रक्षा–सुरक्षाको पावन पर्व : रक्षाबन्धन

ब्रह्माकुमार माधव तिमिल्सेना

हरेक वर्ष श्रावण शुक्ल पक्षको पुर्णिमाको दिन मनाइने रक्षा–बन्धन पर्व नेपाल भारत लगायत हिन्दु धर्मको लागिमात्र नभै सम्पूर्ण मानव जातिकै महत्वपूर्ण अवसरकै रुपमा लिइन्छ । यो पारस्परिक रुपमा भाइ–बहिनीको आपसी स्नेहको रुपमा मनाउने गरिन्छ । यस दिनमा बहिनीले भाइलाई रक्षा सुत्र बाँध्ने गर्दछिन् ।

बहिनीले भाइलाई रक्षा बन्धन बाँधेपछि अपेक्षा गर्दछिन् कि जब कुनै पनि बहिनी दुःखको घडी तथा उनको अस्मितामाथि आँच आउँछ त्यतिखेर भाइले ज्यानको बाजी लगाएर बहिनीको रक्षा गर्नेछन् । हरेक जटिल र विपरीत परिस्थितिहरुमा रक्षा गर्ने एक प्रतिज्ञाको कंगन हो भनेर मान्नु पनि समय सापेक्ष हुन सक्दैन किनकी शारीरिकरुपमा दिदीबैनीको आत्मसम्मान तथा सम्पतिको रक्षा गर्न कुनै पनि दाजुभाइलाई सदाकालमा के सम्भव हुँदैन । यस्को अतिरिक्त जनै पूर्णिमाको शुभ अवसरमा ब्राहमणहरुले ‘येन बद्धो बलिः राजा दानबेन्द्रो महाबलः ।

तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल ।’ को मन्त्रोचारण गर्दै आफ्ना यजमानहरुलाई पत्रिताको सूचक धागो वांधेर उनीहरुको जीवनमा अशुभता, दरिद्रता, भाग्यहिनता र असुरक्षालाई कम गर्ने प्रयास गरिन्छ । ब्राह्मणहरुको आशिष वचनले यजमानहरुको सारा जीवन सुखी एवं सम्वृद्ध वन्न सक्छ ? पौराणिक कथा अनुसार दैत्य र देवताहरुको युद्धमा पराजित इन्द्रलाई उनकी पत्नी इन्द्राणीले ईश्वरलाई साक्षी राख्दै पवित्रता र आध्यात्मिक शक्तिको वाचक राँखी बांधेको कारण इन्द्रले राज्य भाग्य र सम्पती पुनः प्राप्त गर्न सफल भएका थिए ।

विचार गरौ इन्द्राणीसँंग इन्द्रको नाता भाइ बहिनीको त थिएन तर रक्षा वन्धन के को लागी ? यसबाट समेत स्पष्ट हुन्छ यस पर्वले पति–पत्नीलाई समेत पवित्रताको श्रेष्ठ गुण सूत्रमा एकवद्ध गराएर गृहस्थ जीवनमा सफलता र ऐश्वर्य दिलाउन समर्थ छ । त्यसैगरी श्रीमद्भागवतमा कंशले आफ्नी बहिनी देवकीलाई मार्नको लागि तरवार निकालेको दृष्टान्तले पनि स्पष्ट पार्दछ कि दृष्टि बृति बदलियो भने भाइ पनि कसाई बन्न सक्छन् । यदि दृष्टि बृत्ति सोच र व्यवहार ठिक रहने हो भने कसाई पनि भाइ बन्न सक्छ । यमराजको बारेमा भनिन्छ कि उनले सबैलाई दण्ड अथवा यातना दिन्छन् अतः मानव मात्रको लागि उनी भयानक मानिन्छन् परन्तु आफ्नी बहिनी यमुनाको लागि भाइ हुन् । तसर्थ भाइ–बहिनीको रक्षाको लागि यही स्नेह सम्बन्धको कारण पर्याप्त छ । शारीरिक रक्षाको लागि मात्र रक्षा बन्धनको चलन मान्न विवेक सम्मत हुन सक्दैन ।

