विनोद पोख्रेल
२०७७ साउन १८ गते
हुनत धेरै कुरालाई परिभाषाले समेट्न सकिँदैन तर पनि धेरैले धेरै कुराको परिभाषा खोज्छन् अथवा बनाउँछन् । कतिले त अरुको विचारलाई नै परिभाषा भनेर आफूलाई विद्वान भएको समेत सम्झन्छन् । फेरि आफै कुनै पनि परिभाषा आफैमा पूर्ण हुँदैन पनि तिनीहरु नै भन्छन् । वास्तवमा विषयहरु आफैले परिभाषित गर्न सक्नुपर्छ ।
आफैले परिभाषित गर्दा पनि यो नै सम्पूर्ण हो अथवा अकाट्य हो भन्ने सोच्यो भने त्यो सोच आफैमा त्रुटिपूर्ण, अपांग र कति ठाउँमा गलत नै पनि हुनसक्छ । त्यसकारण म अरुले दिएको परिभाषामा सीमित र सन्तुष्ट हुन पनि सक्दैन । आफ्नै सोच वा भोगाईहरुको आधारमा बनेको परिभाषालाई पनि पूर्ण मान्ने पक्षमा छैन । तर पनि कुनै विषयवस्तु वा भावनालाई बुझ्न परिभाषाले सजिलो पार्छ भन्ने मेरो विश्वास हो । परिभाषाकै बारेमा यति धेरै लेख्न सायद ठीक थिएन । मेरो मनामा उठेको कुरो त रमाइलो भनेको केहो अथवा यसलाई कसरी परिभाषित गर्ने भन्ने हो । केही दिन भयो, हामी परिवारका सबै सँगै छौं ।
दशैँको बेलावाहेक यसरी सँगै बसिँदैन । तर यसपल्ट लकडाउन र पुस्तक विमोचनलगायत अरु केके कुरा मिल्यो, सबै सँगै छौं भन्दा हुन्छ । विक्रम हिजो गएको आज आउँछ । अरु सबै यही छन् । त्यसैले मैले रमाइलो महसुस गरेको छु सायद । कहिलेकाहीँ नाति–नातिनीसँग कराउन, उनले वास्तै नगर्नु, केही दुगुरादुगुर गर्नु, केही काम बिगार्नु, अनि म आफूबाहेकले उनीहरुलाई गाली गर्नु, मलाई लाइने लगाउनु यो सबै यथार्थमा हुँदा पनि हाँसो लाग्छ । रमाइलो लाग्छ र एक पकारका सन्तुष्टि प्राप्त हुन्छ । अनि सोच्छु के रमाइलो भनेको यही आफ्ना बच्चाबच्चीले हास उठाएर गनगन गर्न पठाउनु नै हो त ! त्यस्तो त होइन होला । म तिनीहरुसँग सितिमित्री रिसाउँदैन । आफ्नो वाल्यकाल सम्झन्छु ।
तिनका बाबुहरुको गतिविधिहरु सम्झन्छु अनि तिमीहरुबाट परिपक्वको जस्तो अपेक्षा गर्नु नै गलत सोच हो भन्ने लाग्छ । यिनीहरु अपरिपक्व व्यवहार गर्छन् र त रमाइलो गर्छन्जस्तो लाग्छ । अहिले काम नभएर छोराहरु नजिक पर्दैनन् । यिनीहरु पनि आजभोलिका साधन मोबाइल, टिभी ट्याब, ल्यापटपबाट फुर्सद पाएपछि अझ केही खेल्ने अरु कुरा भए त्यसबाट समेत फुर्सद पाएपछि मात्रै हामीलाई समय दिने हुन् । तर यिनी मससँग भनौ वा हामीसँग छन् भन्ने सोच मात्रैले रमाइलो अनुभव गराउँछ । कहिले काहीँ दिक्क पनि लगाउँछन् तर त्यो मैले अपवादमै राख्ने गरेको छु । त्यसैले आजभोलि म रमाइलोमा छुजस्तो लाग्छ । बरुएक दुई दिनपछि बाहिर बस्नेहरु जाने हुन् ।
