दाङ, ३ असोज । साहित्यकार पदमप्रसाद शर्माको कविता संग्रह उज्यालो पर्खिरहेको क्षितिज बिमोचन गरिएको छ । प्रगतिशील लेखक संघ दाङको आयोजना कविता संग्रहको आइतबार घोराहीमा बिमोचन गरिएको हो ।
प्रगतिशील लेखक संघ दाङ शाखा अध्यक्ष भुवन देवकोटा ‘शरद’ अध्यक्षतामा तथा वरिष्ठ साहित्यकार गिरिराज शर्माको प्रमुख आतिथ्यता एवं अमर गिरीको बिशिष्ट आतिथ्यतामा भएको थियो । पुस्तक बिमोचन कार्यक्रम बोल्ने बक्ताहरुले पुस्तकले दाङको साहित्यिक बिकासमा महत्वपूर्ण योगदान पु¥याउने बताएका थिए । उनीहरुले पुस्तकमा प्रगतिशील चेतना र बिचारले रहेको बताएका थिए । पुस्तकमा केही प्रतीकात्मक शब्द भए पनि समग्रमा सबैले बुझ्ने सरल शब्द, मिठासपूर्ण भाव र भाषा रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार गिरिराज शर्मा, प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष अमर गिरी, प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय उपाध्यक्ष शशिधर भण्डारीलगायतले जनताको अधिकारका लागि निरन्तररुपमा कमल चलाउन आग्रह गरेका थिए । उनीहरुले लेखकहरुको कमल परिवर्तनका पक्षमा माहोल सिर्जना गर्ने गरी चल्नुपर्ने बताएका थिए । पुस्तकको समीक्षा राप्ती शिक्षा क्याम्पसका नेपाली विभाग प्रमुख तथा साहित्यकार चन्द्रबहादुर थापाले गरेका थिए ।
कार्यक्रममा साहित्यकार सुष्मा शर्मा घिमिरे, प्रलेसका पूर्व केन्द्रीय सदस्य घनश्याम परिश्री, बासुदेव गौतम, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, नयाँ युगबोध दैनिकका प्रकाशक प्रताप रेग्मी लगायतले भनाइ राखेका थिए । सर्वोदय पुस्तकालयका उपाध्यक्ष नुमानन्द रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव छबिलाल कोपिलाले गरेका थिए । कार्यक्रमका सहभागीलाई प्रेस काउन्सील नेपालका सदस्य समेत रहेका पुस्तकका प्रकाशक शरद अधिकारीले धन्यावाद ज्ञापन गरेका थिए । चार दशकदेखि निरन्तररुपमा साहित्य र लेखनको क्षेत्रमा सक्रिय शर्माको १५औं कृति हो ।