नारायणप्रसाद श्रेष्ठ
धर्म र संस्कृति हाम्रा धरोहर हुन् । जहाँ धर्मको रक्षा हुन्छ त्यहाँ समृद्धि र सुशासनको प्रत्याभूति हुनसक्छ । एकअर्काबीच सुमधुर सम्बन्ध कायम गरी अनुशासित जीवनशैली अपनाउन धर्मले निकै मद्दत पु¥याइरहेको हुन्छ । धर्म र संस्कृति मासिने भनेको हाम्रो मौलिक आदर्श समाप्त हुनु हो । तसर्थ, यस कुरालाई विशेष हेक्का राखी हाम्रा चाडपर्वले दिन खोजेको सन्देश ग्रहण गर्नु हामी सबैको दायित्व हो ।
नेपाली माटो सुहाउँदो हाम्रो संस्कृति र संस्कारसँग जोडिएको विभिन्न पर्वहरु एकपछि अर्को गर्दै हाम्रो घरआँगनमा भित्रिँदै गरेका छन् । हिन्दू संस्कृति र सम्पदाभित्र हुर्केको हाम्रो धर्म संस्कृतिमा देखिने विविध कार्यशैली र आचरणको आ–आफ्नै परम्परा र प्रचलन भए पनि यसले एकता र सद्भाव कायम गर्न निकै मद्दत पु¥याएको छ । तुलसी रोपणदेखि सुरु हुने हाम्रा चाडपर्वहरु विविध संस्कार र मान्यता बोकेर प्रस्तुत भएको पाइन्छ ।
केही समय अगाडि सम्पन्न भएको नेवार समुदायभित्र मनाइने गठेमंगल, गाईजात्रा तथा गाईजात्रा पर्वले समुदायलगायत हिन्दू सनातन सारथीहरुबीच नयाँ उत्साह र सम्बन्ध विस्तार गर्दै गुज्रेको छ । रक्षाबन्धनजस्ता पवित्र पर्वले दाजु–बहिनीबीचको न्यानो सम्बन्धलाई पुनर्ताजगी गर्दै आपसी सम्बन्ध र सहयात्राको मान्यतालाई अझ बल पु¥याएको छ । एकअर्काबीच मित्रता र सद्भावको अवसर जुटाएको छ ।
तुलसी रोपण गरी औषधीजन्य वनस्पतीको संरक्षण गर्नुपर्छ भनी मान्यता स्थापित गर्दै दाजु र बहिनीबीचको पवित्र सम्बन्धलाई रक्षाबन्धनको पवित्र पर्वले पुनर्ताजगी गरेको छ । हाम्रो धर्म, संस्कृतिले सम्बन्धलाई प्रगाढता प्रदान गर्न उत्प्रेरित गरिरहेको छ भने अर्कोतर्फ जन्म र मरणदेखि प्राकृतिक जडिबुटीको संरक्षण गर्न सन्देश पनि प्रवाह गर्दै आएको छ । हामीले भर्खरै बडो धुमधामका साथ सम्पन्न गरेको कृष्णजन्माष्टमीले पाप र पुण्यको बोध गराउँदै असत्यमाथि सत्यको विजयी हुने सन्देश प्रवाह गर्न पुगेको छ ।
दुष्ट आत्माको नाश गरी पुण्य आत्माको संरक्षण गर्न यस पर्वले सबैमा उत्प्रेरणा जगाएको छ । जब–जब पृथ्वीमा पापी र दूराचारीको बाहुल्यता हुन्छ तब–तब म विभिन्न रुप धारण गरेर त्यस्ता पापीको नाश गर्न म जन्म लिनेछु भन्ने ईश्वरीय सत्यतालाई प्रमाणित गर्दै द्वापर युगमा कृष्णको रुप धारण गर्दै कंशको बध गरेको इतिहास यस पर्वले उद्गार गर्न खोजेको छ । असत्यमाथि सत्यको विजयी प्राप्त भएको इतिहास भोगेको यस जन्माष्टमी पर्वले वीरता र साहसीपूर्ण चरित्रको चित्रण पनि गरेको छ ।