काममा जानु नै प¥यो । त्यसपछि अलि सुनो महसुस होला । हुनत त्यसको लागि पनि म मानसिरुप्ले तयार नै छु । तर आजभोलि रमाइले अनुभव गरेको छुभन्दा कत्ति सोच्न वा अलमलिन पर्दैन । यही रमाइलोको अनुभूतिले मलाई आज रमाइलोको परिभाषा के हो भनेर सोच्ने अवस्थामा पु¥यायो । यो स्थिति मात्रै रमाइलो त पक्कै होइन होला । यसका अरु पनि रुप र स्थितिहरु पक्कै होलान् । यो व्यक्तिमा पनि भर पर्छ । मैले जे कुरामा रमाइलो अनुभव गर्छु त्यही कुरामा अरुले रमाइलो अनुभव गर्छ भन्ने कुरामा पनि मेरो हठ छैन । हठ त केही कुरामा पनि छैन ।
मलाई कहिलेकाहीँ बेकारका विषयहरुमा पनि तर्क गर्न मन लाग्छ । यस्ता विषयमा पनि तर्क गर्दा समेत रमाइलो महसुस गरेजस्तो लाग्छ । अनि शंका जाग्छ, कतै तर्क गर्नु नै रमाइलो गर्नु वा रमाइलो हुनु त होइन ? तर अरु धेरै कुराहरु, विषयहरु र परिवेशहरु छन्, जो भोग्दा या जसमा समाहित हुँदा अथवा सहभागी हुँदा पनि रमाइलो लाग्छ । त्यसैले मैले पहिले नै भनेको कुरा अथवा मैले गरेको तर्क उचित जस्तो लाग्छ । परिभाषा विषयबोध गर्नको लागि पहिलो कदम हुनसक्छ तर त्यो पूर्ण कहिल्यै हुँदैन । पूर्णता त भोगाई र परिणामको समिश्रण नै हो ।
२०७७ साउन १९ गते
आजश्रावण शुक्ल पूर्णिमा । चन्द्रमासअनुसार साउनको अन्तिम दिन । यो पूर्णिमाका दिन विहानै खोलामा गएर नुहाउने, त्यो पनि संयुक्तरुपमा नुहाउँदा केही विशेष मन्त्रोच्चारण गरेर एक वर्षभित्र आफूबाट भएका गल्तीको लागि क्षमा माग्दै फेरि त्यस्ता गल्ती नदोहो¥याउने वाचा गर्दै संकल्प गर्ने अनि घरमा वा मन्दिरमा आएर संयुक्तरुपमै रुद्रीसमेत जनै पूजा गर्ने, त्यसपछि पुरानो जनै फालेर नयाँ जनै लगाउने चलन छ । यो पर्व यसो त जनैधारीहरुका लागि मात्रै हो तर पुराना गल्तीप्रति पश्चाताप फेरि गल्ती नदोहो¥याउने वचनबद्धता त सबैको लागि उत्तिकै महत्वपूर्ण कुरो हो ।
आज नुहाउन गएको बेला सामूहिकरुपमा गरिने संकल्पको मूल मर्म यही हो । तर किन यस्तो कुरालाई सीमित बनाइन्छ भन्ने लाग्छ मलाई । सबैलाई राम्रो कामको लागि प्रतिबद्धता गर्न पनि नदिने नियम किन बन्यो होला ? कहिलेकाहीँ सोच्छु यो संस्कृत भाषा अलि अप्ठ्यारो छ सायद । सर्रभन्दा पनि धेरै शब्दहरु जोडिएको ठाउँमा पढ्न अलि गाह्रो हुन्छ । यस्तै गाह्रो भए पनि गर्नैपर्छ भन्नेहरुले गरे । जसले गाह्रो माने अथवा सबै वास्तविकता बुझ्ने प्रयास गरे, तिनीहरुले छोडे । यो मलाई लागेको मात्रै हो । यसको पुष्टिका लागि मसँग न कुनै प्रमाण छ न कुनै तर्क ।
