साःपारू गाईजात्राले दिएको सन्देश

नारायणप्रसाद श्रेष्ठ

संस्कृति र परम्परालाई दिगो राख्दै विगत वर्षझैँ यस वर्ष पनि साःपारु गाईजात्रा पर्व स्वास्थ्य अवस्थाको संवेदनशीलतालाई ध्यानमा राखी शुसम्पन्न गरियो । नेवार समुदायले विशेष रुपले संरक्षण गर्दै आएको र पितृको उद्धार स्वरुप मनाइने यो पर्वले आफ्नै किसिमको संस्कृति र संस्कार बोकेको छ ।

संस्कृति र संस्कारलाई अविछिन्न गतिशीलता दिँदै नेवार समुदायको घरमा त्यो वर्षभरि दिवंगत भएका आत्माको सम्झनामा प्रदर्शन गरिने साःपारुप (डोकोजात्रा) गाईजात्रा मध्यकालीन मल्ल शासन पालादेखि सुरु भएको पाइन्छ । मृत्यु सत्य हो । जन्मपछि मर्नुपर्ने अवस्था सबैले भोग्नु पर्छ भन्दै रानीको शोकलाई शक्तिमा बदल्न पछि प्रताप मल्लको पालादेखि प्रचलनमा आएको यो परम्परा यद्यपि जीवन्त रहेको छ । शोकलाई शक्तिमा बदल्न र जन्मपछि मृत्यु सत्य हो, यो सबैले व्यहोर्नुपर्छ भन्ने मान्यता बोकेको यो पर्वले आफ्नै किसिमको विशेषता बोकेर महत्व दर्शाएको देखिन्छ ।

हिजो सार्वजनिक गर्ने माध्यम नभएको बेला कहाँ के भइरहेको छ, कसको घरमा को दिवंगत भयो या भएन ? त्यो थाहा नपाउने समयमा राजाको उर्दी वमोजिम दिवंगत भएको घरबाट गाईजात्रा निकाल्नु भन्ने प्रथा अनुसार प्रचलनमा आएको यो परम्पराले फलानाको घरमा यो वर्ष फलानाको देहावसान भएछ भन्ने जानकारीमूलक सूचना प्रवाह गरेको देखिन्छ । मर्नु सबैलाई पर्छ भन्ने सन्देश प्रवाह गर्ने यो सशक्त माध्यम भएर विकसित भएको अवस्था छ । उपत्यकाबासी नेवार समुदायभित्रबाट प्रचलनमा आएको यो परम्परा वर्तमान अवस्थामा नेवार समुदाय बसोबास गरेको प्रत्येक क्षेत्रमा मनाइन्छ ।

यद्यपि नेवार समुदायभित्र मात्र सीमित रहे पनि मृत्यु सबैको हुँदोरहेछ भन्ने सत्य सबैलाई चेतना जागृत गरिदिएको छ । एकातिर समुदायबीच एकता र मित्रता पनि बढ्ने अर्कोतर्फ सहयोग र सद्भावको वातावरण पनि बन्ने उद्देश्य यस पर्वभित्र रहेको पाइन्छ । यति मात्र होइन, त्यतिबेलाको राज्य सञ्चालनको निकायले गर्ने राम्रा र नराम्रा कार्यको फेहरिस्त तयार गरी आलोचना र समालोचना गर्न समेत सरकारबाट छुट भएको परिप्रेक्षमा राज्यमा भएका राम्रा, नराम्रा घटना तथा राज्यबाट भएका भ्रष्टाचार, पापाचार समेत सार्वजनिक गर्ने प्रचलनले शासन व्यवस्थामा समेत सहयोग पुगेको देखिन्छ ।

शासनमा पनि सुधार आउने तथा पुरस्कार र सजायको पनि उचित व्यवस्था गर्न सघाउ पुगने उद्देश्य तत्कालीन अवस्थामा यो पर्वसँग गाँसिएको अवस्था थियो । गाईजात्राको दिन पूर्ण वाकस्वतन्त्रता कानुनतः ग्यारेन्टी गरिएकोले पनि यो पर्वको खास महत्व रहेको देखिन्छ । हाल सञ्चार क्षेत्रमा भएको प्रगतिका कारण वा लेख्न, बोल्न तथा वाकस्वतन्त्रताले यसले तत्कालीन समयानुसार वर्तमानमा खासै महत्व नराखे पनि यस भित्र लुकेको सत्य भने अझै जीवन्त रहेको छ ।

