लमहीमा दिसाजन्य फोहर व्यवस्थापनको काम सुरु हुँदै

  •   
  •  

अमरराज आचार्य

दाङ, २१ भदौ । दिसाजन्य फोहर व्यवस्थापनका लागि लमही नगरपालिकामा भौतिक निर्माणको काम अगाडि बढाइने भएको छ । यसका लागि ठेक्का गरेर सम्झौता भइसकेको र केही दिनमा काम समेत सुरु हुने भएको छ । वर्षातको कारण काम सुरु हुन समस्या भएको लमही नगरपालिकाले जनाएको छ । नेपाल नगरपालिका संघको सहकार्यमा यसप्रकारको परियोजना सुरु गरिएको परियोजनाका फोकल पर्शन गायत्रीकुमारी थापाले जानकारी दिइन् । यसका लागि लमही नगरपालिका र नेपाल नगरपालिका संघबीच २०७५ पुस १० मा सम्झौता भएको थियो । सम्झौता भएको लामो समय भए पनि कोभिड तथा प्राविधिक समस्याका कारणले ढिलो मात्र काम सुरु हुनथालेको हो ।

‘विभिन्न समस्याका कारण काममा ढिलाइ भएको हो’ उनले भनिन् । नगरपालिका संघको सहकार्यमा देशभरका ५ वटा नगपालिका यस प्रकारको परियोजना लागू गर्नका लागि छनोट गरिएको थियो । नेपाल नगरपालिका संघको सहकार्यमा नगरमा सहरी सरसफाईसम्बन्धीको कार्य नमुना परीक्षणको रूपमा अगाडि बढाइएको हो । लमही नगरपालिका, लहान नगरपालिका, धुलिखेल नगरपालिका, वालिङ नगरपालिका, भीमदत्त नगरपालिकामा यसप्रकारको परियोजना सुरु गर्नका लागि छनोट गरिएकोे थियो ।

परियोजनाअन्तर्गत लमही नगरपालिका वडा नं ३ टिकुलीगढमा भौतिक संरचना निर्माण गरिने भएको छ । यस अघि निर्माण गर्न भनिएको स्थानमा समस्या उत्पन्न भएपछि आर्काे स्थान खोजी गरिएको थियो । अहिले निर्माण गर्न थालिएको स्थानमा १५ कठ्ठा जग्गामा संरचना निर्माण गरिने भएको छ । स्थान छनोट भइसकेको र ठेक्का सम्झौता समेत भइसकेकाले अब छिट्टै निर्माण सम्पन्न हुने नगरपालिकाको अपेक्षा रहेको छ । केही समय अघि ठेक्का सम्झौता भएको र आउँदो पुस मसान्तसम्म सकिने गरी सम्भौता भएको फोकल पर्सन थापाले बताइन् ।

लगातारको वर्षातका कारण पानी जम्ने समस्या रहेकाले काम सुरु हुन नसकेको उनले बताइन् । ‘वर्षात कम भए लगत्तै काम सुरु हुनेछ’–उनले भनिन् । भौतिक निर्माणका लागि नगरपालिकाले २ करोड समेत विनियोजन गरेको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट काम हुने थापाकोे भनाइ रहेको छ । डिपिआर निर्माण तथा पोलिसी निर्माणमा नेपाल नगरपालिका संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफै गर्नुपर्ने छ । ‘नगरपालिका संघले प्राविधिक सहयोग प्रदान गरेको छ, भौतिक संरचना निर्माण लमही नगरपालिकाले नै गर्नेछ’–थापाले भनिन् ।

परियोजनाले दिसाजन्य लेदो व्यवस्थापन गर्ने काम गरिने थापाको भनाइ छ । यस प्रकारको परियोजना सुरु भएपछि शौचालयको सेप्टीटेङ्कीबाट निकालेर बाहिर फालिने फोहरलाई व्यवस्थापन गर्न सहज हुने भएको छ । यसले वातावरण सफा राख्न समेत सहयोग पुग्ने बताइएको छ । यसका लागि प्लान्ट निर्माण गरेर त्यसमा सेप्टी टेङ्कीबाट निकालिएको फोहर राखेर त्यसलाई ठोसमा परिणत गरिनेछ । जसलाई कम्पोष्ट मल बनाएर विक्री समेत गरिने उनले बताइन् । ‘जसले आम्दानीको समेत समेत बन्ने छ’ थापाले भनिन् । यस परियोजना सुरु भएमा फोहर व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

‘अहिले हरेक स्थानीय तहहरूलाई फोहर व्यवस्थानमा धेरै समस्या भोग्दै आएका छन्’–फोकल पर्सन थापाले भनिन् । पूर्व–पश्चिम राजमार्ग भएकाले पनि लमहीमा फोहर व्यवस्थापनमा समस्या हुने गरेको छ । यो निर्माण भएमा फोहर व्यवस्थापनमा केही मात्रामा भए पनि सहजता ल्याउन सकिने बताइएको छ । अहिले घर–घरबाट शौचालयको सेप्टी टेङ्कीबाट ल्याइएको दिसाजन्य फोहर ल्यानफिड साइडमा व्यवस्थापन गरिने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले निजी क्षेत्रको सहकार्यमा दिसाजन्य फोहर व्यवस्थापन गर्दै आएको बताइएको छ ।