कांग्रेसको चौधौ महाधिवेशन  : नेतृत्वको ध्यान तल्लो तहमा, सबै वडामा सहमति प्रयास

  •   
  •  

बालाराम खड्का

तुलसीपुर, १९ भदौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया सुरु भइरहँदा नेतृत्वको ध्यान तल्लो तहमा केन्द्रित छ । अहिले सबैभन्दा बढी चहलपहल वडा समितिमा केन्द्रित भएको छ । कांग्रेसको विधानले नै तल्लो तहलाई सबैभन्दा बढी अधिकार सम्पन्न गराएकाले पनि चहल–पहल वडा तहमै छ । केन्द्रीय नेतादेखि सांसदहरुसमेत अहिले ‘व्याक टु होम’ छन् । तल्लो तहबाटै चुनिनका लागि जिल्ला बाहिर विभिन्न पेशा व्यवसाय गरी बस्नेहरु पनि गृहजिल्ला फर्केका छन् ।

नजिकिएको आम निर्वाचनको पूर्वसन्ध्यामा हुने नेपाली कांग्रेसको यो महाधिवेशनलाई एकता अधिवेशनका रुपमा पनि हेरिएको छ । त्यसैले पनि हरेक वडामा उच्च नेतृत्वहरुले सहमतिका लागि दबाव दिइरहेका छन् । सम्भवतः आधाभन्दा बढी वडामा सहमतिमा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन हुने एक कांग्रेस नेताले बताएका छन् । नेताहरुको कसरत अहिले आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित देखिएको छ । यो अधिवेशनको रिफ्ल्याक्सन आम निर्वाचनमा प्रत्यक्ष देखिन सक्ने सम्भावनालाई आत्मसात् गर्दै नेतृत्व सकेसम्म सहमतिमै चयन गर्नका लागि सबै अभ्यस्त छन् ।

सहमति हुनै नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियामा निर्वाचनमा जानुलाई पनि स्वाभाविक रुपमै लिइएको छ । ‘हामी अन्तिम घडीसम्म पनि सहमतिको प्रयासलाई जारी राख्ने छौं, सम्भवतः हाम्रो वडामा सर्वसम्मतरुपमा नेतृत्व र प्रतिनिधि चयन हुनेछन्’, तुलसीपुर उपमहानगरपालिका—१८ का नेपाली कांग्रेस साविक बिजौरी इकाई सभापति हिमबहादुर डाँगीले भने । त्यसै क्रममा तुलसीपुर उपमहानगरपालिका–१ मा निर्मल आचार्यको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भइसकेको बताइएको छ । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले भने यसलाई पछि मात्रै आधिकारिकता प्रदान गर्नेछ ।

‘यतिबेला सबैभन्दा बढी महत्व क्रियाशील सदस्यकै देखिएको छ, नेतृत्वको जग बसाउन क्रियाशील सदस्यकै सहमति नितान्त आवश्यक देखिन्छ’, एक नेताले भने– ‘सबैभन्दा पहिले बुथ कमिटीबाट पार पाएपछि मात्रै गाउँ÷नगर समिति, क्षेत्रीय समिति र जिल्ला कार्यसमितिका लागि चुनावी अभियान मोडिने छ । तल्लो तहको अधिवेशनका लागि निर्वाचन अधिकृतहरुले पनि आ–आफ्नो काम सुरु गरिसकेका छन् । हरेक वडामा हुने निर्वाचन प्रक्रियाका लागि निर्वाचन अधिकृतले निर्वाचनमा परिचालित हुने कर्मचारीहरुलाई प्रशिक्षण दिइसकेका छन् ।

सम्भवतः यही भदौ २० गते विहानै सम्बन्धित बुथका कर्मचारीहरु अधिवेशनस्थलमा पुगिसक्नेछन् । निर्वाचित वा सर्वसम्मत सबै नेतृत्वलाई निर्वाचन प्रक्रिया सकिएपछिमात्रै प्रमाणपत्र उपलव्ध गराइने छ । दाङ जिल्लाका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र ७ वटा गाउँपालिकाका १ सय वटै वडामा एकै दिन अधिवेशन सम्पन्न हुने र त्यसका लागि सबै कर्मचारी परिचालित भैसकेको मुख्य निर्वाचन अधिकृत प्रल्हाद कार्कीले बताएका छन् ।