चाहे राजनीतिज्ञ होउन्, चाहे सरकार वा प्रशासकीय निकाय होउन् उसले गरेका राम्रा नराम्रा कार्यको फेहरिस्त तयार गरी सार्वजनिक गर्ने परम्परा हिजो जुन अवस्थामा थियो आज पनि हाँस्यव्यङ्ग्य कार्यक्रम गरी (मनोरञ्जन प्रदान) यसभित्र लुकेको सत्य उजागर गर्ने परम्परा यद्यपि चल्दै आएको छ । यसले सबैलाई सचेत गराएको पनि छ । सार्वजनिक गर्ने परम्परालाई कलाकारहरुले यद्यपि जीवन्त दिँदै आएको यस परिप्रेक्षमा राज्य सञ्चालकलाई समेत सघाउ पुगेको अवस्था देखिन्छ ।

यसरी एकातिर संसकृति र संस्कार बोकेर मृत्यु सत्यलाई सबैमा पु¥याइरहेको छ भने आर्कोतर्फ वाकस्वतन्त्रताको लागि पनि यो विशेष पर्वको रुपमा प्रस्तुत हुँदै आएको छ । पितृ उद्धारसँग गाँसिएर मनाइने यस पर्वले नेवार जातिलाई मात्र होइन, अन्य जाति, समुदायलाई समेत प्रभाव पारेको अवस्था छ । मनोरञ्जनात्मक र रमाइलो पर्वको रुपमा जात्रा लगाउने प्रचलन भए पनि शोकलाई शक्तिमा बदल्नुपर्ने कुरामा सबै जाति, धर्म र सम्प्रदायलाई एउटै सूत्रमा बाँध्न यो पर्व सफल भएको देखिन्छ ।

शोकलाई शक्तिमा रुपान्तरण गर्न चालिएको यो परम्परा वास्तवमा मानवमात्रको चेतना अभिवृद्धिमा उल्लेखनीय भूमिका रहेको देखिन्छ । आपसी विश्वास र सद्भाव बढाउन तथा सहयोगको भावना अभिवृद्धि गर्न यो पर्वले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । जन्मेपछि मर्नुपर्छ भन्ने सत्यलाई मात्रै उजागर नगरी सकारात्मक चिन्तन र कर्म पनि गर्नुपर्छ भन्ने संस्कृतिको समेत यसले विकास गरेको अवस्था देखिन्छ ।

सृष्टिचक्रको इतिहास यसरी दोहोरिँदै युगको परिवर्तन गर्नेतर्फ सबैलाई जागृत गर्दै बाल, युवा, बृद्ध भएपछि मृत्यु वरण गर्नुपर्छ भन्ने ज्ञान यसले सहज रुपले दिन खोजेको छ । मर्नुपर्ने सत्यलाई स्वीकार्दै बाँचुन्जेल जेजति राम्रा कर्म गर्न सकिन्छ त्यही मात्र गर्ने हो भन्ने सन्देश यो पर्वले दिन खोजेको छ। यसरी सत्यताको पहिचानसँगै वाकस्वतन्त्रता र विचारमा शुद्धता र पवित्रता ल्याई प्रेम र सद्भावपूर्ण जीवन निर्वाह गर्न पनि यस पर्वले सबैलाई उत्प्रेरित गरेको छ ।

मानिस स्वयम् विज्ञ हुँदैन । उसले सधैँ राम्रा काम मात्रै गर्छन्, गल्ती गर्दैनन् भन्ने मानसिकतामा यस पर्वले केही हलचल ल्याएको छ । गल्ती मानिसबाटै हुने र मानिसबाटै यसको सुधार र सच्याउने काम गर्नुपर्छ भन्दै व्यक्तिलाई सच्चिने र सहयोग, सद्भाव र प्रेम गर्ने प्रेरणा यस पर्वले दिएको छ । लोभ, मोह, अहंकार र घमण्ड मानिसका गलत आचरण हुन् । यसले मानव जीवनलाई पतीत गराएको हुन्छ भन्ने सत्य उजागर गर्दै जीवन यापन गर्नका लागि व्यक्तिले निर्वाह गर्नुपर्ने आचरण र दायित्वप्रति पनि यस पर्वले सबैलाई सजग गराएको छ ।

