खेमराज रिजाल
तुलसीपुर, १८ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षाको शुल्क तोकेपछि तुलसीपुर क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गर्दै आएका विद्यालयहरु संकटमा परेका छन् । उनीहरुले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले तोकेको शुल्कमा सामुदायिक विद्यालयहरुले प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने बताएका छन् ।
आवश्यकताअनुसार विद्यार्थी नपाएको अवस्थामा मुस्किलले आफै शुल्क निर्धारण गरेर जसोतसो चल्दै आएका प्राविधिक शिक्षालयहरुलाई मेट्रो कलेजको मोनोपोलीले थप संकटमा पाएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेजमा उपमहानगरपालिकाका सबै वडाको बजेटसँगै प्रदेश सरकारको समेत उल्लेख्य अनुदान रहँदै आएको छ । उल्लेख्य अनुदान पाउँदै आएको मेट्रो कलेजले सस्तोमा त्यही विषयको प्राविधिक शिक्षा सञ्चालन गर्न थालेपछि सामुदायिक विद्यालयका प्राविधिक शिक्षा अप्ठ्यारोमा परेको त्यहाँका प्राचार्यहरुले बताएका छन् ।
सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा सरकारले तोकेको शुल्कअनुसार सञ्चालन गर्नका लागि अनुदान उपलब्ध गराउनुको कुनै विकल्प नरहेको पनि उनीहरुले बताएका छन् । सरकारको प्राविधिक शिक्षाको पहुँच बढाउने लक्ष्यअनुरुप तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रभित्र सञ्चालन हुँदै आएका माध्यमिक विद्यालयहरुलाई प्राविधिक शिक्षा सञ्चालन गर्न निर्देशन दिएसँगै उपमहानगरपालिकाअन्तर्गतका ८ वटा विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालनमा आएको छ ।
सामुदायिक विद्यालयहरुले सिटिइभिटीबाट सम्बन्धन प्राप्त तीन बर्षे विभिन्न प्राविधिक कोर्षका लागि दुई लाख रुपैयाँको हाराहारीमा शुल्क लिँदै आएका छन् भने तुलसीपुर उपमहानगरपालिका आफैले सञ्चालन गरेको मेट्रो कलेजले भने सोही विषयको ९६ हजार रुपैयाँ मात्रै शुल्क लिने गरेको विद्यालयहरुले बताएका छन् । उनीहरुले मेट्रो कलेजले सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको विषय जुधाइदिने, बस सुविधा पनि हरेक क्षेत्रसम्म दिने तथा शुल्क पनि न्यून लिने गरेकाले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा चलाउनै मुस्किल भएको जनता संस्कृत मावि बिजौरीका प्राचार्य पदम रावतले बताएका छन् ।
‘यही बजारसम्म विद्यार्थी लिन मेट्रोको बस आइपुग्छ, शुल्क हामीले लिनेभन्दा झण्डै १ लाख रुपैयाँ न्यून छ, यही अध्ययन गराइने विषय पनि जुधाइएको छ’, यो अवस्थामा अनुदान नपाएसम्म प्राविधिक शिक्षा चलाउन मुस्किल भएको छ’, जनता संस्कृत माविका प्राचार्य रावतले भने । बिजौरीमा बाली विज्ञान कक्षा चलिरहेको अवस्थामा फेरि मेट्रो कलेजमा पनि यही विषय सस्तोमा पढ्न पाउने भएपछि यहाँका विद्यार्थीहरु पनि मेट्रो कलेजमै पढ्न जाने गरेको उनको अभिव्यक्ति थियो ।
