विजय जीएम
तुलसीपुर, विद्युत अनियमित प्रसारणले गर्दा विद्युतसँग सम्बन्धित दैनिक काम अस्तव्यस्त छ । विद्युत नगएको कुनै दिन हुँदैन । कुनैबेला त बत्ती आउन पनि दिन कुर्नुपर्छ । दैनिक बिहानदेखि साँझसम्म १०–१२ पटक लाइन आउने जाने क्रम चलिरहन्छ । उपभोक्ताहरुलाई कुनै जानकारी छैन । कोरोनाले गर्दा विद्यालयहरु बन्द छन् । विद्यार्थी, शिक्षक र अभिभावक त्यसै तनावमा छन् । यो विद्युत समस्याले गर्दा झन तनावमाथि अर्को तनाव थपेको छ ।
विद्यालयहरुले विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई निरन्तरता दिन वैकल्पिक विधिको रुपमा अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन् । तर विद्युत समस्याले गर्दा दैनिक रुपमा अनलाइन कक्षाहरु प्रभावित भइरहेका छन् । अनलाइन कक्षा लिइरहेको हुन्छ । झ्याप लाइन जान्छ । इन्टरनेट पनि जान्छ । बल्ल–बल्ल केही समयपछि फेरि लाइन आउँछ । इन्टरनेट कनेक्ट हुन समय लाग्छ ।
कक्षमा जोडियो । एकछिन पढाउन लागेको हुन्छ, फेरि झ्याप लाइन जान्छ । यो समस्या दैनिकजसो चलिरहन्छ । तर समस्या कसले बुझिदिने हो ? विद्युत प्रावधिकरण मौन छ । विद्युत प्राधिकरणले काम गरेको छु, काम भइरहेको छ भनेर वकालत गर्छ तर समस्या उस्तै छ । स्थानीय सरकार पनि मौन छ । जनप्रतिनिधिहरु मौन छन् । सरोकारवालाहरु मौन छन् । यो मौनता कहिलेसम्म हो ?
विद्युत आपूर्तिको अनिमियत प्रसारणले गर्दा वाक्क भएर होला मानपुर निवासी शिक्षक तथा युवा ब्यवसायी रामकुमार जीएम नेपाल विद्युत प्राधिकरणप्रति आक्रोस व्यक्त गर्दै आफ्नो फेसबुक स्टाटसमा लेख्नुहुन्छ– ‘यही चालाले एक दिन यस्तो दिन आउनेछ, मेरो सबै सक्किने छ अनि विद्युत प्राधिकरणको दुईवटा अफिसमा मैले सबै सक्काउने छु र म जेलमा हुनेछु । आमा कसम, रिस उठाउने र हुक्काउनेको पनि सिमा हुन्छ नि यार, नेपाल विद्युत प्राधिकरण । व्यवसायीले कसरी व्यवसायी गर्ने के ?’ नेपाल विद्युत प्राधिकरणप्रतिको आक्रोस रामकुमार जीएमको मात्र होइन, सबैको साझा समस्या होे ।
उनी प्रतिनिधिपात्र मात्र हुन् । एउटा युवा जो शिक्षण पेशाबाहेक आफ्नै गाउँ ठाउँमा केही गरौं भन्ने उद्देश्य र सपना बोकेर वायोफ्लस प्रविधिमार्फत मत्स्यपालन व्यवसाय गरिरहेका छन् । वायोफ्लस प्रविधिमार्फत मत्स्यपालन गर्दा नियमित रुपमा विद्युतको आपूर्ति हुनुपर्दछ । तर दैनिकजसो मिनेट मिनेटमा विद्युत आउने–जाने समस्याले गर्दा ब्यवसाय नै धरापमा पर्ने हो कि भन्ने चिन्तामा देखिन्छन् । विद्युत अनियमित प्रसारणले गर्दा सयौंको संख्यामा माछाका भुर्रा मरेछन् । ब्यवसाय गरौंभन्दा पनि वातावरण नै छैन भन्ने जीएमको गुनासो छ ।