कांग्रेसले शुक्रवारबाट देशभरका ६ हजार ७ सय ४३ वडाबाट अधिवेशनको प्रक्रिया थालेको हो । केही जिल्लामा महाधिवेशन सुरु भएको छ भने केही जिल्लामा अधिवेशनको मिति परसारिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार भक्तपुरबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै महाधिवेशनको प्रक्रिया भने सुरु भइसकेको हो । देउवाले मध्यपुर ठिमी नगरपालिका–४ र सूर्यविनायक नगरपालिका–५ को अधिवेशन उद्घाटन गरेका हुन् । सो क्रममा उनले पार्टीलाई वडा तहदेखि नै बलियो बनाउने गरी जनताको मन जित्ने काम गर्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘हामी आजबाट महाधिवेशनमा होमियौँ, तपाईँहरूले वडा तहदेखि नै पार्टीलाई बलियो बनाउने र जनताको मन जित्ने गरी काम गर्नुहोला,’ सभापति देउवाले वडा अधिवेशन उद्घाटन गर्दै भने । कांग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ । सोही अनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रवारबाट सुरु भएको हो । तर सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएका केही जिल्लामा भने २३ गतेभित्र अधिवेशन हुने छ । कांग्रेसले यसै वडा अधिवेशनमार्फत विधान अनुसारको सबैभन्दा तल्लो तहको नयाँ नेतृत्व चुन्ने छ । अधिवेशन तोकिन बाँकी जिल्लामा हुने वडाको निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने गरी कांग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अधिवेशन प्रक्रिया सुरु भइसकेको र २३ गतेभित्र सबै वडामा अधिवेशनले नयाँ नेतृत्व छानिसक्ने जानकारी दिए । कांग्रेसले २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली भने अझै सार्वजनिक गरेको छैन । ती जिल्लाका सदस्यता पनि सार्वजनिक गर्ने कांग्रेसको तयारी छ । यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो । यस्तै थप तीन जिल्लाको १५ भदौमा सार्वजनिक गरिएको थियो ।

निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ÷नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कार्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौँमा हुने उल्लेख छ । नेपाली कांग्रेस दाङले भने भदौ २१ गते वडा अधिवेसन गर्ने गरी मिति सारेको छ ।

मुख्य निर्वाचन अधिकृत जिल्लामा आएसँगै भएको छलफलले २१ गते सबै वडाहरुमा एकैसाथ अधिवेशन गर्ने मिति तय गरेको कांग्रेस दाङले जनाएको छ । नेपाली कांग्रेस दाङले शुक्रवार निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कांग्रेसले २० गते उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने र २१ गते निर्वाचन गर्ने कार्यतालिका बनाएको सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए । एकैदिन मनोनयन दर्ता र निर्वाचन गर्दा सहज नहुने भन्दै २० गते उम्मेदवारी मनोनयन गर्ने मिति तोकेको बताएको छ । ‘अन्य जिल्लामा आजदेखि महाधिवेशनको शुभारम्भ भएको छ, हाम्रो पनि २१ गते सकिने छ’, खड्काले भने ।

जिल्लाका दुई उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका वडाहरुबाट निर्वाचित भएर वडाबाट क्षेत्रीय प्रतिनिधि २१ सय ३० जना आउनेछन् भने वडाको सभापति १ जना उपसभापति १ जना, उपसभापति २ जना, सचिव २ जना, सह–सहसचिव २ जना प्रत्येक वडाबाट चयन हुनेछन् भने १९ सय २५ जना समानुपातिक र प्रत्यक्ष गरी सदस्यहरु निर्वाचत हुनेछन् । प्रत्येकमा क्रियाशील सदस्यताको आधारमा क्षेत्रीय प्रतिनिधिहरु छनोट हुनेछन् । निर्वाचनको मिति पर सरेपनि विभिन्न वडाहरुमा भने छलफल बैठक सुरु भएका छन् । सबै वडाहरुमा निर्विरोध क्षेत्रीय प्रतिनिधि, वडा समिति छनोटका लागि प्रयास भइरहेको छ । वडाहरुमा सर्वसहमति भए पनि भदौ २१ गतेमात्र त्यसको घोषणा हुने सम्बन्धित निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।