अर्को कुरा मेट्रो कलेजमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरुलाई वडा कार्यालयको सिफारिसमा निःशुल्क छात्रबृत्ति पनि दिने गरिएको छ । एउटा वडाका कम्तीमा ४ जना विद्यार्थीहरुलाई वडाको सिफारिसमा छात्रबृत्ति दिने गरिएको छ । यद्यपि वडाले सिफारिस गरेका विद्यार्थीहरुलाई लाग्ने शुल्क भने तुलसीपुर उपमहानगरपालिकाले वडाको बजेटबाट कटौती गर्दै आएको छ । त्यसमा पनि मेट्रोमा महिलालाई निःशुल्क छात्रबृत्ति उपलव्ध गराउने भएपछि त झनै अन्य सामुदायिक विद्यालयहरुलाई विद्यार्थी पाउनै मुस्किल भएको छ ।
यससँगै तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तथा नगरपालिकाकै स्वामित्व र लगानीमा चल्दै आएको मेट्रो कलेजले राजनीतिक विभेदकारी नीतिमा आफ्ना शैक्षिक कार्यक्रमहरु सञ्चालनमा गर्दा यसअघि प्राविधिक कक्षा चलाउँदै आएका सामुदायिक विद्यालयका प्राविधिक शिक्षाका कार्यक्रमहरु नै संकटमा परेको बताइन्छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा आएका सबै माध्यमिक विद्यालयहरुलाई अनिवार्यरुपमा प्राविधिक शिक्षा सञ्चालनमा ल्याउन निर्देशन गरेसँगै केही सामुदायिक स्कुलहरुले प्राविधिक शिक्षा कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । सञ्चालनको पहिलो बर्ष १० लाख रुपैयाँ नगरपालिकाले अनुदानसमेत दिएको थियो । तर सामुदायिक विद्यालयहरुले आफूले शैक्षिक कार्यक्रम चलाइरहँदा तुलसीपुर उपमहानगरपालिकाकै स्वामित्वमा रहेको मेट्रो कलेजले मेट्रोले नजिकैका स्कुलहरुले चलाएका शैक्षिक कार्यक्रमहरु नै सञ्चालन गर्दा समस्या भएको विद्यालयहरुले बताएका छन् ।
नगरपालिकाको निर्देशनसँगै जनता माध्यमिक विद्यालय बिजौरीले बाली विज्ञान विषयमा ३ बर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गरेलगत्तै मेट्रो कलेजले पनि बाली विज्ञानकै विषयमा कक्षा सञ्चालनमा ल्यायो । त्यसैगरी गुरुजजुर मावि रक्षाचौरले सञ्चालन गर्दै आएको बाली विज्ञानलाई समेत यसले प्रत्यक्ष प्रभाव पा¥यो । तुलसीपुर उपमहानगरपालिकाको अश्वारा माविमा सञ्चालन हुँदै आएको फरेष्ट्री कार्यक्रमलाई पनि मेट्रो कलेजमा जुधाइयो । यो अवस्थाले यी सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरुको संख्या बर्षेनी घट्दै आएको छ । विद्यालयहरुले यो विषयलाई अत्यन्तै राजनीतिक भेदभावका रुपमा लिएका छन् । उपमहानगरपालिकाले राजनीतिक आँखाले हेरेरै मेट्रो कलेजमा कार्यक्रम जुधाउने गरेको पनि बताइएको छ ।
गुरुजजुर माविमा यसअघि बाली विज्ञानको पढाइ भइरहेको थियो, त्यसपछि मेट्रोले सोही कार्यक्रम सञ्चालनमा ल्याउँदा गुरुजजुरका विद्यार्थी घटेर ३७ जनाबाट १५ जनामा सीमित भए । बिजौरीको जनता विद्यापीठमा सञ्चालनमा आएको यही विषयमा पनि मेट्रोले चलाएपछि विद्यार्थी टिकाउनै मुस्किल भयो । अश्वारामा सञ्चालन भइरहेको फरेष्ट्रीलाई पनि जुधाइयो । कारण यी विद्यालयहरुमा तुलसीपुर उपमहानगरपालिकाले स्वीकार गर्ने राजनीतिक विचारधाराको नेतृत्व थिएन ।
