खेमराज रिजाल
तुलसीपुर, १३ भदौ । स्वास्थ्यकर्मीहरु सुरक्षा माग्दै सडकमा आएपछि अस्पतालहरुमा बिरामीहरु उपचारसेवाबाट बञ्चित भएका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु विनोद सिंहलाई कालोमोसो दलेको विरोध गर्दै अस्पतालका सबै स्वास्थ्यकर्मीहरु सडकमा निस्केपछि तुलसीपुर प्रादेशिक अस्पताललगायत तुलसीपुर क्षेत्रका सबै निजी अस्पताल तथा घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा आइतवार दिनभर ठप्प रहे ।
शुक्रवार अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियारको नेतृत्वको समूहले मेसु सिंहलाई कालोमोसो दलेर फरार भएपछि अभियुक्तहरुलाई ४८ घण्टासम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको विरोधमा स्वास्थ्यकर्मीहरु विरोधस्वरुप सडकमा उत्रिएका हुन् । उनीहरुले आइतवार विहानै तुलसीपुरको प्रादेशिक अस्पतालदेखि विभिन्न प्लेकार्डहरु बोकेर तुलसीपुरको मुख्यबजार परिक्रमा गरेका थिए । आन्दोलनका कारण अस्पतालमा आकस्मिक, प्रसुति र डायलायसिस सेवाबाहेकका सबै नियमित उपचार सेवाहरु ठप्प छन् । स्वास्थ्यकर्मीहरुको एक सूत्रीय माग कालोमोसो दल्ने अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी रहने बताइएको छ ।
स्वास्थ्यकर्मीहरुको विरोध ¥यालीमा तुलसीपुर क्षेत्रका निजी अस्पताल तथा मेडिकलहरुका प्रतिनिधि तथा स्वास्थ्य क्षेत्रसँग सम्वद्ध विभिन्न पेशागत संघसंगठनहरुको ऐक्यबद्धता रहेको थियो । आन्दोलनप्रतिको ऐक्यवद्धता जनाइएका व्यानरहरु प्रादेशिक अस्पतालको भित्रैभरी सजाइएका छन् भने दिनभर जसो स्वास्थ्यकर्मीहरुले अभियुक्तलाई पक्राउको माग गर्दै अस्पतालको बिरामी प्रतिक्षालयमा कोणसभा समेत सम्पन्न गरेका छन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । ¥यालीमा सहभागीले ‘वी वान्ट जस्टिस, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुव्यवहार गर्नेहरू– मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेका थिए । ¥यालीमा मेसु सिंह, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद शर्मा, कोरोना विषेश अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीसहित विभिन्न निजी क्लिनिकमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सहभागिता थियो । ¥यालीमा करिब ५ सय जति स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
बजारको परिक्रमापछि राप्ती प्रादेशिक अस्पतालमा पुगेर उनीहरूले कोणसभा गरेका थिए । कोणसभामा बोल्ने सहभागीहरुले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरी दिनदहाडै मेसु सिंहमाथि मोसो दल्नुले सबै स्वास्थ्यकर्मीको अपमान भएको तथा सुरक्षा चुनौती थपिएको बताए । उनीहरूले यस्तो अवस्थामा काम गर्ने वातावरण नहुने भन्दै दोषीलाई कारबाही गरी कानुनी राज्यको प्रत्याभूत गराउन माग गरेका थिए । आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीले शनिबार दिउँसो दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका थिए ।
