गोरक्ष समाचारदाता
दाङ, १३ भदौ । कोभिडको कारण गार्मेन्ट उद्योगहरू समस्यामा परेका छन् । कोभिडको कारणले गार्मेन्ट उद्योगहरू धेरै असर पुगेको लुम्बिनी प्रदेश गार्मेन्ट उद्योग तथा व्यवसायी संघका अध्यक्ष धनबहादुर रसाइलीले बताए । ‘अहिले गार्मेन्टबाट उत्पादन समेत हुनसकेको छैन’ अध्यक्ष रसाइलीले भने ।
गार्मेन्ट उद्योगमा माग नआउँदा सञ्चालन हुन नसकेका हुन् । यसले गर्दा व्यवसायीहरूलाई घरभाडा, कर्मचारीलाई तलव खुवाउन समेत समस्या भएको उनी बताउँछन् । काम नहुँदा कतिपयले पहिले रोजगार दिएकालाई समेत नआउन भन्ने गरेका छन् । ‘अहिले व्यवसायमा निराशा आएको छ’ उनले भने ‘ धरापमा परेको व्यवसायलाई सञ्चालनमा ल्याउनका लागि राज्यले सहयोग पु¥याउनुपर्छ ।’ राज्यले गार्मेन्ट उद्योगलाई हेर्ने दृष्टिकोण समेत फरक रहेको उनको भनाइ छ । ‘हामीलाई राज्यले हर्ने दृष्टिकोण नै फरक रहेको छ’–उनले भने ‘आफूहरूको आवाज राज्यले नसुन्ने गरेको छ ।’
गार्मेन्ट पेशालाई पनि समयको मागअनुसार आधुनिकीकरण गरेर लैजानुपर्ने उनले बताए । ‘नयाँ प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुपर्छ’ उनले भने ‘यसले गर्दा लागत समेत घट्नेछ ।’ उद्योगमा आवश्यक पर्ने कालीगढ समेत बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । नेपालमा बेरोजगार रहेकालाई तालिम दिएर रोजगारको अवसर दिन आवश्यक रहेको उनी बताउँछन् ।
लुम्बिनी प्रदेश गार्मेन्ट उद्योग तथा व्यवसायी संघका सचिव रमेश घिमिरेले पनि अहिले गार्मेन्ट उद्योग समस्यामा परेको बताए । कोभिड–१९ को कारण लामो समयसम्म भएको लकडाउनको कारण यस व्यवसायीहरू समस्यामा परेको उनको भनाइ रहेको छ । अहिले उद्योगमा काम नहुँदा खाली बस्नु परेको उनले बताए । ‘आम्दानी नहुँदा खर्च धान्न समेत समस्या भएको छ’ घिमिरेले भने ।
नयाँ नेतृत्व चयन
लुम्बिनी प्रदेश गार्मेन्ट उद्योग तथा व्यवसायी संघको प्रथम साधारणसभा तथा अधिवेशन घोराहीमा सम्पन्न भएको छ । अधिवेशनले धनबहादुर रसाइलीको नेतृत्वमा सर्वसम्मतिमा ११ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुवाससिंह रावल, सचिवमा रमेश घिमिरे, सहसचिवमा बालिका वली, कोषाध्यक्षमा भ्युराज थापा मगर छन् ।
सदस्यहरूमा ठगुप्रसाद भण्डारी, तेजबहादुर केसी, गेटकुमार सार्की, इन्द्रबहादुर वली, अजय नेपाली र प्रसाद रसाइली रहेका छन् । कार्यक्रममा संघका सल्लाहकार देवप्रसाद पुन, नेपाल पत्रकार महासंघ रोल्पा शाखा उपाध्यक्ष सन्तोष शर्मा, पत्रकार गोविन्द खड्कालगायतले भनाइ राखेका थिए । सुवाससिंह रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रमेश घिमिरेले गरेका थिए ।