिरहँदा हल गुञ्जायमान भइरहन्थ्यो । लाग्थ्यो, सहभागी प्रायः सबैले एकले अर्कासँग मत मागे ।

त्यसैगरी केहीले जिल्ला कार्यसमितिका लागि पनि मत मागेका थिए । युवा नेता हिमबहादुर डाँगीले संघीय क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा गरे । जनप्रतिनिधिको भूमिकामा समेत रहेका युवा नेता राजु आचार्यले जिल्ला सहसचिवको आकांक्षीका रुपमा प्रस्तुत भए । त्यसैगरी लालबहादुर गिरी, विष्णुमणि धिताल, दीपककुमार रेग्मी, दीपक पाण्डे, प्रेमबहादुर बस्नेत, यज्ञबहादुर बस्नेत, दीपक पाण्डे, बमबहादुर डिसी, भागवत आचार्य, श्याम सुवेदी, प्रकाश न्यौपाने, श्याम केसीलगायतले आफूले चाहेको पदमा प्रत्यासी उद्घोष गरे ।

चौधरी समुदायका अगुवाहरुले पनि महाधिवेशन प्रतिनिधिदेखि प्रदेशसम्मको आकांक्षा व्यक्त गरे । गणेश चौधरीले महाधिवेशन प्रतिनिधि, चन्द्र चौधरीले पनि सोही पदमा प्रत्यासी बन्ने चाहना व्यक्त गरे । हिमबहादुर चौधरीको पनि महाधिवेशन प्रतिनिधिकै उद्घोष थियो । दलित कोटामा हरि नेपाली, बाबुराम विश्वकर्मा, खेमराज विश्वकर्मा तथा प्रदेश प्रतिनिधिमा शंकर नेपालीको एक मात्र नाम आयो । जनजाति कोटामा होमबहादुर शेर्चनले महाधिवेशन प्रतिनिधिको आकांक्षा व्यक्त गरेका छन् । नारायणपुरका युवा नेता अभियान बस्नेतले पनि प्रदेशको नेतृत्व गर्ने उद्घोष गरेसँगै अन्य अगुवाहरुले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विमलादेखि बालिकासम्म

महाधिवेशनकै दौरानमा अध्यक्ष पदको जिम्मेवारी उद्घोष नभए पनि आधा आकाश ढाक्ने नारीहरु पनि अन्य पदको नेतृत्व सम्हाल्न भने निकै आतुर देखिएका छन् । अग्रज महिला अधिकारकर्मी तथा राजनीतिमा र सामाजिक क्षेत्रमासमेत क्रियाशील महिला विमला योगीदेखि नेविसंघ, तरुण दल हुँदै जिल्ला कार्यसमितिमा समेत काम गर्दै आएका बालिका लम्सालहरु पनि आकांक्षी बन्ने उद्घोष गरेका छन् ।

चौधौँ महाधिवेशनमा आकांक्षी बन्नेहरुमा महाधिवेशन प्रतिनिधिदेखि प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सदस्य तथा जिल्ला कार्यसमितिको पदाधिकारी समेतका आकांक्षी रहेका छन् । हेमन्तपुरको साक्षात्कार कार्यक्रममा महिला नेतृहरु पुष्पा श्रेष्ठ, गोमा रावत, सुशीला थापा, गीता शाह, मधुरादेवी पाण्डे, लक्ष्मी लम्साल, रेखा केसी, केशरा पोख्रेल, सुनिता पोख्रेल, लिला नेपाली, टिका डाँगी, इन्दिरा नेपाली, कृष्णा रानालगायतले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् । यद्यपि क्षेत्रीय, प्रदेश र जिल्ला अधिवेशन भने दशैपछि हुने गरी कांग्रेस केन्द्रीय कार्यसमितिले महाधिवेशन तालिका परिमार्जन गरेको छ ।