जक्तबहादुर बस्नेत
दाङ जिल्ला नेपालको राजधानी काठमाडौंदेखि सडक मार्गबाट करिब ४२५ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित छ । दाङ र काठमाडौंको हवाई दूरी भने करिब २८० किलोमिटर पश्चिम दक्षिण मात्र छ । यो जिल्ला साविक राप्ती अञ्चलको सबैभन्दा महत्वपूर्ण आर्थिक, सम्भावना, सामाजिक स्थिति एवं ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणले नेपालकै प्रमुख जिल्लाहरुमध्ये एक जिल्ला हो ।
नेपालको मानचित्रमा ८२०.०२ देखि ८२०.५४ सम्म पूर्वी देशान्तर र २७०.३७ देखि २८०.२९ सम्म उत्तर अक्षांशबीच फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल २,९५५ वर्गमिटर छ । जिल्लामा १० वटा स्थानीय तहमध्ये २ उपमहानगरपालिका, १ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । लुम्बिनी प्रदेशका राजधानी पनि यसै जिल्लाका राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा तय गरिएको । दाङ जिल्ला प्राकृतिक बनोटले सजिएको रमणीय जिल्ला समेत हो । यस जिल्ला विविधताले भरिएको समेत छ । जिल्लाको समृद्ध विकासको लागि विविध विषयको खोजी गर्न आजको मुख्य आवश्यकता भएकाले
संक्षिप्त रुपमा ती वुँदाहरुलाई चित्रण गर्न खोजेको छु ।
१. सिंचाइ
हाम्रो देश कृषिप्रधान देश भएको र त्यसमा पनि दाङ जिल्ला आफैमा उर्वर भूमि भएको हुँदा कृषिको लागि पानी सिंचाइ प्रमुख विषय भएको कारण हामीले हाम्रा छिमेकी जिल्ला सल्यानको सारदा नदी र प्यूठानको खुङ्ग्री खोलाहरुमा बग्ने पानीलाई डाइभर्सन गरेर दाङ उपत्यकामा ल्याउन सकियो भने कृषि सिंचाइ र पिउने पानीको लागि यहाँको आवश्यकतालाई पूर्ति गर्न सकिन्छ । साथै उत्तर, दक्षिणबाट बग्ने खोलाहरुलाई ड्याम बनाई सिंचाइको व्यवस्था मिलाउन सकिन्छ । त्यसको लागि लगानी र योजना बनाएर जानुपर्छ ।
२. कृषि
हामीहरु आत्मनिर्भर हुनको लागि कृषि क्षेत्रमा उत्पादकत्व बढाउनुपर्ने प्रमुख विषय भएको हुँदा जमिनलाई वर्गीकरण गरेर खेती गर्ने व्यस्था मिलाउनुपर्ने देखिन्छ । जस्तै पूर्व भालुवाङदेखि पश्चिम पुरन्धरासम्मको उत्तर भाग जहाँ पहाडी बस्ती छ, त्यहाँको माटो हेरेर अन्नबाली र अन्य फलफूल तथा जडबुटीको खेती गर्ने र जिल्लाको समथर फाँटमा आधुनिक तथा वैज्ञानिक खेती गर्ने प्रणाली लागु गर्नुपर्छ ।
३. जंगल संरक्षण
जंगल हरियो वन नेपालको धन हो । त्यसैले हामीले हाम्रो वन जंगलको संरक्षण गरी राख्नुपर्ने आवश्यक छ । जगलबाट हामीले धेरै चीज प्राप्त गर्न सक्छौँ । चाहे वातावरण सुद्ध राख्नलाई होस् वा जलस्रोत बढाउने विषय होस् वा अन्य आधारभूत आवश्यकता प्राप्त गर्ने सम्बन्धमा होस्, जंगलसँग हाम्रो जीवन गाँसिएकोले यसको संरक्षणमा सबैको दायित्व हुनुपर्छ ।
४. भू–संरक्षण
हाम्रो गाउँ वस्तीको अधिकांश भू–भाग पहाडी भेगको डाँडा, पाखा र खोलाखोल्सामा पर्ने भएको हुँदा उक्त गाउँबस्तीलाई जोगाइराख्नको लागि पनि हामीले भू–संरक्षण विधि अपनाउनु पर्ने हुन्छ । त्यसैले जथाभावी माटो, बालुवा, ढुंगाहरु उत्खनन् नगर्ने गरी रोक लगाउनुपर्ने र त्यसको लागि स्थानीय सरकार गम्भीर बन्न आवश्यक छ ।
