एलो जोनमा मात्रै स्कुल खुल्ने

  •   
  •  

लिलाधर वली
दाङ, २० भदौ । सरकारले स्मार्ट लकडाउन सुरु गरेपछि विस्तारै लकडाउनको स्वरुप परिवर्तन हुँदै आएको छ । मुलुकका केही पालिकाहरुमा कोरोना भाइरसको संक्रमण सहज भएसँगै सरकारले केही सूचकको व्याख्या र विश्लेषणका आधारमा विद्यालयहरु खुल्न सक्ने जनाएको छ । यसका लागि सम्बन्धित पालिका कम्तीमा पनि एलो जोनमा पर्न आवश्यक हुनेछ । तर पछिल्लो दुई दिनको दाङमा संक्रमणका कारण मृत्यु हुनेको तथ्यांकले भने अझै केही दिन निजी तथा सामुदायिक विद्यालयहरुमा भौतिक उपस्थितिबीच पठन–पाठन हुन सक्ने छैन ।

‘स्मार्ट लकडाउनमा केही निश्चित मापदण्ड र संक्रमणका सूचकहरु व्यवस्था गरिएका छन्, सूचकका आधारमा वर्गीकरण गर्दा एलो जोनमा परेमा मात्र सम्बन्धित पालिकाहरुले प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर विद्यालयहरु भौतिक उपस्थितिबीच सञ्चालन गर्न सक्नेछन्’, जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने । संक्रमणको दर, संक्रमणमा साप्ताहिकरुपमा देखिने उचार–चढाव, साप्ताहिकरुपमा नयाँ संक्रमणको दर, अस्पतालमा भर्ना हुने दर, मृत्युदर तथा हप्ताभरीको औषत संक्रमणको प्रतिशतको मूल्यांकनका आधारमा मात्रै पालिकाहरुले विद्यालयहरु भौतिकरुपमा सञ्चालन गर्न पाउने पनि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए ।

जोखिमको मापन अनुसार रेडजोनमा हार्ड लकडाउन, एम्बर जोनमा मिक्स लकडाउन, एलो जोनमा सफ्ट लकडाउन तथा ग्रिनजोनमा मिनिमम लकडाउन गर्ने नेपाल सरकारको स्पष्ट निर्देशिका छ । हार्ड लकडाउन र एम्बर लकडाउनमा विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन हुनसक्ने छैन । एलो जोनमा परेको अवस्थामा एक तिहाई विद्यार्थीलाई एउटा सिप्mटमा राखेर भौतिक उपस्थितिबीच पठन–पाठन गर्न सकिनेछ भने ग्रिनजोनमा परेको अवस्थामा मात्र विद्यालयहरु पूर्णरुपमा पूर्ववतः अवस्थामा सञ्चालन हुन पाउनेछन् ।

एलो जोनमा पर्नका लागि संक्रमणको दर ५ प्रतिशतभन्दा कम हुनुपर्ने छ । गतसाता र यो साताको संक्रमण दरको फरक १ प्रतिशतमात्र हुनुपर्ने छ । एक सातामा सक्रिय संक्रमितको संख्या १ सयभन्दा तल हुनुपर्ने छ भने मृत्युदर १ प्रतिशतभन्दा कम हुनुपर्ने छ । साथै अस्पताल भर्ना ३० प्रतिशत भन्दा कम हुनुपर्ने छ । यी सबै सूचकको मापन सम्बन्धित पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुले गर्ने छन् । उनीहरुले तयार पारेको प्रतिवेदनलाई जनस्वास्थ्य कार्यालयले थप पुष्टि गर्नेछ । स्थानीय पालिका र जनस्वास्थ्य कार्यालयले दिएको प्रतिवेदनका आधारमा सम्बन्धित पालिकाको शिक्षा समितिले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा अनुमोदन भएपछि मात्र विद्यालयहरुमा भौतिक उपस्थितिबीच पठन–पाठन हुनेछ ।

शुक्रवार घोराहीमा बसेको बैठकले कम जोखिम भएका पालिकाहरुमा स्मार्ट लकडाउनको निर्देशकाअनुसार स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो । त्यसका लागि जिल्लाका दशवटै पालिकाहरुलाई कोरोना संक्रमण दर, मृत्युदर, नयाँ संक्रमितको अवस्था, अस्पतालमा भर्ना भएका बिरामीका संख्याको अवस्थाबारे मूल्यांकन गरेर विद्यालय खोल्न सकिने वा नसकिने अवस्थाको बारेमा जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई रिपोर्ट दिन निर्देशन दिएको छ ।