वास्तवमा रक्षा बन्धनको चलन कुनै अन्य अभिप्रायबाट सुरु भएको थियो । रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु हो भने बन्धन अर्थात कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु हो । पवित्रतालाई जोगाएर राख्न वा रक्षा गर्न कुनै विशेष प्रकारको प्रतिज्ञा गर्नु, संकल्पवद्ध हुनु रक्षा वन्धनको सन्देश हो । हामीले आफ्नो कर्मलाई पवित्र, श्रेष्ठ तथा दिव्य वनाएर स्व एवं विश्वको रक्षा गर्ने शुद्धताको वन्धन हो रक्षा वन्धन । परन्तु समयान्तरमा ‘रक्षा’ र ‘बन्धन’ शब्दको गलत अर्थ लगाउनुको कारण यसको स्वरुप बदलियो । सबैभन्दा पहिला यो भूल गरियो रक्षा शब्दको तात्पर्य शारिरीक रक्षामात्र जोडियो । यस पर्वको अन्य नामबाट पनि रक्षाको वास्तविक अभिप्राय झल्किन्छ । यसलाई बिषतोडक, पुण्यप्रदायक पर्व पनि भनिन्छ ।

यसबाट सिद्ध हुन्छ रक्षा बन्धनको सम्बन्ध बिष बिकार छोड्ने तथा पबित्र आत्मा या पुण्य आत्मा बन्नु हो । केवल परम्परा र अन्धश्रद्धा एवं एक धार्मिक सम्प्रदाय तथा जातियताको आडम्वरीय घेरामा मात्र राखिनु सान्दर्भिक मान्न सकिदैन कि ? पवित्रताको धारणाले मात्रै स्वयंको, सर्वको र विश्वको सुरक्षा हुन सक्दछ । भनिन्छ– पवित्रता सुख शान्तिको जननी हो । यस तर्फ किन हाम्रो ध्यान जान नसकेको ? जनै अर्थात पवित्रता र कर्म वन्धन वा मर्यादाको सूचक हो । जनै वदल्नु अर्थात कर्मरुपी धारणा गर्दे हाम्रा गलत सोच विचार र दृष्टिकोणमा परिवर्तन ल्याउनु हो । जात हैन चालचलन व्यवहार र दर्शन अनि आदर्श जीवनको दिव्यीकरण ल्याउनु हो । जनै पूर्णिमाको सुखद् अवसरमा रक्षासूत्र ग्रहण पश्चात टिका लगाउने र प्रसाद खाई मुख मिठो गर्नुको साथै दक्षिणा दिने प्रचलन पनि रहेको पाईन्छ ।

टिका लगाउनु अर्थात आत्मिक स्वरुपमा टिक्नु हो । भृकुटीको बीचमा आत्मा स्थित छ । अविनाशी आत्माले उक्त स्थानमा रही यस भौतिक शरीरद्धारा रंगमञ्चमा नाटक खेलिरहेको हुन्छ । जस्तो कर्म गर्दछ त्यस्तै फल भोग्दछ । ज्ञानको रंगमा रंगिनु र आत्मिक स्मृतिमा रहनुको साथै आत्मिक दृष्टिले हामी सबै भाइ भाई हौ । यो आध्यात्मिक ज्ञान यसभित्र लुकेको छ । यो दृष्टिले कामरुपी बिषलाई छोड्न र तोड्नमा सहायकको भूमिका निर्वाह गर्दछ ।

मधुर वाणी बोल्नु,श्रेष्ठ आचरणमा रहनु नै मीठो प्रसाद ग्रहण गर्नु र गराउनु हो भने दक्षिणा दिनु अर्थात आफूभित्र विद्यमान नराम्रा आचरणहरु,आसुरी बृतिहरु, अशुद्ध संकल्पहरुको त्याग गर्नु हो । परमात्मा पितालाई साक्षी राख्दै एक स्वच्छ एवं ब्रह्मचर्य जीवन जिउने सुनौलो अवसर हो यो । स्वयंलाई आत्मिक रुपमा सशक्तिकरण गर्ने,परिवर्तन गर्ने र रुपान्तरण गर्ने उत्तम मौका पनि हो ।