तर तुलसीपुर उपमहानगरपालिका नजिकै भागवत शर्मा प्राचार्य रहेको सेन्टर माविमा सञ्चालनमा आएको सूचना प्रविधि विषयलाई मेट्रो कलेजले जुधाउन चाहेन । उपमहानगरपालिकाकै कार्यपालिका सदस्य देवराज विश्वकर्मा व्यवस्थापन समिति अध्यक्ष रहेको जनकल्याण मावि दुधरासमा सञ्चालन भइरहेको सिभिल सव–इन्जिनियर कार्यक्रमलाई पनि मेट्रोले सञ्चालन गर्ने हैसियत राखेन । उरहरी माविमा पशु विज्ञान छ, त्यो कार्यक्रम पनि उपमहानगरपालिकाको मेट्रो कलेजले जुधाउन चाहेन, कारण त्यहाँ पदम वली प्राचार्य थिए । खाद्रेमा सञ्चालनमा आएको प्राविधिक शिक्षालाई पनि मेट्रो कलेजले जुधाउन चाहेन । त्यहाँको पनि स्पष्टरुपमा विद्यालय व्यवस्थापनबाट राजनीतिक प्रभाव परेको छ ।
‘फरक विचार राख्ने शिक्षक नेतृत्व एवं विव्यस नेतृत्व भएका सामुदायिक विद्यालयहरुमा सञ्चालन भएका कार्यक्रम मात्रै छानीछानी उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेजले जुधाएको छ’, एक प्राविधिक शिक्षालयका प्राचार्यले भने– यो प्रवृत्तिले हामी नजिकैका सामुदायिक विद्यालयका शैक्षिक कार्यक्रमहरु संकटमा परेका छन् । सामुदायिक विद्यालयले सञ्चालन गरेका प्राविधिक कक्षाहरुलाई प्राइभेटका नजरले हेरिएको पनि ती प्राचार्यले आरोप लगाएका छन् । सामुदायिक विद्यालयमा सञ्चालनमा आएका ३ बर्षे प्राविधिक शैक्षिक कार्यक्रमका लागि १ लाख ९० हजार रुपैयाँसम्म शुल्क लिइने गरेको छ भने उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेजले भने सबै खाले तीनबर्षे शैक्षिक कार्यक्रमका लागि एकमुष्ठ ९६ हजार रुपैयाँमात्र लिने गरेको छ ।
‘हामीलाई प्राविधिक शिक्षाका लागि विद्यार्थी पाउनै मुस्किल भएको छ, सकेसम्म उपमहानगरपालिकाको मेट्रो कलेजले हामीले सञ्चालन गरेका कार्यक्रम नजुधाइदिए हुन्थ्यो भन्ने चाहना हो’, गुरुजजुर मावि रक्षाचौरका प्राचार्य विष्णु केसीले भनिन् । उनले मेट्रो कलेजले लिनेजस्तो शुल्कमा आफूहरुले प्राविधिक शिक्षा पढाउन नसक्ने पनि बताइन् । मेट्रो कलेजलाई जस्तो अनुदान सहयोग गुरुजजुर स्कुललाई नभएको बताउँदै प्राचार्य केसीले यस्तै अवस्था रहेको अवस्थामा सामुदायिक विद्यालयमा सिटिइभिटीले तोकेको शुल्कमा प्राविधिक कक्षा चलाउन मुस्किल हुने पनि उल्लेख गरिन् ।
‘हामीले सिटिइभिटीले तोकेको क्राइटेरियाभित्र रहेर शुल्क लिने गरेका छौँ तर मेट्रोले जस्तो सस्तोमा पढाउन सक्ने अवस्था छैन, त्यसैले बर्षेनी विद्यार्थीहरु घटिरहेका छन्’, प्राचार्य केसीले भनिन् । कुनै पनि निकायबाट सहयोग नहुने विद्यालय तथा तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारबाट समेत सहयोग आउने मेट्रो कलेजले शुल्कमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले मेट्रो कलेजलाई अन्य सामुदायिक विद्यालयहरुले सञ्चालनमा ल्याएका भन्दा फरक शैक्षिक कार्यक्रमहरु ल्याउन पनि सामुदायिक विद्यालयहरुले आग्रह गरेका छन् ।
पछिल्लो पटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामुदायिक विद्यालयहरुमा सञ्चालन भएका शैक्षिक कार्यक्रमहरुलाई पनि प्राइभेटसरह मान्दै तीन बर्षे शैक्षिक कार्यक्रमहरुको एकमुष्ठ शुल्क १ लाख ७० हजारभन्दा बढी नलिन निर्देशन दिए पनि शुल्कमा एकरुपता भने देखिएको छैन ।