जिल्लाको विकासका लागि साझा एजेण्डा आवश्यक

  •   
  •  

पाँचौ जिल्ला सभा :

दाङ, १ असोज । जिल्लाको समग्र विकासका लागि साझा धारणा र एजेण्डा बनाउनुपर्ने पाँचौ जिल्ला सभामा बोल्ने बक्ताहरुले जोड दिएका छन् । ‘सम्पन्न जनता, समृद्ध दाङ’ भन्ने नाराका साथ भएको जिल्ला सभामा बोल्ने बक्ताहरुले जिल्लाको समृद्धिसँगै जनतालाई सम्पन्न बनाउनका लागि स्थानीय तह, रानजीतिक दल, संघसस्थाहरुका बीचमा विकासका साझा एजेण्डा बनाउनुपर्ने बताएका छन् ।

उनीहरुले केन्द्र सरकार, प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँगै स्थानीय तह, राजनीतिक दल, संघसस्थालाई एक ठाउँमा ल्याएर धारणासँगै विकासका योजनाहरु बनाउन भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी उनीहरुले स्थानीय तहहरुले प्रभावकारीरुपमा विकास निर्माणका काम गरे पनि संघीय तथा प्रदेश सरकारका योजनाहरु अनुगमन नहुँदा विकास निर्माणका कार्यहरु अलपत्र पर्ने र जनताले दुःख पाउने अवस्था जिल्लाका विभिन्न ठाउँमा रहेको भन्दै त्यस्ता योजनाहरुलाई समयमै काम पूरा गराउनका लागि जिल्ला समन्वय समितिले भूमिका खेल्नुपर्ने बताएका थिए ।

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही नगरपालिका नगर प्रमुख नरुलाल चौधरीले जिल्लाको समग्र विकासलाई ध्यान राखेर जिल्ला समन्वय समिति अघि बढ्नुपर्ने बताएका थिए । उनले जिल्लाको आर्थिक बिकाससँगै जनताको समृद्धिसँग जोडेर विकास गर्नुपर्ने बताए । नगर प्रमुख चौधरीले त्यहीअनुसार घोराही उपमहानगरपालिकाले आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्य, सडक, कृषिलगायतका विभिन्न क्षेत्रमा विकास गरिरहेको बताएका थिए ।

उनले पाँच बर्षको अवधिमा जिल्लामा धेरै विकास र जनता समृद्ध भएको बताए । ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि जिल्लामा धेरै विकास भएको छ । जनता पनि समृद्ध भएका छन’,नगर प्रमुख चौधरीले भने,‘जनता समृद्धि भएको आभाव स्थानीय सरकारले गरेको छ ।’ उनले जनप्रतिनिधिहरु जनताको समृद्धिलाई ध्यान राखेर अघि बढ्ने भन्दै त्यसका लागि आफूहरुले आफ्नो क्षेत्राधिकार बाहिर गएर पनि विकास निर्माणका कामहरु गर्ने गरेको बताए ।

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले जनताको पक्षमा विकास निर्माणका काम गर्ने जनप्रतिनिधिको मुल्यांकन जनताले गर्ने बताए थिए । ‘जनप्रतिनिधिको काम आफ्नो क्षेत्रको विकास गर्ने हो’, उनले भने– ‘जनप्रतिनिधिले विकास गरेका छौँ वा गरेका छैनौँ त्यो जनताले मूल्यांकन गर्नेछन् ।’ उनले जिल्ला समन्वय समितिले जिल्लाको विकासका लागि समन्वय गर्ने काम भएको बताए । जिल्लाका सबै तहलाई एक ठाउँमा ल्याएर विकास कार्यक्रम बनाउनेदेखि अनुगमनलाई समेत बढाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोेल्ने अन्य बक्ताहरुले बिकासका एजेण्डाहरु बनाउँदा वास्तविक जनताको इच्छा र चाहनालाई समेट्ने गरी योजनाहरु बनाउनुपर्नेमा जोड दिएका थिए । जिल्लाका दशवटै पालिकाहरुको अबस्था पहिचान गरेर शिक्षा, स्वास्थ, कृषि, सडक र रोजगारलाई प्राथमिकतामा राखेर बिकासलाई अघि बढाउन आग्रह गरेका थिए । उनीहरुले भौतिक र नीतिगत कुरालाई ध्यानमा राखेर बिकासमा लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चार बर्षको अवधिमा अनुगमन, समन्वय र विकासमा सन्तुलनको कामलाई प्राथमिकतामा राखेर सम्पादनको काम गरिहरकोे बताएका थिए । साथै उनले विधिको शासन, पारदर्शिता, जवाफदेहितालगायतका सुशासनका मूल्य र मान्यतालाई आधार बनाएर विकास र समृद्ध जिल्ला बनाउनका लागि योजनाहरुको तय गरिएको समेत बताए । उनले विकास र व्यवस्थापनलाई सुदृढ, गुणस्तरीय र जनमुखी बनाउनका लािग आवश्यक अनुगमन, समन्वय र सन्तुलनलाई प्रभावकारी बनाउने नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

जिल्लासभामा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष यमुना घर्ती, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, नेपाली कांग्रेसका उपसभापति कमानसिंह भारती, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, राष्ट्रिय जनमोर्चाका सुरेश पोख्रेल, दाङ सल्लाहकार परिषद् सदस्य माधव गौतम, नागरिक समाज दाङका सदस्य श्रीमन न्यौपाने, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बसुन्धरा गौतमलगायतले शुभकामना दिएका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक इन्द्र डिसीले गरेका थिए ।