बालाराम खड्का
तुलसीपुर, ६ भदौ । ढुवानी व्यवसायीहरूले आफूहरूलाई सरकारले तोकेको भाडा समेत उद्योगहरूले नदिँदा निकै समस्या भएको भन्दै आन्दोलनको तयारी गरेका छन् । दैनिक उपभोग्य सामग्रीहरूको ढुवानीको ठूलो हिस्सा थाम्दै आएका ट्रक व्यवसायीले भदौ ५ गतेदेखि गाडी ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् ।
यहाँका ट्रक यातायात व्यवसायीहरूले भदौ ५ गतेदेखि आफ्ना यातायातका साधनहरू नचलाउने बताएका छन् । लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश गरी ३ प्रदेशका ट्रक यातायात व्यवसायीहरूले सवारी ढुवानीका सवारी साधनहरू नचाउने बताएका हुन् । उनीहरूले सरकारले पछिल्लो समयमा बढाएको भाडाहरू व्यवसायीहरूले नदिएको भन्दै ढुवानी बन्द गर्ने निर्णय गरेका हुन् ।
सरकारले सार्वजनिक सवारीका साधनका साथै ढुवानीका सवारी सधानमा पनि असार २८ गतेदेखि लागू हुने गरी भाडा बढाएको र सो भाडा आफूहरूले नपाएको गुनासो गरेका छन् । सरकारले सार्वजनिक सवारीका सधानसँगै ढुवानीका सवारी सधानमा पनि तराईमा २६ र पहाडमा २० प्रतिशत भाडा वृद्धि गरे पनि पछिल्लो समयमा उद्योग तथा व्यवसायीहरूले लागू नगरेको भन्दै ढुवानी नगर्ने बताएका छन् । ढुवानी व्यवसायीहरूले तरकारी र अत्यावश्यक बाहेक अन्य ढुवानी बन्द गर्ने निर्णय भएको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव उमेश मजगैयाँले जानकारी दिए ।
साउन १६ देखि २० गतेसम्म आफ्ना सवारीका सधानहरू बन्द गरेका ट्रक व्यवसायीले यहाँका सिमेन्ट कारखानाहरूसँग २० गतेदेखि बढाएको भाडा दिने सहमति भए पनि सहमति पूर्णरूपमा कार्यान्वयन नभएपछि फेरि आन्दोलित भएका हुन् । सहमति भएको एकहप्ता नहुँदै राप्ती क्षेत्रभित्रका सिमेन्ट उद्योगले फेरि ट्रक भाडा कम गरी ढुवानी कार्य गर्ने गरेकोले साउन २८ देखि कुनै पनि ट्रकले राप्ती क्षेत्रबाट ढुवानी नगरेको र भदौ ५ गतेदेखि सिमेन्ट, क्लिङकर तथा अन्य मालसामानहरू पनि ३ वटै प्रदेशमा बन्द गरेको उनले बताए ।
साउन २६ गते नेपालगञ्जमा व्यवसायीहरूबीच भएको छलफलले नयाँ भाडा लागू नहुञ्जेल ढुवानीका साधनहरू बन्द गर्ने निर्णयानुसार आफूहरू आन्दोलित भएको मजगैयाँले बताए । साउन १२ गतेदेखि ओभोरलोड बोक्ने गाडीहरूलाई लमहीमा धर्मकाँटा सञ्चालन गरी रोक लगाएका थिए । ‘नेपाल सरकारले २०७८ असार २७ गते समायोजन गरेको ट्रकको भाडाको लागि हामी पटक–पटक राप्ती अञ्चलभित्र सञ्चालित उद्योगहरूसँग अनुरोध गरेका थियौँ तर सुनुवाई भएन, त्यसैले नेपाल ट्रक यातायात व्यवसायी महासंघमा आबद्ध संघ, समितिहरू र सम्पूर्ण ट्रक व्यवसायहरूले सामान लोड नगरी आन्दोलित भएका छौँ’, नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहेका मजगैयाँले भने । उनले यसमा साथ दिन सम्पूर्ण ढुवानी व्यवसायीहरूमा अनुरोध समेत गरे ।
यसैबीच राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ र प्रशासनिक सचिव उमेशचन्द्र मजगैयाँले विज्ञप्ति निकालेर सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । उनीहरूले आफूहरूको आन्दोलनमा एकताबद्ध जनाई सहयोग गर्न सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेका हुन् । कोरोना भाइरसको संक्रमणसँगै ट्रक व्यवसायीहरू समेत अत्यधिक मारमा पर्दै आएको स्मरण गर्दै विज्ञप्तिमा सरकारले नै तोकेको भाडा नपाएसम्म आफ्ना मालवाहक ट्रक नचलाउन समेत उल्लेख गरिएको छ ।
यस अघि ओभरलोड बोकेरै पनि आफ्नो पर्ता उठाउने गरेका व्यवसायीहरूले अब भने तोकिएको क्षमताभन्दा बढी भार नबोक्ने भए पनि इन्धन र चालक, परिचालकको खर्च उठाउन समेत हम्मे–हम्मे परेको व्यवसायीहरूले बताएका छन् । घरजग्गा धितोमा राखेर ढुवानी व्यवसायमा लागेका ट्रक व्यवसायीहरूले पटक–पटक सम्बन्धित सिमेन्ट उद्योग तथा अन्य उत्पादनमूलक उद्योगहरूले सरकारले तोकेकै भाडा नदिएका कारण आन्दोलन समेत गर्दै आएका छन् । उद्योगीहरूले वृद्धि भएको भाडा दरअनुसार दिने सहमति जनाए पनि आफैले गरेको सहमति अनुसार पनि भाडा दिन तयार छैनन् ।