घटना भएको ४८ घण्टा बितिसक्दा पनि परियारसहितको टोलीलाई नियन्त्रणमा नलिएको बिरोधमा आइतबार प्रादेशिक अस्पतालसहित दाङका २० बढी स्वास्थ्य संस्थाहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गरी सेवालाई ठप्प पारेका छन् । जारी विज्ञप्तिमा, घटना भएको ४८ घण्टा बितिसक्दासमेत दोषीलाई कारबाही नगरेको हुँदा हामी अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्न बाध्य भएका छौं । ‘दोषीलाई यथाशीघ्र पक्राउ गरी गरी कारबाही गर्नका लागि हामी आन्दोलनमा ऐक्यवद्धता जनाउँदछौं’, भनिएको छ । साथै दोषीलाई कानुन अनुसारको कारबाही नहुँदासम्म चरणवद्ध रुपमा आन्दोलनलाई जारी राख्ने समेत बताएका छन् ।
अस्पतालकै बिरामी प्रतिक्षालयमा आयोजित विरोधसभामा बोल्दै नेपाल चिकित्सक संघ दाङका उपाध्यक्ष डा. किशोर खत्रीले राजनीतिक दलको विद्यार्थी संगठनको आवरणमा अस्पताल प्रवेश गरी गैरराजनीतिक एवं आपराधिक चरित्र प्रदर्शन भएको बताए । ‘उनी साँच्चै राजनीतिक संगठनका विद्यार्थि नेता थिए भने मेसुलाई कालोमोसो दलेर फरार हुनुपर्ने थिएन, अस्पतालका मेसुलाई कालोमोसो दलेर फरार हुनु अस्पताल सुधारका पक्षमा नभई गैरराजनीतिक एवं आपराधिक मनोबृत्ति हो’, उपाध्यक्ष खत्रीले भने ।
विरोध कार्यक्रममा आन्दोलन संयोजन समितिका संयोजक तथा कोरोना विशेष अस्पताल वेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले आफूहरुको एउटै माग अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाही गरेमात्र आन्दोलन समाप्त हुने बताए । ‘हाम्रो एउटै माग र एउटै उद्देश्य भनेको दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको हो, आन्दोलन रोक्ने नाममा हामीहरु कुनै पनि वार्ता टोलीमा बस्ने छैनौं’, सभालाई सम्बोधन गर्दै वलीले भने ।
विरोधसभामै अस्पतालकी स्टाफनर्स कमला खड्काले स्वास्थ्यकर्मीहरुको विरोधलाई हल्का रुपमा नलिइदिन प्रहरी प्रशासनलाई आग्रह गरिन् । ‘हामीहरुले मोसो दलिमाग्न जागिर खाएका होइनौं वा फुलमाला लगाइमाग्नका लागि पनि होइन’, खड्काले भनिन्– ‘पेशागत मर्यादा र सुरक्षाको अनुभूति नभएसम्म विरोधका कार्यक्रमहरु रोकिने छैनन् । अभियुक्त खुलेआमरुपमा फेसबुक लाइभमा आएर धम्कीपूर्ण भाषा सामाजिक सञ्जालबाट फलाकिरहँंदा उनीहरुलाई पक्राउ गर्न नसक्नु प्रहरी प्रशासनको लज्जाजनक अवस्था रहेको पनि उनको अभिव्यक्ति थियो ।
आफूहरुले कोरोना संक्रमणको बेला जिउज्यान जोखिममा राखेर बिरामीहरुको उपचार गरिरहेका बेला सहानुभूति पाउनुको साटो कालोमोसो दलिमाग्नुपर्ने अवस्था नितान्त मानवअधिकार विरोधी घटना भएको पनि उनको अभिव्यक्ति थियो । राजनीतिक दलको विद्यार्थी संगठनका जिम्मेवार व्यक्तिले अस्पतालमा के–कस्ता सुविधा थप गर्नका लागि के–कसरी बजेट व्यवस्थापन र जनशक्ति व्यवस्थापनका विषयमा सौहार्दपूर्ण छलफल चलाउनुको साटो अस्पतालमा आफूले चाहेको सेवा उपलब्ध नभएको बहानामा आपराधिक मनोबृत्ति देखाउनु गैरराजनीतिक कदम भएको पनि उनको आरोप थियो ।
अभियुक्त उम्कने छैनन् : प्रजिअ कुरुम्वाङ
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अभियुक्तले योजनाबद्ध तरिकाले कालोमोसो दलेर योजनावद्ध तरिकाले नै फरार भएका कारण अझै पनि पक्राउ गर्न नसकिएको बताएका छन् । अभियुक्तको खोजी कार्य व्यापक बनाइएको उल्लेख गर्दै प्रजिअ कुरुम्बाङले चाँडै नै अभियुक्तहरु पक्राउ पर्ने विश्वास व्यक्त गरे । ‘जाहेरी दर्ता भइसकेको छ र पक्राउ पूर्जी पनि जारी भइसकेको छ, तपाईहरु ढुक्क हुनुस्, अपराधी उम्केर धेरै दिन छिप्न सक्ने अवस्था छैन’, प्रजिअ कुरुम्बाङले भने ।