विद्युत आउने जाने समस्याले घरदेखि उद्योगधन्दा कलकारखाना सञ्चालन गर्न प्रत्येक दिन समस्या छ । होटल सञ्चालनदेखि कोल्डस्टोर सञ्चालन गर्न समस्या छ । घर वा होटलको फ्रिजमा राखेको फलफूल र मासुदेखि कोल्डस्टोरमा राखेको फलफूल र तरकारी कुहिने अवस्था छ । घरमा खाना पकाइरहेकोे समयमा होस् या कपडामा प्रेस लगाउने समयामा होस्, पानी तताइरहेको समयमा होस् या मोटरले पानी तानिरहेको समयमा होस् झ्याप्प लाइन जान्छ । साँझ खाना खाइरहेको हुन्छ, झ्याप्प लाइन जान्छ । यो झ्याप झ्याप लाइन जाने कहिलेसम्म हो ? यो प्रश्नको जवाफ उपभोक्ताहरुले खोजिरहेका छन् ।
मानपुर बिजौरीको विद्युत लाइन त झन विचित्रको छ । आकाशमा बादल लाग्न हुँदैन । आकाश गड्याङ गुडुङ गर्नुहुँदैन । हल्का हावा लाग्नै हुँदैन । पानी त झन पर्नै हुँदैन । लाइन झ्याप्प गइहाल्छ । विद्युत प्राधिकरण तुलसीपुरमा फोन गर्दा सिस्टम गयो भन्ने जानकारी आउँछ । स्वर्गद्वारी विद्युत कम्पनी बिजौरी फोन गर्दा मर्मत सम्भार हुँदैछ भन्ने जानकारी हुन्छ । एक दुई वर्षसम्म पनि समस्याको समाधान नहुने यो कस्तो समस्या हो ? एक वर्षभित्र पनि मर्मत सम्भार नहुने कस्तो समस्या हो ? बुझ्न कठिन छ ।
विद्युत सिस्टमको समस्या हो या व्यक्तिको समस्या हो ? विद्युत सिस्टमको समस्या हो या पात्र र प्रवृत्तिको समस्या हो ? गुणस्तरीय विद्युत सेवा कहिले दिने हो ? कि सधै धक्का प्लेटमा नै चलाइरहने हो ? नेतृत्व गर्नेहरुलाई लाज लाग्नुपर्ने होइन र ? ग्राहकहरुले सेवाको पनि राम्रोसँग उपभोग गर्न पाइरहेका छैनन् । गुणस्तरीय विद्युत सेवाको प्रयोग गर्नबाट नागरिक बञ्चित छन् । वर्षौदेखि प्रयोगमा आएका पुराना सामग्रीहरु समयमा रिप्लेस वा मर्मत नगर्ने, मर्मत सम्भार गर्दा कमसल खालका सामानहरु प्रयोग गर्ने र मर्मत सम्भार गर्दा काम चलाउ तरिकाले गर्ने प्रवृत्तिले गर्दा उपभोतmाहरु दैनिक विद्युत समस्या भोगिरहनु परेको छ ।
विद्युतको पोल पनि ढलेको छैन, तारले रुख छोएको पनि छैन, हावाहुरी पनि चलेको छैन, सिस्टममा खराबी पनि छैन, बाटोघाटो पनि बनेको छैन तर पनि दैनिक बत्ती गइरहन्छ । एक दिन होइन, दुई दिन होइन, महिनौं दिन भइसक्यो, बर्षौदिन भइसक्यो तर बत्ती झ्याप–झ्याप जाने समस्याको समाधान अहिलेसम्म भएको छैन । विद्युत प्राबिधरणलाई फेरि पनि प्रश्न छ, यो झ्याप–झ्याप कहिलेसम्म हो ?