पूर्वाधार विकास प्राधिकरण : ३ वर्षमा ३० किलोमिटर कालोपत्रे

तुलसीपुर, १३ भदौ । तुलसीपुर पूर्वाधार विकास प्राधिकरणअन्तर्गत् नगरमा करिब ३० किलोमिटर बाटो कालोपत्रे भएको छ । आर्थिक वर्ष २०७६÷७७ सालमा नगरसभाले तोकेको प्राथमिकतामा रहेका सडक, भवन, सिंचाइ आइटीलगायतका कामहरू प्राथमिकताको आधारमा सम्पन्न गर्न तुलसीपुर पूर्वाधार विकास प्राधिकरण गठन गरी उपमहानगरले विकास गर्दै आएको छ । सो अन्तर्गत् विभिन्न वडाहरूमा करिब ३ वर्षमा ३० किलोमिटर बाटो कालोपत्रे भएको प्राधिकरणका निर्देशक इन्जिनियर पवनकुमार योगीले बताए ।

प्रत्येक वडामा ३ किलोमिटर कालोपत्रे सडक पु¥याउने महत्वपूर्ण योजना पनि प्राधिकरणमार्फत् नै भएको छ । हालसम्म पहिलो चरणमा ६ वटा वडामा कालोपत्रे सडकको काम सम्पन्न भएको उनले बताए । वडा नं. १ को वडा कार्यालय रामनगर जाने ८ सय मिटर बाटो, वडा नं. २ को मनिकापुर घोरबण्डा सडक, वडा नंं. ३ को दमारगाउँ सडक, भट्टे सडक त्यस्तै वडा नं. ९ र ७ का विभिन्न टोलका सडकहरू गरी पहिलो चरणमा ३० किलोमिटर सडक कालोपत्रे भएको इन्जिनियर योगीले बताए ।

त्यस्तै वडा नं. १ को पिपलचौतारा उत्तरतर्फ मनिकापुर जाने सडक, वडा नं. १७ को फोर्टिनाइन सडक, मजगैँ बघौसी सडकको केही काम सम्पन्न भएको छ भने केही निर्माणको क्रममा रहेका छन् । त्यस्तै वडा नं. ६ को कमलपोखरी–रजौरा, डिभाइन टेम्पल जाने सडक, सीप विकास जाने सडक, भिआइपी टोल जाने सडक राजपुर उत्तरतर्फको सडकहरू पनि निर्माण भएको बताइएको छ ।

उपमहानगरले दोस्रो चरणमा वडा नंं. ४, ५, १०, ११, १२, १३, १४, १५, १६ र १९ नं. वडामा ३÷३ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु गरेको र सबै टेण्डर भएको जनाएको छ । केही सडकहरूमा बेस बिछ्याइसकिएको छ भने केही सडकहरूको स्तरोन्नतिको काम अन्तिम चरणमा रहेको छ । सबै वडाहरूमा कालोपत्रे सडकको पहुँच पु¥याउने उद्देश्यले २ वर्ष सडकलाई प्राथमिकता दिई काम अगाडि बढाए पनि विभिन्न कारणले समयमै काम सम्पन्न हुन नसकेको इन्जिनियर योगीले बताए ।

आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रमअन्तर्गत् करिब ६० किलोमिटर सडक कालोपत्रे गर्ने योजना भए पनि विभिन्न कारणले सडक कालोपत्रे हुन नसकेको बताइएको छ । ‘कोभिडका कारण गतवर्ष र यो वर्ष कामहरू हुन सकेनन्, सम्पन्न नभएका योजनाहरूलाई बहुवर्षीय योजनाअन्तर्गत् केहीको काम सम्पन्न भएको छन्, केही हुने क्रममा छन्’, उनले भने । सडक कालोपत्रेको काम वर्षात र चिसोमा समयमा नहुने भएकाले पनि समस्या भएको उनले बताए । त्यस्तै यस आर्थिक वर्षमा भने सडक कालोपत्रेका योजनाहरू त्यति धेरै नभएको उनले बताए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले वर्षेनी नगरका विभिन्न वडाहरूमा कालोपत्रे सडक बनाए पनि ग्रामीण भेगका सडकहरू वर्षातमा हिलाम्मे हुने गरेका छन् । पानी परेपछि विभिन्न वडाको टोलमा रहेका सडकहरू हिलाम्मे हुने गरेका छन् । यसले गर्दा सवारी आवत–जावत र नागरिकले सास्ती खेप्नुपरेको छ । त्यस्तै स्मार्ट–सिटी तुलसीपुरभित्रका सडकहरूमा पनि खाल्डा–खुल्डी परेर पानी परेको समयमा हिलाम्मे र घाम लागेको समयमा धुलाम्मे हुने गरेका छन् । तुलसीपुरको मुख्य सडक ‘क’ लाइनदेखि अन्य भित्री सडकहरूमा समेत ठूला–ठूला खाडलहरू परेका छन् ।

वर्षेनी सडकहरूमा टाला हाले पनि त्यो विकास टिकाउ हुनसकेको छैन । राजमार्गअन्तर्गत्का सडकहरू सडकले मर्मत गर्नुपर्ने र भित्री सडकहरू उपमहानगरपालिकाले मर्मत गर्नुपर्ने दायित्व भए पनि समयमै मर्मत भने हुनसकेको छैन । ‘मुख्य सडक पानी परेको बेला हिलाम्मे हुन्छ, घाम लागेको बेला धुलाम्मे यसको मर्मत समयमै नहुँदा दुर्घटनाको जोखिम धेरै छ’, स्थानीय व्यवसायी माधव केसीले भने । यसले गर्दा सबैलाई समस्या परेको भन्दै सडक मर्मतका लागि सम्बन्धित निकायले चासो नदिएको उनले गुनासो गरे ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष वीरेन्द्र शाहले राजमार्ग अन्तर्गत् सडकले मर्मत गर्नुपर्ने र अन्य सडकहरू उपमहानगरपालिकाले मर्मत गरिरहेको बताए । उनले समन्वयको अभावका कारण धेरै समस्या भएको बताए । शाहले उपमहानगरले वर्षेनी सडक मर्मत गरे पनि बजारका विभिन्न स्थानमा अर्को वर्ष अर्को ठाउँमा खाडल हुने समस्या भएको बताए । ‘बजारमा सडकमा खाल्टाखुल्टी परेका छन् सडक र हाम्रो समन्वय नहुँदा पनि धेरै समस्या छ’, उनले भने । तुलसीपुर उपमहानगरपालिकाले सडक बोर्डअन्तर्गत् सडकहरू मर्मत गर्ने बताएको छ ।

पानी परिरहेकाले बजारका भित्री सडकहरू मर्मत नभएको भन्दै सडक मर्मतका लागि टेण्डर भएको इन्जिनियर योगीले बताए । उनले राजमार्गअन्तर्गत् पर्ने सडकहरूमा भने सिमेन्ट र गिट्टी बालुवाले पुर्न लागेको बताए । ‘वर्षातका कारण अन्य सडक निर्माणको काम सुरु भएको छैन, राजमार्गअन्तर्गत् भने खाल्डाहरू हामीले पुर्न लागेका छौँ’, इन्जिनियर योगीले भने ।