५. यातायात
जेसुकै काम गर्न गराउन हामीलाई एक ठाउँबाट अर्को ठाउँमा जान र आउनको लागि यातायात हाम्रो लागि अति आवश्यक पर्छ । यातायातको विकास, विस्तार गर्ने क्रममा यातायात निर्माणका कामहरु सहरमुखी मात्र नभई गाउँ–गाउँका बस्ती–बस्तीहरुमा पुग्ने गरी यसको विकास र विस्तार गर्न आवश्यक छ ।
६. धार्मिक मठ मन्दिर
परापूर्वकालदेखि हाम्रो जीवनमा धार्मिक प्रचलनहरु गर्दै आएका छौँ । हाम्रो दाङ जिल्लाको पनि धेरै पौराणिक मठमन्दिरहरु छन् । जसलाई दैवीय शक्तिको रुपमा मान्दै आएको छ । जस्तै अम्बिेश्वरी मन्दिर अम्बापुर, बाह्रकुने ताल सेवार, पाण्डवेश्वर महादेव धारापानी गोरक्षनाथ मन्दिर चौघेरा, पश्चितिरको चिसापानी, पुरन्धरा छन् । यस्ता थु्रपै मन्दिर गुफाहरु दाङमा पाइन्छन् । यिनको पूर्वाधार विकास, प्रचारप्रसार गर्न सकेमा जिल्लाको गरिमा बढेर नै जानेछ भने पर्यटन प्रबद्र्धनमा सहयोग पुग्नेछ ।
७. संस्कार र संस्कृति
हाम्रो संस्कृति र हाम्रो संस्कार विश्वमा सबैभन्दा सराहनीय छ । संस्कार र संस्कृतिले मानवलाई सिष्ट र अनुशासित बनाउने र आत्मबल बढाउन सहयोगीको भूमिका खेल्ने गर्छ । त्यसैले हाम्रो संस्कृति र संस्कारलाई जोगाइराख्न आवश्यक छ । संस्कृतिको नाममा देखिएको विकृतिलाई हामीले सच्चाउन आवश्यक छ । विदेशी संस्कृतिलाई रोक्दै आफ्नै संस्कृतिलाई बचाएर राख्नसकेमा यसैमा हामी सवैको कल्याण छ ।
८. सडक सञ्जाल
जिल्लाको विकासको लागि अर्को पाटो भनेको सडक सञ्जाल पनि हो । जिल्लामा भएका सडक सञ्जाल आफैमा पर्याप्त छैनन् । भएका पनि भत्केका र खाल्डाखुल्डी परेका छन् । गाउँका सडक सञ्जाल वर्षाको समयमा यातायातका साधनले जोडन सकिँदैन । त्यसकारण समुदायलाई अधिक्तम लाभ हुने गरी सडक सञ्जालको विकास र विस्तार गर्न आवश्यक छ ।
अझै पनि धेरै खोलाहरुमा पुल बन्नसकेका छैनन् । पुलको अभावमा धेरै नागरिकले ज्यान समेत गुमाउने गरेका छन् । भएका पुल र कल्भर्ट समेत जीर्ण भएका छन् । त्यसैगरेर दाङ उपत्यका र देउखुरी उपत्यकामा यातायात सुगमता र आर्थिक एवं औद्योगिक प्रबद्र्धनका लागि चक्रपथ निर्माण गर्न आवश्यक छ । पूर्वाधार र पर्यटन प्रबद्र्धनको लागि सडक सञ्जाल महत्वपूर्ण पाटो हो । त्यसकारण त्यो दिशामा सबै लाग्नुपर्ने भएको छ ।
अन्त्यमा जिल्लाको विकासको लागि माथि उल्लेख गरेका बुँदामा नतिजामुखी तरिकाले काम गर्नसकेको खण्डमा जिल्लाको भविष्य उज्वल छ । मुलुक परिवर्तन भएर गणतन्त्रमा प्रवेश गरेको छ । मुलक संघीय संरचनामा गएको छ । हाम्रा अगाडि तीन तहका सरकार छन् । नागरिकको दैलोमा नै अहिले स्थानीय सरकार छन् । त्यसैगरेर प्रदेश र संघीय सरकार छन् । ‘सम्पन्न जनता, समृद्ध दाङ’को लागि जिल्लाले सबै क्षेत्रको सहयोग र समन्वय खोजेको छ भने नागरिकको खबरदारी पनि त्यत्तिकै खोजेको छ ।
(लेखक जिल्ला समन्वय समिति दाङका सदस्य हुन)