जको सन्दर्भमा रक्षा–वन्धन

समयान्तरमा यस पर्वलाई केवल शारीरिक एवं आर्थिक रक्षाको भावमा हेर्दा यसको महत्वलाई कम गरियो । आजको परिस्थितिबाट हामी सबै अनविज्ञ छैनौ । चारैतिर बढ्दै गएको असुरक्षा, हत्या, हिंसा, अन्याय पापाचार, आसुरी विचारधारा, महामारी विपत्तिको बोलवाला भई मानव काम क्रोधलगायत मनोविकृतीहरुबाट पीडित र आहात भैसकेको छ । दुःख, अशान्तमय जीवन जिउन बाध्य छ आजको मानव समाज ।यस्तो विषम घडीमा मुक्ति दिन, सद्धर्मको स्थापना गर्न र विपतको संकटग्रस्त समयमा सर्वको कल्याणका खातिर विश्व रक्षक, जगत नियन्ता सर्वधर्मका आस्था भरोसाका केन्द्र, परमपिता परमात्मालाई यस धर्तीमा अवतरित हुनै पर्दछ ।

मानवमा सदाचार, सदभाव, आत्मियताको खडेरी परिरहेको, विनासको कालो वादल चारैतिर मडारिरहेको साथै नारी अस्मिता एवं गौरव धरासायी भइरहेको, मानव मनोवल ह्रास हुदै गईरहेको यस विकराल घडीमा पुनः सुख शान्ति स्थापित गरी मानव आत्माको रक्षा, विश्वको रक्षा केवल भौतिक साधन, वस्तु वैभव एवं मानवीय शक्तिले सम्भव हुनै सक्दैन । आध्यात्मिक ज्ञान,राजयोगको अभ्यासबाट जवसम्म हामीले परमात्माको नाममा सच्चा दिलले आफ्ना पशु बृतीहरुको वली दिँदैनौ, विषरुपी विकारहरुलाई खतम गर्दैनौ, शुद्ध र पवित्र दृष्टि बनाउदैनौ तवसम्म कसैको पनि रक्षा हुनै सक्दैन ।

परिस्थिति, चुनौती र कठिनाईको बावजुद पनि जुन विचारको रचना गर्दा हामीलाई खुशी, शान्ति र आनन्द हुन्छ त्यही विचार रचना गर्न सक्ने मानसिक अवस्था नै सच्चा मनको स्वतन्त्रता हो । जीवन एक उत्सव हो जीवन न त भविष्यमा नै जीवन केवल वर्तमानमा छ । विगतका नमीठा स्मृतिहरु र भविष्यका अनिश्चित कल्पनाहरु मनमा उब्जाएर वर्तमानको खुशी र आनन्दलाई कम नगरौ । कुनै पनि समस्या मनभन्दा शक्तिशाली हँुदैन जीवनमा समस्याको आफ्नो कुनै आकार हुँदैन समस्यालाई सानो वा ठुलो रुपमा लिने आफैमा निर्भर छ । मन नै हामी आत्माहरुको शत्रु हो भने आफ्नै मित्र पनि हो ।

आवश्यकता छ मनको व्यवस्थापन वा सकारात्मक दिशा निर्देशको । स्वयंलाई आत्मा निश्चय गरी सर्वगुण र शतिmका स्रोत निराकार ज्योतिस्वरुप परमपिता शिव परमात्मासँग मन बुद्धिको निरन्तर सम्वन्ध राख्नु नै राजयोग हो । प्रतिदिन विहान उठ्ने बित्तिकै आफ्नो मनलाई अनुशासित गर्ने केही समयको राजयोग मेडिटेशनको अभ्यास दिनभरि आउने परिस्थितिमाथि शासन गर्ने आधार बन्दछ । तसर्थ हरेक नर नारीले आफ्नो जीवन श्रेष्ठ शक्तिशाली र सुरक्षित वनाउनको निमित्त मन, वचन कर्मले पवित्रतालाई अपनाऔं । परमात्माको यस धर्तीमा अवतरण भैसकेको छ । हामी सबैका कल्याणकारी पिताबाट रक्षासूत्र ग्रहण गरौँ तबमात्र सुरक्षित रहन सक्छौ ।

