राप्तीमा ज्येष्ठ नागरिक दिवा सेवा

तीर्थराज ज्ञवाली
सिसहनिया, १० भदौ । दाङ जिल्लाको राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर दिवा सेवा सुरु भएको छ । ६० वर्ष माथिका नागरिकलाई एकैठाउँमा राखेर गफगाफ, भेटघाट गर्ने, मनोरञ्जन गर्ने, दुःख–सुख साट्ने गरी बस्ने व्यवस्थाका साथ दिवा सेवा सुरु भएको हो ।

बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले मसुरिया र सिसहनियामा सञ्चालनमा ल्याइएको दिवा सेवाको उद्घाटन गर्दै ज्येष्ठ नागरिकलाई मनोरञ्जन गर्ने, केही सिक्ने र धेरै सिकाउने तथा दैनिक जीवनलाई सुखमय बनाउन दिवा सेवाले सहयोग गर्ने बताए । उनले आफ्नो घरको फुर्सदलाई सदुपयोग गर्दै दिवा सेवामा सहभागी हुन सबै ज्येष्ठ नागरिकलाई अनुरोध समेत गरे ।

सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन दिवा सेवा सञ्चालन हुने बताउँदै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले घरमा रहेका ज्येष्ठ नागरिकको उचित स्याहार गर्ने छोरा, छोरी, बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित रूपमा सम्मान गर्दै आएको बताउँदै हरेक परिवारले आफ्ना घरमा रहेका ज्येष्ठ नागरिकलाई दिवा सेवामा सहभागी गराइदिन समेत अनुरोध गरे ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको दिवा सेवाको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडाध्यक्षहरू चन्दर चौधरी, गोबर्धन रावत, वेदप्रसाद चौधरीले ज्येष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा प्रभावकारी बन्ने बताए । दिवा सेवामा ज्येष्ठ नागरिकका लागि अध्ययनका पाठ्यपुस्तक, मनोरञ्जनका लागि वाद्यवादन सामग्री र खाजाको रूपमा स्वास्थ्यवद्र्धक खाजाको व्यवस्था गरिएको महिला विकास निरीक्षक जीवन जिसीले बताइन् ।

राप्ती गाउँपालिका महिला बालबालिका, अपाङ्ग तथा ज्येष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका ज्येष्ठ नागरिकलाई पायक पर्ने गरी मसुरिया र सिसहनियामा दिवा सेवा सुरु गरिएको र यो सेवा नियमित रूपमा सञ्चालन हुने सहायक महिला विकास निरीक्षक कल्पना खनालले बताइन् ।