कसले फुटाउँछ नेपालका राजनीतिक दल ?

  •   
  •  

के.पी. सुवेदी

नेपालका राजनीतिक दल फुटने र जुट्ने क्रम नौलो होइन । सैद्धान्तिक वा दार्शनिक हिसावले फरक मत नभए पनि नेतृत्व हथ्याउन अथवा नेतृत्व क्षमतामा उठेका प्रश्नहरुको सामना गर्ने नैतिक तथा वैधानिक बाटो मिचेर नेतृत्व त्याग्ने भन्दा औचित्यहीन फरक धार निर्माण गर्ने नेपाली राजनीतिको महारोग हो । यो रोगले केवल राजनीतिक दलमात्र कमजोर नभई दलीय प्रणाली नै कमजोर हुनपुग्छ ।

नेपालका कुनै पनि राजनीतिक दल नफुटेको छैन । दलको गठन भएको लगत्तैदेखि दलभित्र विभिन्न धार बन्न थाल्छन् । ती धारहरु व्यक्तिको परिचय लिएर गुठमा रूपान्तर भएपछि पार्टीभित्र २ लाइन, ३ लाइन संघर्ष सुरु हुन थाल्छ । दलहरुको अन्तर्दलीय प्रतिष्पर्धा स्वस्थरुपमा जबसम्म चलिरहन्छ तबसम्म विभाजन होइन त्यसले पार्टीलाई गतिशील र बैचारिक बहसमा केन्द्रित गरिराख्छ ।

आन्तरिक रुपमा जन्मिने सबै किसिमका फरक मतहरुलाई व्यवस्थित गरेर लैजाने कुशल एवं नयाँ दिशा र दृष्टिकोण दिनसक्ने नेतृत्व निर्माण भैसकेको पार्टीमा गुट–उपगुटहरु सजिलै हावी हुन सक्तैनन् । त्यस्तोमा सर्वसम्मत तथा सर्वस्वीकार्य एकल वा सामुहिक कुनै पनि प्रकारको नेतृत्व हुनसक्छ । नेपालका राजनीतिक दलमा सामूहिक नेतृत्वको अभ्यास ऐतिहासिक परिणाम दिन सफल भएको छ । नेपाली कांंग्रेसको नेतृत्वले यो उदाहरण बनाउन सफल
भएको छ ।

सबै राजनीतिक दलमा केही सत्तालोलुप र ईष्र्यालु व्यक्तिहरु केन्द्रीय नेतृत्वमा पुगेको बेला पार्टीलाई संकटमा धकेलेका थुप्रै उदाहरणहरु हुन्छन् । नेपाली कांग्रेको केन्द्रीय नेतृत्व गरिरहँदा पार्टीलाई धोका दिने मातृकाप्रसाद कोइराला, विश्ववन्धु थापा, परशुनारायण चौधरीलगायतका नेताहरुले पार्टी फुटाउन सकेनन् तापनि पार्टी र प्रजातन्त्रलाई धोका दिए । सामान्य मतभेदहरुका बीचमा सामञ्जस्य कायम गरेर पार्टीलाई फुटबाट बचाईरहन विपी कोइराला र सुवर्ण शमशेरले दर्शन, विचार, नीति, कार्यक्रमद्वारा समर्पित गरिरहेका कारण सातदशक लामो अक्षुण्ण यात्रा जारी राखेको छ ।

प्रजातन्त्र स्थापनाको सँगसँगै पार्टीलाई फुटाउने, कमजोर गराउने, बदनाम गरेर जनताबाट टाढा गराउने सबै किसिमका हतियार प्रयोग गरियो । यसरी लागिपर्ने स्वदेशी तथा विदेशी लागे होलान् । स्वदेशी शक्तिमा राजसंस्था सबैभन्दा बढी लागेको प्रमाण २०१७ सालमा दलीय प्रणालीलाई खारेज गरेर पार्टीलाई प्रतिबन्ध लगाउने तत्कालीन राजशाहीको कदम र त्यसलाई सघाउने नेपाल कम्युनिस्ट पार्टी हो ।

कांग्रेसकै मुक्ति आन्दोलनले जहानियाँ राणा शासनको बन्धनबाट छुटेको राजा र राजसंस्था जनतामा निरंकुश शाही शासन चलाउने दाउमा आफ्ना नजिकका भारदार र लोभीपापी दाषहरुलाई उकासेर कांंग्रेस र प्रजातन्त्रको विरुद्ध कुप्रचार गर्न थाल्यो । त्यतिखेर दरवारले विरोधीहरुलाई फुटाएर कमजोर बनाउन सकियो भने शासनको आयु लम्ब्याउन सकिन्छ भन्ने बुझ्यो र त्यही नीति अवलम्वन गर्न थाल्यो । यसैलाई ‘फुटाउ र राज गर’को सिद्धान्त भनिन्छ ।

पार्टी प्रतिबन्धित भए सत्ताको सुख–सुविधाले विलासी बन्न खोजेकाको सुविधा खोसियो । सत्ताले विभाजन गर्न खोजेको बेला सुविधा खोसिएपछि सबैको हैसियत भुइँमा झ¥यो । पार्टी गतिविधि भूमिगतरुपमा सञ्चालन गर्दै निरंकुशतावादी शाही शासकसँग लडेर प्रजातन्त्र पुनस्र्थापना गर्ने चरणमा आईपुग्दा सिंगो पार्टी भएका कारण आन्दोलनको नेतृत्व लिन सफल भयो र निरंकुश सत्तालाई झुकाउन सफल भयो ।