जब पृथ्वीमा पापको भार बढ्दै जान्छ मानिसमा अहंकार र घमण्डले परिपोषित गलत प्रवृत्ति र कुरीतिले प्रभाव जमाउन सुरु गर्छ तब त्यसको नाश गर्न मानिस स्वयम् जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ भन्ने सन्देश यसले दिएको छ । हिन्दू धर्म र संस्कृतिले सिकाएको असल आचरण र व्यवहार गर्न यसले सबैलाई जागृत गरेको छ । कर्म नै जीवन हो भन्ने हिन्दू संस्कृतिको मान्यतालाई शिरोधार्य गर्दै सगुन साकार आचरण गरी विचारमा पवित्रता, चिन्तनमा सकारात्मकता र कर्ममा विश्वास र भरोसा जगाउन यो पर्वले सबैलाई आकृष्ट गरेको छ ।
समाज त्यसै परिवर्तन हुँदैन । यसको लागि आचरण र व्यवहारमा परिस्कृत हुन जरुरी छ । यही शिक्षा हाम्रो पर्वले हामीलाई प्रदान गर्न खोजेको देखिन्छ । चार वेद १८ पुराणमा उल्लेख भएका चार युगमध्ये सत्य, तेत्रा, द्वापर, कलीको बारेमा विभिन्न प्रशंगहरु जोडिएका छन् । तेत्रायुगमा रावण प्रवृत्तिलाई नाश गर्न तथा द्वापर युगमा कंश प्रवृत्तिलाई नाश गर्न मानिसको रुपमा ईश्वरीय अवतरण भएको प्रमाणित गर्दै कलि युगमा हुने अत्याचार, दूराचार र पापाचार प्रवृत्तिलाई नाश गर्न गीता, महाभारतजस्ता कथाको प्रशंगको दर्शाउँदै सत्य पथमा हिड्न सबैलाई यसले उत्प्रेरित गरेको छ ।
रिस, राग, द्वेष र अहंकारजस्ता मानवमा देखापर्ने कूप्रवृत्तिप्रति लक्षित गर्दै कलिमा हुने अनैतिक कर्मलाई निमिट्यान्न पार्न व्यक्ति स्वयम् जिम्मेवार भई जीव र परमपिता परमात्मासँगको सम्बन्धलाई अझ गहिराईमा बुझ्न यसले मानिसलाई सधैँ घचघच्याइरहेको हुन्छ । उत्पत्ति हुने, नष्ट हुने प्रक्रियासँगै युगको परिवर्तन हुने सत्यलाई स्वीकार्दै सत्यवादी राजा हरिषचन्द्रको इमानदारी कर्तव्यपरायन्तालाई दृष्टान्त दिई हिन्दू अनुयायीमा हुने इमान्दारीलाई यसले प्रमाणित गरेको छ ।
हिन्दू धर्म र संस्कृतिले सिकाएको संस्कार र पद्धति नै जीवन यापनको सकारात्मक पक्ष हो भनी सत्य युगपछि तेत्रा र त्यसपछि द्वापर युगको जसरी अन्त्य भयो त्यसरी नै कलियुगको अन्त्यपछि सत्य युग अवश्य आउँछ भनी सबैलाई सचेतना वृद्धि गरेको छ । युग एकैपटक परिवर्तन हुँदैन । परिवर्तनका लागि केही आधार हुनुपर्छ । वर्तमान युगमा देखिने विभिन्न रोग, भोक, शोक र चिन्ता एवं भू–क्षय, बाढी, पहिरोलगायतले समयलाई परिवर्तनको संघारतर्फ धकेल्दै गएको सत्य विस्तारै सामुन्य आउँदैछ । त्यसैले सत्य, तेत्रा, द्वापर, कलियुग पछि पुनः सत्य युग आउने कुरामा द्विविधा राख्नु हुँदैन ।
वर्तमानमा देखापरेको भू–क्षय, बाढीपहिरो यसैका उदाहरण हुन् । अतिवृष्टि, अनावृष्टिजस्ता अप्रत्यासित गतिविधि तथा वायुमण्डल तथा वर्यावरणमा देखिएको परिवर्तित विचलन कलियुगको संकेत हुन् भन्दै नारी अस्मितामाथि बोलिएको धावा तथा गलत कूकर्महरु युग परिवर्तनका आधार हुन् भन्ने कुरामा सबैको एक मत छ । दिनपछि रात र रातपछि दिन जसरी सुरु हुन्छ त्यसरी नै एक युगपछि अर्को युग आउने कुरामा कसैले द्विविधा मान्नु पर्दैन । हाम्रो धर्म र संस्कृतिले हामीलाई प्रष्ट निर्दिष्ट गरेको छ ।