बैठकले कोरोना संक्रमणको जोखिम अहिले पनि रहेकाले आफूखुशी विद्यालय सञ्चालन नगर्न समेत सबैलाई आग्रह गरेको छ । बैठकले कोरोना संक्रमणदर कम भएका स्थानीय तहहरुमा संघीय सरकारले जारी गरेको स्मार्ट लकडाउनको निर्देशिका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर कम जोखिम रहेका पालिकाहरुमा विद्यालयहरु सञ्चालन गर्न सकिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीसमेत रहेका जिल्ला कोरोना संकट व्यवस्थापन समितिका संयोजक रामबहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको बैठकले संघीय सरकारले जारी गरेको स्मार्ट लकडाउनको निर्देशिका अनुसार कोरोना जोखिमका दृष्टिले ग्रीनजोन अर्थात १५ जनाभन्दा कम कोरोना संक्रमित भएको स्थानीय तहमा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको सो केन्द्रका सदस्य तथा वेलझुण्डि कोरोना अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।

पछिल्लो तथ्यांक अनुसार दाङ जिल्लामा शनिवारसम्म सक्रिय संक्रमितको संख्या ७८ जना रहेको छ । जसमध्ये घोराही उपमहानगरपालिकामा ३१ जना, तुलसीपुर उपमहानगरपालिकामा १८ जना, लमही नगरपालिकामा ७ जना, बबई गाउँपालिकामा ४ जना, शान्तिनगर गाउँपालिकामा ३ जना, गढवा गाउँपालिकामा २ जना र राप्ती गाउँपालिकामा १ जना रहेका छन् । केन्द्रका अनुसार हाल बंगलाचुली, दंगीशरण र राजपुर गाउँपालिकामा कोरोना संक्रमणको दर शून्य छ । दुइ बर्षदेखि विद्यालयहरुमा भौतिक उपस्थितिबीच पठन–पाठन नहुँदा दुवै बर्षका शैक्षिक सत्रहरु खेर गएसरह रहेका छन् ।

अनलाइन र अन्य वैकल्पिक माध्यमबाट कक्षा सञ्चालनको अवधारणा सरकारले ल्याए पनि यसको उपलब्धि नगन्य देखिएको छ । विद्यार्थीहरु विद्यालय पठाउन नपाउँदा अभिभावकहरुसमेत चिन्तित रहेका छन् भने निजी विद्यालय सञ्चालकहरुले पनि भारी मात्रामा शिक्षक कटौतीसमेत गरेका छन् । लकडाउनकै कारण जिल्लामा सयौं निजी विद्यालयमा अध्यापनरत शिक्षकहरु बेरोजगार बनेका छन् । विद्यालयहरुले भौतिक उपस्थितिबीच कक्षा सञ्चालनको अनुमति माग गर्दै आए पनि सम्बन्धित पालिकाका स्वास्थ्य शाखाहरुले सरकारले निर्दिष्ट गरेजस्तो स्वास्थ्य सूचकहरु तयार गरी जिल्ला स्वास्थ्य कार्यालय वा अन्य माथिल्लो निकायमा पठाउने गरेका छन् । जसका कारण दाङ जिल्लामा कोरोना संक्रमणको यथार्थ अवस्थाका विषयमा समेत एकिन जानकारी प्राप्त हुन सकेको छैन ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले बिहीवार निजी विद्यालयका शिक्षक, प्याव्सन तथा एन प्याव्सनका पदाधिकारीहरुबीच छलफल गरे पनि कहिलेदेखि विद्यालय सञ्चालन गर्ने भन्ने सन्दर्भमा कुनै पनि औपचारिक निर्णय गर्न सकेको छैन । तर विगत दुई दिनको मृतकको तथ्यांकबाहेक अन्य अवस्थालाई मूल्यांकन गर्ने हो भने सम्भवतः असोज पहिलो सातादेखि विद्यालयहरु भौतिक उपस्थितिबीच सञ्चालन हुन सक्ने कोरोना संकट व्यवस्थापन केन्द्रका एक अधिकारीले बताएका छन् ।