महाधिवेशन डायरी : हार व्यहोर्ने हस्तीहरु

  •   
  •  

खेमराज रिजाल

दाङ, २३ भदौ । ‘दुईजना हाल कार्यरत शिक्षक र एकजना नेसंविका कर्मचारीसँग अपवित्र गठजोड गरी मेरो राजनीतिक यात्रा रोक्न सफल इकाई सभापति लालबहादुर गिरीलाई हार्दिक शुभकामना ।’ तुलसीपुर उपमहानगरपालिका–१७ का क्षेत्रीय प्रतिनिधिका प्रत्यासी उम्मेदवार कुमुदकुमार शर्माको फेसबुक स्ट्याटस थियो, यो । दुई दशकभन्दा बढी समयदेखि निरन्तर क्षेत्रीय प्रतिनिधि रहँदै आएका नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव शर्माको यो अभिव्यक्तिले राजनीतिक दीर्घामा निकै चर्चा पायो । यद्यपि निर्वाचन परिणाम स्वीकार गर्नुको कुनै विकल्प छैन ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य गोविन्द रेग्मी भर्खरै सम्पन्न नेपाली कांग्रेसको अधिवेशनमा लमही नगरपालिका—१ बाट क्षेत्रीय प्रतिनिधिमा चयन हुन सकेनन् । योगदानका हिसावले उनी यो महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिबाटै बाहिरिनुपर्ने अवस्था नभएको बताइन्छ । उमेरका हिसावले पनि राजनीतिक रिटायर्डको अवस्थामा थिएनन् । साथ दिएन व्यक्तिवादी निषेधको राजनीतिले । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा यसअघि पूर्व क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका मदन रसिक पनि क्षेत्रीय प्रतिनिधिमै व्लक भैदिँदा राजनीतिक दीर्घामा चर्चा पायो । उनी शान्तिनगर गाउँपालिका–४ को बुथबाट बाहिरिए ।

हारमा यद्यपि उनले केही प्रतिक्रिया दिएका छैनन् । स्थानीयहरुले भने तल्लो तहबाटै निषेध गर्ने नियोजित खेल भनेका छन् । ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ का जिउँदो शहीदका रुपमा चिनिने कृष्ण गिरीलाई पनि आवश्यकता जति क्रियाशील सदस्यहरुले स्वीकार गरेनन् । लोकतान्त्रिक शान्तिपूर्ण जनआन्दोलनमा लागिरहँदा उनले सेनाको गोली खान बाध्य हुनुप¥यो तर परिणाम घोराही उपमहानगरपालिका—५ धर्नाका क्रियाशील सदस्यहरुले उनको राजनीतिक योगदानलाई फुलिस्टप लगाइदिए, यो महाधिवेशनका लागि । गिरी नेपाली कांग्रेस दाङकै पूर्व जिल्ला सदस्यको भूमिकासमेत निर्वाह गरेका थिए ।

घोराही उपमहानगरपालिका–५ कै दलित नेता खड्कबहादुर विश्वकर्माले पनि अधिवेशनमा पराजय व्यहोर्नुपर्यो । नेपाल दलित संघका केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका नेता विश्वकर्मालाई उनको कर्मथलो धर्नाका क्रियाशील सदस्यहरुले विश्वास गरिदिएनन् । धर्नाकै अर्का महिला हस्ती लोका विकले पनि निर्वाचन आफ्नो पक्षमा लिन सकिनन् । जिल्ला समन्वय समिति दाङमा सदस्यको जिम्मेवारीमा रहेकी लोकाको राजनीतिक यात्रा यो महाधिवेशनका लागि पहिलो स्टेपमै ब्रेक भयो । रोचक निर्वाचन त तुलसीपुर उपमहानगरपालिका—११ मा भयो । स्थानीय निर्वाचनको स्पष्ट झल्को दिने वडा अधिवेशनमा कांग्रेसको संस्थापन पक्ष र इतर पक्षको ग्रुपिङ भएको थिएन । दुई प्यानलमा भएको निर्वाचनमा दुवै स्व. खुमबहादुर लिगेसीका राजनीतिक व्यक्तित्वको जोडबलमा भयो । स्थानीय कांग्रेस कार्यकर्ताहरुले सो वडाको निर्वाचन प्यानललाई लिटर र मिटरको समूहका रुपमा व्यक्त गर्थे ।

अधिवेशनको निर्वाचन परिणाममा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्यसमेत रहेका तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले एक मतले हार व्यहोर्न विवश भए । एकजना विद्यार्थी नेतासँग समान मत पाएका बस्नेतको पुनः गणनाका क्रममा एक मत कम आयो । डिल्लीबहादुर बस्नेतको राजनीतिक यात्रा वडा तहमै बिराम हुनु कांग्रेसका लागि उपयुक्त थियो वा थिएन, त्यसको जिम्मेवारी त त्यहीकै क्रियाशील सदस्य र नेतृत्वले लिनुपर्ने देखिएको छ ।