अतः रक्षा बन्धनको अर्थ र महत्वलाई बुझेर मात्र रक्षावन्धन गरौ त्यसले सार्थकता पाउनेछ अन्यथा रक्षा बन्धन एक परम्परा तथा सामान्य धागोमा सीमित रहनेछ । आसुरी बृतिलाई नाश गरेर सुखमय संसार निर्माण गर्ने महान अभियानमा लागौँ । मानवताको सम्बन्धलाई सक्षम सफलीभूत, प्रगाढ वनाउन स्वपरिवर्तनको दृढ संकल्पका साथ सद्भावना, स्नेह र सहयोगरुपी सौगात दिऔं यसैमा सर्वको रक्षा र कल्याण समाएको छ । परमात्माको श्रीमत हाम्रो सुरक्षा छत्रछाँया हो । विश्वरक्षक, पतित–पावन ज्ञानसागर एवं कल्याणकारी सर्व आत्माहरुका परमपिता परमात्मा शिवबाबाद्वारा प्रदत्त गीता ज्ञानलाई जीवनमा धारणा गरी अहिंस्रक वृत्ति अपनाऔ । जीवनको हर क्षण अमूल्य छ तसर्थ यसलाई व्यर्थमा नगुमाऔ ।

पबित्रताको ब्रतले मनुष्य आत्माको जन्म जन्मान्तर सुरक्षाको प्रत्याभूति गर्न सकिन्छ । जब हामी रक्षावन्धन (जनैपूर्णिमा)लाई आज हरेक धर्म वा जाति बर्गमा समान रीतिले यसभित्र लुकेको पबित्रता एवं स्नेह भावनाले प्रेरित भई सबैको रक्षा गर्दछौं र अरुबाट समेत गराउँछौ तब यो वसुन्धरा (सृष्टि) मा सुखशान्ति अनि समृद्धिको हरियाली देख्न सकिनेछ । यस धर्तीलाई पुनः रामराज्य अर्थात स्वर्ग बनाउने परमात्माको महान योजनामा हामी सबै सहभागी बनौँ । आत्मिक स्मृतिको तिलक, दैबी गुणहरुको श्रृंङ्गार, मधुर बोली साथै योगको अग्निले विकर्म नष्ट गर्दै पबित्र बन्ने अनि बनाउने प्रतिज्ञा गरौँ ।

रक्षावन्धनको पावन अवसरमा समस्त मानव आत्माहरुमा भौतिक आध्यात्मिक सामाजिक तथा सर्वपक्षीय उन्नति प्रगति हँुदै जावस् होस् । परिवारमा एकता सद्भाव एवं वुदैव कुटुम्बकम्को भावना विकसित गर्ने प्रेरणा जागोस् । सबैको कल्याण होस् । वर्तमान महामारीको विरुद्ध मानसिकरुपमा लड्ने क्षमता जागोस् । काल वा अकालमा यस संसारलाई छोड्ने आत्माले राम्रो वास पावस् वा शान्तिको अनभूति गर्न सकोस् । नेपाल तथा विदेशमा रहनुहुने समस्त नेपाली साथै परमात्माका प्रिय सन्तान आत्मीय आमा–बुवा, दिदीबैनी, दाजुभाइ सबैप्रति नमन गर्दै हार्दिक मंलमय शुभकामना । ॐ शान्ति !

लेखक घरेलु तथा साना उद्योग कार्यालय, दाङका अधिकृत एवं ब्रह्माकुमारीज घोराहीका प्रवक्ता हुन् ।