यस्तै कारण अर्को पनि हो कि भनेर फेरि भन्न पनि सक्छ । किनभने संस्कृत भाषाबारे म आफै पनि कति पो जानकार हुँ र ? केही श्लोकहरु असाध्य मीठा लाग्छन् । अर्थ बुझ्दै नबुझेका केही र थोरै अर्थ बुझेका केही श्लोकहरु कष्ठस्थ पनि छन् । भाषालाई पनि सरल र संस्कारलाई पनि सहज बनाउने प्रयासतिर कोही लागेन कि भन्ने चिन्ता पनि लाग्छ, कहिलेकाहीँ । त्यसो गरेको भए धेरैको सहभागिता गराउन सकिन्थ्योजस्तो लाग्छ । हुन त सबै कुरा समयले निर्णय गर्ने हो । मैले संस्कृत पृष्ठभूमि भएकाहरुको अंग्रेजी मोह पनि देखेको, सुनेको छु ।
त्यस्तै संस्कृत पृष्ठभूमिका कति अंग्रेजी भाषाको विद्वानहरु पनि देखेको छु । आफू सिक्ने प्रयास नै नगर्ने अनि लि अप्ठ्यारो छ भन्ने मानसिक रुपले अल्छीहरु पनि बढी भेटिन्छन् । कतै म आफै पनि त्यही वर्गमा पर्छु किजस्तो पनि लाग्छ तर पनि संस्कारको प्रभाव होला सायद संस्कृत भाषाप्रति सम्मान भने छ । नढाटेर भन्ने हो भने आफ्नो मातृभाषापछि आदर गर्ने भाषा संस्कृत नै हो । हुन त मैले जानेको भन्ने हो भने थारु, हिन्दी, अंग्रेजी भाषा पहिले आउँछन् । तर आदरको कुरा गर्दा संस्कृत अगाडि आउँछ । यसैकारणले हो कि नेपाली साहित्य रचनामा संसकृत प्रभाव भएकाहरुसँग खेल्ने शब्द अथवा रोज्ने शब्द धेरै हुन्छन्जस्तो लाग्छ ।
एकजना संस्कृतका विद्वानले एकपल्ट १०÷१२ वटा संस्कृत शब्द पानीको लागि भन्नुभयो र अन्तिममा वाटर भन्नुभयो । उहाँले संस्कृतमा यति धेरै शब्द भएको र अंग्रेजीमा पानीको लागि त्यही एउटा शब्द भएको दावी गर्नुभयो । मेरो पनि चित्त बुझ्यो । अंग्रेजीलगायत धेरै भाषामा यतिका पर्यायवाची हुँदैनन्जस्तो लाग्छ । एक भोल्ट बिहानीलाई भोरको प्रयोग गरियो । मैले यो त हिन्दी भाषाको शब्द प¥यो भने तर केही संस्कृत पृष्ठभूमिकाहरुले त्यो त संस्कृत शब्द हो भने । त्यहाँ पनि संस्कृतको क्षेत्र अलि बढी भएको जस्तो लाग्यो ।
एउटा कुरा भने भन्न मन लाग्यो, मैले सम्मान पनि संस्कृत पढाउने गुरुहरुले बढी पाउँछन् जस्तो मान्थे तर आजभोलि आफ्नै भोगाईको भरमा भन्दा जे पढाए पनि पढाउने गुरु वा शिक्षकप्रतिको सम्मान प्रशस्त नै हुन्छजस्तो लाग्छ । मैले आफ्ना गुरुहरुलाई पनि स–सम्मान सम्झन्छु र मैले पढाएकामध्ये केहीले मलाई जे जति सम्मान दिन्छन् त्यसले म भावुक पनि धेरैपल्ट भएको छु ।