२४ बर्षपछि गोरक्षरत्ननाथ–पाटेश्वरीदेवी पदयात्रा प्रारम्भ
दाङ, ७ चैत । दाङको चौघेरामा रहेको गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठबाट भारतको तुलसीपुरमा रहेको पाटेश्वरीदेवी मन्दिरसम्मको पदयात्रा २४ बर्षपछि सुरु भएको छ । सरकार र तत्कालिन माओवादी सशस्त्र आन्दोलनका कारण २०५२ सालमा बन्द भएको धार्मिक पदयात्रा २४ बर्षपछि पुन सुरु गरिएको हो ।
चैत्र नवरात्रका अवसरमा भारतको बल्लरामपुर जिल्लाको तुलसीपुरमा रहेको पाटेश्वरीदेवी मन्दिरमा लाग्ने मेलाका लागि दाङको घोराहीमा रहेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठबाट पात्रदेवता(शिवस्वरुप) देउता लगेर जाने परम्परा रहेको छ । ‘चैत्र नवरात्रका अवसरमा भारतको पाटेश्वरीदेवीको मन्दिरमा लाग्ने मेलामा पूजापाठका लागि दाङमा रहेको सिद्धरत्ननाथ मठ चौघेराबाट देवता लिएर जाने परम्परा रहेको छ’, मन्दिर व्यवस्थापन समितिका सचिव हिरानाथ योगीले भने,‘यो परम्परा द्धन्द्धका कारण विगतमा स्थगित गरिएको थियो, यो बर्षदेखि पुन सुरु गरिएको छ ।’ धार्मिक यात्रामा गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठका मठाधिश सन्तोषनाथ योगी, पुजारी रामनाथ योगी, भण्डारी लक्ष्मीनाथ योगी, महन्त शुरतनाथ योगीलगायतको ४० जनाको टोली बुधवार राती १२ चौघेराबाट तुलसीपुरका लागि प्रस्थान गरेको मन्दिर व्यवस्थापन समितिका सचिव योगीले जानकारी दिएका छन ।
करिव ७७ किलोमिटर दुरी पैदल यात्रा गर्ने धार्मिक परम्परा अनुसार उक्त टोली घोराहीबाट लमही, गढवा, कोइलावास हुदै तुलसीपुरसम्म पुग्नेछ । बुधवार राती चौघेराबाट हिडेको धार्मिक यात्राको टोली विहिवार लमही नगरपालिकाको देउपुरमा रहेको सिद्धरत्नानाथमा पुगेको छ । उक्त मन्दिरमा पाँच दिनसम्म बसेर पुजाआजा गर्नेछ भने पाँचौ दिनको राती त्यहाँबाट हिडेर गढवा गाउँपालिका–५ स्थीत जमुनीबासमा रहेको शिवालयमा पुग्नेछ । त्यहाँ एक दिन बास बस्ने छ । त्यहाँबाट गढवा गाउँपालिका–८ को काइलावासमा रहेको कालिकादेवीको मन्दिरमा गैपुग्ने कार्यक्रम रहेको सचिव योगीले जानकारी दिए ।
त्यसदिन कालिकादेवी मन्दिरमा पुजापाठ गरेपछि राती १२ बजे हिडेर भारतको सिमा प्रवेश गर्ने परम्परा रहेको छ । भारत प्रवेश गरेपछि उक्त टोली भारतको पाटेश्वरी मन्दिरको कोठार जनकपुर गाउँमा रहेको आश्रममा दुई दिन दिन बस्नेछ । दोश्रो दिनको राती दुई बजे त्यहाँबाट हिडेपछि उक्त धार्मिक टोली तुलसीपुरमा रहेको बैष्णव संप्रदायको मन्दिरमा बिश्राम लिनेछ । दाङबाट पुगेको टोलीलाई स्वागतको लागि उक्त आश्रममा भारतको पाटेश्वरी मन्दिरको टोली आउनेछ । उताबाट आएको टोलीले स्वागत गरेपछि तुलसीपुर बजारमा झाक्रिसहित प्रदर्शन गर्दै दाङको टोलीलाई पाटेश्वरी मन्दिर प्रवेश गराउने धार्मिक परम्परा रहेको छ ।
किन गरियो पदयात्रा ?
विस ८०९ सालतिर दाङको चौघेराका राजा रत्नपरिक्षकले गोरखनाथको दर्शन पाई गोरखनाथबाट दिक्षित भएपछि गोरखनाथबाट प्रदान गरिएको पात्रदेवता (शिवस्वरुप) लिई योग धर्म प्रचारका लागि निष्किएका थिए । त्यस क्रममा उनी नेपालका विभिन्न ठाउँसँगै भारत, पाकिस्थान, कावुल, कन्धारलगायतको यात्रा गरि पुन दाङ फर्किने क्रममा भारतको पाटेश्वरी मन्दिर बास बसेका थिए । मन्दिर जीर्ण अवस्थामा रहेको देखेपछि राजा रत्नपरिक्षकले मन्दिरको जीर्णउद्धार गरेर भगवतीको उपासना गरेको विश्वास गरिन्छ । त्यसपछि उनी दाङको चौघेरामा आश्रम खडा गरि पात्र देवताको दैनिक पुजा गर्ने र पात्रदेवताको पूजा गरेपछि पुन ः फेरी पाटन पुगेर पाटेश्वरीदेवीको पुजा गर्ने गरेका थिए । दैनिक पुजा गरेपछि पाटेश्वरीदेवी प्रशन्न भएर उनले रत्नपरिक्षकलाई दैनिक पुजाका लागि तिमी सधै आउनु पर्दैन चैत्रको नवरात्रका दिन मात्र आई मेरो पुजा आराधना गरेपछि म प्रशन्न हुने छु भनेपछि विस ८०९ सालदेखि चौघेराबाट हरेक भारतको तुलसीपुरमा रहेको पाटेश्वरी मन्दिरमा साधुसन्तहरु जाने प्रचलन रहेको छ । उक्त टोली चैत्रको २७ गते पुजापाठपछि दाङ फर्किनेछ ।