हुन त भौतिकवादी चिन्तकले हाम्रो हिन्दू संस्कृति र संस्कारप्रति त्यति भरोसा र विश्वास नगरिरहेको देखिन्छ । तर पनि हाम्रो संस्कृति र सम्पदाभित्र रहेको यथार्थलाई विज्ञानको माध्यमबाट जुन किसिमले पश्चिमा मुलुकबाट आविष्कार भइरहेका छन् यो हाम्रै संस्कृति र संस्कारको उपज मान्नु पर्छ । विज्ञानका जति पनि चमत्कार भएका छन् ती सबै हाम्रै वेद र पुराणमा लेखिएका विषयभित्रको खोजको कुरा सबैलाई जगजाहेर छ ।
सत्य सधैँ सत्य भएर नै प्रकट हुन्छ भन्दै यसको यथार्थ जानकारी विज्ञानको चमत्कारले पनि प्रष्ट भइसकेको छ । वर्तमानमा देखिएको अन्तरविरोध हाम्रो चर्मदृष्टिका कारणले भएका हुन् । हामी आँखाले जे देख्छौँ त्यो मात्र सत्य हो भन्ने हाम्रो भौतिकवादी चिन्तनमा रहेको छ । यसैभित्र दिलोदिमाग घुमेको छ । हामी आध्यात्मिक सत्यको धरातलमा भएको परिवर्तित सत्यलाई कम आँकलन गर्छौं ।
जे देख्छौँ त्यही मात्र सत्य ठान्दछौँ तर सोचौ के हाम्रो दृष्टिले देखेको सत्यभित्र हामी समर्पित भएका छौँ ? र हामीले चाहेको विषय उपलब्ध भएको छ ? के आँखाले देखेको सत्य मात्र सत्य हो र ? हामीले सोचेको देखेको र प्राप्त गर्न चाहेको विषय प्राप्त गर्न के हामी सफल भएका छौँ ? तसर्थ, यसलाई गम्भीर भएर चिन्तन गर्नु जरुरी छ । लेखेको पाइन्छ देखेको पाइँदैन भन्ने सत्य वर्तमानमा कमजोर हुनुको कारण हाम्रो धर्म र संस्कृति मेटिँदै जानु हो ।
हामीभित्र कलियुगको प्रभाव बढ्नाले हामीले गरेका जति पनि चिन्तनहरु छन्, ती चिन्तनहरुमा अपभ्रंश हुनु हो । समाजमा भएका जति पनि विकृति छन् ती सबै हाम्रै आचरणले भएका हुन् । के यो सत्य होइन र ? त्यसैले हाम्रा पौराणिक ग्रन्थमा उल्लेखित विचार र हामीले स्वीकार्दै आएका धर्म, संस्कृति र संस्कारको गहिरो अध्ययन, विश्लेषण गर्नु जरुरी छ । अब प्रत्येक व्यक्तिले आफूले आफैलाई बुझी समाज, राष्ट्रप्रति जिम्मेवार भएर प्रस्तुत हुनु परेको छ । संस्कृतिले सिकाएको पथलाई अनुशरण गर्दै आचरण र व्यवहारमा शुद्धता प्रदर्शन गर्नुपरेको छ ।
पौराणिक ग्रन्थ तथा हाम्रो धर्म, संस्कृतिभित्र प्रदर्शन गर्न खोजिएका गतिविधि केवल कथा पुराण मात्र होइनन्, त्यसभित्र लुकेको सत्य जीवन दर्शन हो । यसले हामीलाई हाम्रो आचरण र व्यवहारमा पवित्रता ल्याउन सिकाइरहेको छ । परम्परादेखि चल्दै आएको हाम्रो पर्व र संस्कृति हाम्रो आचरण सुधार गर्ने पवित्र आधार हुन् । नैतिक आचरणयुक्त जीवनपद्धति हाम्रो संस्कृति हो । तसर्थ, संस्कृति र संस्कारको परिपालन गर्दा हीनताबोध हुन जरुरी छैन ।
पर्वलाई क्षणिक आनन्द र रमाइलो पर्वको रुपमा मात्र नहेरी यसभित्र लुकेको सत्यलाई पहिचान गरी रमाउन सिकौँ, अहंकार, घमण्ड र व्यभिचारी भावनालाई परित्याग गरी नैतिकवान् र शुद्ध र पवित्र चिन्तनका साथ धर्म र संस्कृतिको संरक्षण गरौँ । एकअर्काको सहयोगी र सहचारी बनी पर्वले दिएको सन्देश ग्रहण गर्न सिकौँ । यो वर्तमानको आवश्यकता हो ।