उनले नागरिकहरुले सुलभ स्वास्थ्य सेवा पाउनुपर्ने पनि मानवअधिकार तथा संविधानप्रदत्त अधिकार भएकाले बिरामीको स्वास्थ्य उपचारमा अत्यावश्यक सेवामा समस्या उत्पन्न हुन नहुने पनि उनको अभिव्यक्ति थियो । सरकारले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको हातपात र अभद्र व्यवहारपछि स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्वन्धी अध्यादेश २०७८ समेत जारी गरिसकेको छ । अध्यादेशमा स्वास्थ्यकर्मीमाथि हातपात भएमा ५ बर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।
मानव अधिकार आयोगको अनुगमन
यसैबीच अस्पतालमा जारी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगको पनि ध्यानाकर्षण भएको छ । कोभिड संक्रमण र मानवअधिकारका विषयमा स्थलगत अनुगमनमा आएको मानवअधिकार आयोग नेपालगञ्जको अनुगमन टोली संयोगले आइतवार तुलसीपुर प्रादेशिक अस्पताल पुगेको थियो । आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जका मानवअधिकार अधिकृतद्वय दीपक थापा र द्वारिका अधिकारीले घटनाका सम्बन्धमा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. विनोद सिंह, आन्दोलनरत स्वास्थ्यकर्मीहरु तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग पनि जानकारी लिएको छ ।
यसका विषयमा क्षेत्रीय कार्यालय नेपालगञ्जमार्फत राष्ट्रिय मानवअधिकार आयोग काठमाडौँमा रिपोटिङ गरी सरकारको ध्यानाकर्षण गराइने मानवअधिकार अधिकृत अधिकारीले बताइन् । त्यस्तै नेपाल चिकित्सक संघ केन्द्रीय कार्यसमिति काठमाडाँैले पनि प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेसु सिंहमाथि भएको अमानवीय व्यवहारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यहाँका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । संघका अध्यक्ष डा. लोचन कार्कीले शनिवारै विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
औषधि व्यवसायीको विरोध
यसैबीच नेपाल औषधि व्यवसायी संघ दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि गरिएको अभद्र व्यवहारको विरोध गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । नेपाल औषधि व्यवसायी संघ दाङका जिल्ला अध्यक्ष बिष्णुप्रसाद पौडेल र महासचिव श्यामकुमार गिरीले आइतवार संयुक्तरुपमा प्रेस विज्ञप्ति निकाल्दै स्वास्थ्य सस्थाको प्रमुखमाथि भएको अभद्र व्यवहार अत्यन्तै दुखद र निन्दनिय भएको बताएका छन् ।
विज्ञप्तिमा– ‘कोडिभ होस् वा स्वास्थ्य सम्बन्धीजस्तो सुकै समस्यामा आफ्नो ज्यानलाई समेत जोखिममा राखी अग्रपंक्तिमा रही काम गर्दै आएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि विभिन्न बहानामा हुने सांघातिक आक्रमणले स्वास्थ्यकर्मीको मनोवल गिराउँदै आएको छ । यस्ता आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि हदैसम्मको कारबाहीका लागि माग गर्दछौँ’, अध्यक्ष र सचिवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । साथै विज्ञप्तिमा दोषीलाई कारबाही र पीडितलाई न्यायका लागि हुने जुनसकै आन्दोलनका कार्यक्रमहरुमा नेपाल औषधि व्यवसायी संघको साथ र सहयोग रहने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।