बेलझुण्डी खानेपानीमा सहलगानी

दाङ,१४ भदौ । जिल्लाकै पुरानो एवं सबैभन्दा पहिले पानी प्रशोधनको उपकरण समेत व्यवस्थापन भएको बेलझुण्डी खानेपानीमा उपभोक्ताहरु समेतको सहलगानीमा मुहान तथा धारा विस्तारका काम सुरु हुन थालेका छन् ।

बेलझुण्डी खानेपानी सहलगानी आयोजनाको ठेक्का प्रक्रिया पूरा भएर निर्माण सम्झौतासमेत यसै साता सम्पन्न भएको छ । उपभोक्ताहरुको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत रकम गरी कम्तीमा ३० करोड रुपैयाँ बराबरको आयोजनामा सम्झौता भएको छ । योजना सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधारहरु दुई बर्षभित्र तयार भैसक्ने गरी सम्झौता भएपछि बेलझुण्डी खानेपानीका उपभोक्ताहरुमा खुसी छाउनु स्वाभाविक हो ।

आयोजनाले पानीको सहज उपलब्धता मात्र होइन, मुहानदेखि मुखसम्मै शुद्ध र प्रशोधित पानी पनि उपभोक्ताहरुलाई उपलव्ध गराउने छ । यसका लागि आयोजनाअन्तर्गत पानी प्रशोधन पनि हुनेछ । पानी प्रशोधनको व्यवस्थापन गरिए पनि प्रशोधन केन्द्र नै पटक–पटक बिग्रने गरेका कारण बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताहरुले पछिल्ला केही बर्षदेखि धमिलो पानी पिउन बाध्य छन् । यो आयोजनासँगै उपभोक्ताहरु अब धमिलो पानीबाट समेत मुक्ति पाउने विश्वास गरिएको छ ।

आयोजनामा निर्माण सम्झौता हुनुमात्रै ठूलो कुरा होइन तर सम्झौता भएअनुसार तोकिएको समयमा काम सम्पन्न गर्न सक्नु संस्था र उपभोक्ताहरुका लागि चुनौती पनि छ । निर्माणका काम धमाधम सम्पन्न गर्नका लागि खानेपानीका संरचनाहरु निर्माण गरिने स्थलहरु निर्वाधरुपमा टुंगो लगाउन संस्थाले सबैभन्दा पहिले भूमिका निर्वाह गर्न आवश्यक छ ।

खानेपानीका भौतिक संरचनाहरु निर्माणका सन्दर्भमा निर्माण कम्पनीलाई सहज वातावरण बनाइदिनु पनि संस्थाको पहिलो दायित्व हो । यसमा पनि संस्थाको नेतृत्व, राजनीतिक दल, स्थानीय सरकार एवं आम उपभोक्ताहरु खट्न आवश्यक छ । तीन हजारका हाराहारीमा उपभोक्ताहरु रहेको संस्थामा सबै उपभोक्ताहरुलाई चौबीसै घण्टा पानी उपलब्ध गराउने यो महान योजनालाई समयमै सार्थक बनाउनका लागि तत्काल आयोजना निर्माणका काम सुरु गर्न आवश्यक छ ।

बेलझुण्डी खानेपानीमा सुरु भएको यो सहलगानीको आयोजना एउटा नमुना योजना बन्न सकेमा दाङ जिल्लाका अन्य खानेपानी आयोजनाहरुमा पनि आयोजना सुरु हुन सक्दछ । सरकारले यस्ता सहलगानीका योजना तुलसीपुर खानेपानी, अमृतपुर खानेपानीलगायत अन्य उपभोक्ता संस्थामा पनि सञ्चालन हुन थालेका छन् । यी संस्थाहरुमा पनि सहलगानीका आयोजनाहरुको निर्माण सम्झौता तत्काल हुन सकोस् भन्नेमा आम उपभोक्ताहरु, राजनीतिक दल तथा स्थानीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।

जिल्ला क्रमशः मरुभूमिकरण बन्दै गएको अवस्थामा मुहान संरक्षणलगायतका विषयमा आयोजना सञ्चालन हुनु आवश्यक छ । बेलझुण्डी खानेपानीमा जस्तै अन्य खानेपानीमा पनि सहलगानीका योजना ल्याउन पहल गरौं । बेलझुण्डी खानेपानीको सहलगानी आयोजनालाई तोकिएको समयमै सम्पन्न गरौं ।