प्रजातन्त्र पुनस्थापनापछिको आमनिर्वाचनमा सुविधाजनक बहुमत पाएको कांंग्रेस पार्टी सरकारमा गएपछि, कतिलाई मन परेन । जसको अधिकार कटौती भयो उसलाई मन परेन, त्यसैगरी प्रमुख प्रतिपक्ष बनेको नेकपा एमालेलगायत विभिन्न नामधारी कम्युनिस्ट पार्टीका लागि पनि प्रमुख राजनैतिक सत्रु भएकोले सडकबाट विरोध गर्न थाले । तत्कालीन प्रधानमन्त्री तथा कांंग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कांंग्रेस र प्रजातन्त्र सिध्याउन ग्रायण्ड

डिजÞाइन बनेको कुरा गर्थे । त्यस्तो डिजÞाइन कसले कसरी गरिरहेको भन्ने कहिल्यै सार्वजनिक गरेनन् । कांंग्रेस फुटाउन देशी तथा विदेशी षड्यन्त्र कति भए होलान तर कसैको चाहनाले भन्दा पनि पार्टीभित्र गुठको नेतृत्व भए पुग्ने पुरानो रोग बल्झियो । जुनरोग २०१५ सालको निर्वाचित सांसदहरुबीच मत बाँझिदा ३६ र ७४ को नामाकरण भएको थियो ।२०५८ सालमा वर्तमान प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ३६ को जगमा नेपाली कांंग्रेस प्रजातान्त्रिक गठन गरे ।

नेपाली कम्युनिस्ट पार्टीहरुको कुरा अली फरक छ । वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी उनैलाई गद्दार भन्दै टुक्रिन सुरु गरेको उनीहरुको राजनीतिक इतिहासमा छ । २०५० सालतिर करिब १८ टुक्रामा विभाजित थिए । कम्युनिस्टको शब्दार्थ साम्यवादी भए पनि अरुभन्दा आफू आवद्ध रहेको पार्टी देशको भू–राजनीतिक

परिवेश अनुकूल छ भन्ने दाबी उनीहरुले गर्ने गर्थे । कार्लमाक्र्सले आफ्नो राजनीतिक दर्शनमा व्याख्या गरेको कम्युनिजम व्यवहारमा कसरी लागू गर्ने भन्ने संसारभरि नै मत नमिलिरहेको भिन्न मतको अनुशरण एक अन्तर्राष्ट्रिय अभ्यास गर्दै माक्र्सवाद, लेनिनवाद, माओवाद, ट्राटस्किवाद, अरु केही साम्यवादी शासनको नाममा चलेका विभिन्न तानाशाही र अधिनायकवादको अनुयायित्व गरिरहेका थिए ।

अहिले पनि नेपालमा एकपछि अर्को क्रान्ति गरेर झण्डै दशवटा कम्युनिस्ट पार्टीहरु नेपालमा छन् । यिनीहरु नेतृत्वको महत्वाकांक्षा चरमोत्कर्ष हुँदा फुट्छन् तर दोष कहिल्यै आफूले लिन चाहँदैनन् । जमिन आकाशको भन्ने व्याख्या गर्न पनि बेर लाउदैनन् । हामीमा केही मतभेद छैन, कम्युनिस्ट पार्टी देश र जनताको हित चाहने भएकोले व्यक्तिगत स्वार्थमा कहिल्यै लाग्दैन भन्छन् । एमाले माओवादी मिलेर छुट्टिएजस्तै नाटक नेपालमा धेरै श्रृंखलाहरु चलिसके । एमाले अध्यक्षले आफ्नो स्वार्थ पूरा हुने देखेर माओवादी मिलाइदिए । स्वार्थ सिद्ध भएपछि मिल्न सकिन्न भनिदिए । माओवादी र एमाले छुट्टिनु, एमाले–एमाले फुटनु एउटै प्रवृत्तिको परिणति हो ।

सबै पार्टीमा फरक विचार राख्ने व्यक्ति हुन्छन् । उनीहरुमध्ये विवेकको प्रयोग गर्ने र अर्काको प्रभावमा पर्ने दुईवटा चरित्र हुन्छन् । अहिले नेकपाको विघटन र एमालेको खण्डीकरण यही सुत्रको समीकरण हो तर त्यसलाई बल पु¥याउने बाह्य तत्व त्यत्तिकै जिम्मेवार हुनसक्छ । एमसिसी भन्ने परियोजना सम्बन्धमा बाँझिएको मत व्यवस्थापन गर्न नसक्नु सहायक कारण बन्न पुग्यो ।

त्यसैले विभिन्न सम्बन्धहरुलाई बुझ्ने र त्यसलाई सही उपयोग कसरी गर्ने भन्ने अवधारणा बनाउनुको सट्टा हैकम चलाउन खोज्दा पार्टी फुट्नसक्ने देखियो तर कम्युनिस्ट पार्टी फुट्न विदेशी वा स्वदेशी कसैलाई दोष नलाग्ने इतिहासले प्रमाणित गरेको कुरा हो ।