एकअर्काबीच सहयोग र सद्भाव राखी आपसी विश्वास र भरोसा बढाउन यसले जागरुक बनाएको छ । मातृभूमिप्रतिको इमान्दारी तथा समाज र राष्ट्रप्रतिको दायित्वबोध यसले गराउन खोजेको छ । जीवनपर्यन्त पनि सबैको भरोसाको केन्द्र बनिरहन यस पर्वले सबैलाई प्रेरणा दिएको छ । मानिस स्वयम् सचेत बन्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । मर्नु निश्चित छ तथापि मरेर पनि सम्झना र पहिचान बनाइराख्न तथा राम्रो कर्म गर्नुपर्दोरहेछ भन्ने सन्देश यस पर्वले दिँदै सबैलाई गम्भीर बन्न उत्प्रेरित गरेको छ ।

यसरी सरसर्ती हेर्दा नेवारहरुले संरक्षण गर्दै मनाउँदै आएको साःपारु गाईजात्रा पर्वले जीवनको उद्देश्य र कर्मलाई अंकीत गर्न खोजेको छ । यति मात्र होइन, प्रत्येक जात, धर्म र सम्प्रदायलाई पनि यसको महिमा र परम्पराको नजिक पु¥याउन पनि यस पर्वले सघाउ पु¥याएको छ । साःपारु गाईजात्रा नेवार समुदायको मात्र नभई सबै जात, धर्म र संस्कृतिको पनि हो भन्ने मान्यता जागृत गरेको छ । जन्मनु र मर्नु जीवनको सत्य हो । यही सत्यभित्र सृष्टिचक्रको इतिहास दोहोरिरहेको छ ।

तसर्थ, गाईजात्रा रमाइलो, मनोरञ्जन मात्र नभएर आचरण र व्यवहारलाई सुदृढीकरण गर्दै जीवनलाई बुझ्ने र बुझाउने चेतनामूलक शिक्षा यस पर्वले दिन खोजेको छ । तसर्थ यसलाई सबैको साझा फूलबारी सरी राष्ट्रिय पर्वको रुपमा मनाउँदा खासै फरक पर्दैन । विडम्बना मान्नुपर्छ यति महत्वपूर्ण लाग्ने साःपारु गाईजात्रालाई राज्यले हेर्ने दृष्टिकोणमा खासै महत्व दिएको देखिँदैन ।

हाल आएर सरकारले नेवार समुदायलाई राष्ट्रिय स्तरमा सार्वजनिक बिदा दिने नीति लिई यस वर्षदेखि थोरै मात्रामा प्रश्रय पाउन थालेको आभास देखिन्छ । तर पनि राष्ट्रिय पर्वको रुपमा यसलाई हेर्ने दृष्टिकोण फरक छ । तसर्थ, राष्ट्रिय पर्वको रुपमा अंगीकार गर्दै यसभित्र लुकेको सत्य उजागर गर्न सरकारको ध्यान जान जरुरी छ ।

वर्तमान अवस्थालाई हेर्ने हो भने संघीय प्रणालीको अभ्यास भइरहेको यस अवस्थामा नेताहरु स्वयम् गाईजात्रे चरित्र प्रदर्शन गरिरहेका छन् । आफू स्वयम् नाङ्गिँदै गएको अवस्था नेता स्वयम्ले अनभिज्ञता जाहेर गरेको अवस्था छ । शक्ति हत्याउने दाउँमा नीति र नैतिकताको लिलाम स्वयम् नेताहरुले गरिरहेका छन् । अहंकार र दम्भले राज्य संयन्त्र समेत अल्मलमा परेको छ । ‘मेरो गोरुको बह्रै टक्का’ भन्दै नेता स्वयम्ले गाईजात्रा देखाइरहेको अवस्था छ ।

एकअर्काबीच हिलो छ्याछ्याप गरी जनताभन्दा आफूलाई शक्तिशाली बनाइरहेको अवस्था छ । तसर्थ, समय र परिस्थितिलाई आँकलन गरी साःपारु गाईजात्रा संस्कृति र परम्पराभित्र रहेको मूलभूत तत्वलाई बुझी आफूलाई प्रदर्शन गर्न जरुरी छ । अन्त्यमा यस वर्ष नेवार समुदाय मात्र होइन सबै जात, धर्म, संस्कृतिभित्रका दिवंगत व्यक्तिहरुको आत्माको शान्तिको लागि भावपूर्ण श्रद्धाञ्जली दिँदै शोकलाई शक्तिमा बदल्न हामी सबैलाई अनुरोध बिसाउँछौँ, चेतना भया ।