पत्रकारिताको इतिहास बोकेका युवा नेता तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष मुरारीप्रसाद शर्मा लमही नगरपालिका–१ मा सम्पन्न वडा अधिवेशनमा हार व्यहोर्नुप¥यो । उनको राजनीतिक योगदानको यात्रा अब कता जाने भन्ने देउखुरीमै चर्चाको विषय बनेको छ । नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य टेकबहादुर डाँगीको पनि चौधौं महाधिवेशनमा राजनीतिक यात्रा बिराम भयो । घोराही उपमहानगरपालिका–११ को अधिवेशनमै उनी क्षेत्रीय प्रतिनिधिमा आउन सकेनन् ।

त्यसो त अरु थुप्रै जिल्लास्तरका नेताहरु बुथबाटै बाहिरिएका छन् । यद्यपि महाधिवेशन चलिरहँदा कम्युनिष्ट अगुवाहरुले भने नेपाली कांग्रेसमा टिके अभ्यास नरहेकाले यसलाई नितान्त लोकतान्त्रिक अभ्यास भनेका छन् । तर समग्रमा यो अभ्यासमा पनि केही विकृति र विसंगतिहरु देखिएको कांग्रेस अगुवाहरुले बताएका छन् । क्रियाशील सदस्यता वितरणदेखि नै व्यक्ति हावी हुने प्रवृत्तिका कारण यो परिणाम देखिएको नेताहरुको बुझाइ छ । ‘यो कांग्रेसको संस्थापन र इतर पक्षको लडाइँका कारण भएको होइन, व्यक्तिवादी राजनीति हावी हुँदा आउनुपर्ने केही राजनीतिक व्यक्तिहरु पनि रोकिन बाध्य भएका छन्’, नेपाली कांग्रेस दाङका नेता सुरेन्द्र खड्काले भने ।

अर्का कांग्रेस नेता यज्ञ नारायण आचार्यले पनि यसलाई विकृत राजनीति र अन्तरद्वन्द्वको परिणाम भएको अभिव्यक्ति दिएका छन् । यसले आसन्न आम निर्वाचनलाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले नेतृत्व वर्ग विशेष गम्भीर हुनुपर्ने पनि उनको आग्रह थियो । पार्टीमा क्रियाशील सदस्यता नै अन्धाधुन्ध तरिकाले वितरण गरिएकाले पनि परिणाम सोचेभन्दा फरक आउन सक्ने धारणा आचार्यको थियो । कांग्रेस केन्द्रीय समितिले जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता वितरणमा संलग्न नगराउने व्यवस्था गरेका कारण पनि क्षेत्रीय सभापति र स्थानीय तहका इकाई सभापतिको मनोमानीमा क्रियाशील सदस्यता वितरण भएको पनि देखिएको नेताहरु स्वयंले बताएका छन् । उनीहरुले अर्को महाधिवेशनमा क्रियाशील सदस्यता वितरण प्रक्रियालाई पारदर्शी र न्यायसम्मत बनाउन पनि उच्च नेतृत्वलाई आग्रह गरेका छन् ।

यिनीहरु स्वतः क्षेत्रीय प्रतिनिधिको हैसियतमा

यसैबीच नेपाली कांग्रेसको विधानले तल उल्लिखित व्यक्तिहरुलाई तल्लो बुधबाट निर्वाचित हुनुनपर्ने व्यवस्था गरेको छ । महाधिवेशनमा स्थानीय पालिकादेखि प्रदेश र केन्द्रीय महाधिवेशनमा सहभागिताका लागि नेपाली कांग्रेस बहालवाला केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा संविधानसभाका निर्वाचित, पराजित तथा बन्दसुचिका नेताहरु, क्षेत्रीय सभापतिहरु र जिल्ला सभापतिलाई पार्टीको कुनै पनि माथिल्लो तहमा पुग्नका लागि बुथबाट निर्वाचित हुनुपर्ने छैन ।

निर्वाचित हुनु नपर्ने नेताहरुमा नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, पार्वती डिसी चौधरी, योगेन्द्र चौधरी, शिला खड्का, आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, जिल्ला सभापति कीर्तिबहादुर खड्का, सांसदहरु तथा प्रत्यासी सुशीला चौधरी, जानकीलाल बस्नेत, प्रदीप थापा, अर्जुनकुमार श्रेष्ठ, भरत न्यौपाने, अनिता देवकोटा, राजु खनाल, विमला नेपाली, बुद्धिराम भण्डारी, शंकर गिरी, केशव आचार्य, डिल्लीबहादुर चौधरी, महादेव शाह (बन्दसूचि) क्षेत्रीय सभापति भेषराज पाण्डे, भूपबहादुर डाँगी र जगत खड्का रहेका छन् ।