विनोद पोख्रेल
२०७७ साउन १० गते
सधै नयाँ र विशेष घटना हुने गर्दैनन् । त्यसैले सधै समाचारमा विशेष आकर्षण पनि हुँदैन । फेरि ०४६ सालको परिवर्तनपछि नेपालमा भएको एउटा राम्रो काममध्ये सञ्चारको विकास हो । अहिले नेपाली समाचार माध्यमहरु यति स्मार्ट छन् कि सञ्चार भएको थोरै समयमै सबैलाई जानकारी दिन सक्छन् । त्यसमा फेसबुक आदि अन्य माध्यमहरुबाट पनि उत्तिखेरै भनेजस्तो समाचार थाहा पाउन सकिन्छ । त्यसकारण पनि समाचार सुन्ने आकर्षण घटेको हुनसक्छ ।
मेरो कुरा गर्ने हो भने म विश्व समाचारमा पहिले जति चासो राख्थे अब त्यति राख्दैन । नेपालको समाचार र नेपाली सञ्चार माध्यमहरुले दिएको विश्व समाचारले मलाई मात्रा पुग्छ । आज मनमा समाचारबारे लेख्ने सोच आउनुको कारण छ । हिजो एउटा समाचार सुने । वर्तमान सत्ताधारी दल संकटमा भएको कुरा त्यस दलका एउटा अध्यक्षले सार्वजनिक कार्यक्रममा भने । त्यतिमात्रै होइन, उनले त्यसको कारण नाम नलिए पनि बुझिने गरी अर्का अध्यक्ष भएको बताए । हिजै साँझ दुबै अध्यक्षले आपसमा भेटेर त्यही समस्याको समाधान खोज्नको लागि कुराकानी गरे भन्ने पनि आयो । हुन त यो सक्रिय राजनीति गर्नेहरुको मतलबको विषय हो ।
त्यसमा पनि पार्टी सत्तामा रहिरहोस् भन्ने कामना गर्ने नेता, कार्यकर्ताको चासोको विषय हो । तर पनि त्यसको असर धेरै ठाउँ पर्ने गर्छ । सिद्धान्तकै कुरा गर्ने हो भने पार्टीले सरकार चलाउने धारणाको वकालत गर्ने कि सरकार स्वतन्त्ररुपले चल्नुपर्ने धारणाको वकालत गर्ने ! यत्तिमात्रै पनि लामो बहसको विषय हुनसक्छ । अर्को प्रभाव भनेको जब सरकार विवादमा पर्छ त्यतिबेला कर्मचारीतन्त्र सक्रिय हुन चाहन्न । धेरै निर्णयहरु हुँदैनन् ।
अहिलेको परिवेशमा त धेरै कानुनहरु बनाउन बाँकी रहँदा रहँदै पनि संसद बैठक स्थगित गरिएको छ । त्यो पनि यही द्वन्द्वकै परिणाम हो भन्ने सबैलाई थाहा छ । अर्को पष अस्थिरता कसैले चाहँदैन । यसलाई अझ प्रष्ट पार्ने हो भने नेपालको हित चाहनेले अस्थिरता चाहँदैन । यही विचारसँग जोडेर व्यक्तिको राष्ट्रवादलाई समेत जाँच गर्ने चलन पनि छ । तर पनि सत्तामोह कस्तो गजबको हुने रैछ भने यसमा नैतिकता, त्याग, जिम्मेवारीजस्ता कुराहरुको स्थान हुने रैनछ ।
मैले कतै लेखेको छु, सायद कवितामा हो कि ? सत्ता अफिम हो कि धर्म अफिम हो यो बुझ्नै नसकिने भएको छ । कुनको नशा बढी हुन्छ भनेर सोध्ने हो भने अफिमबारे मेरो केही अनुभव त छैन तर मैले कत्ति ढिला नगरेर सत्ताकै नशा बढी हुन्छ भनेर भनिदिन सक्छु । यो एउटा पक्ष हो । अर्को पक्ष नेतृत्व कुनै खेलवाडको विषय होइन । यत्तिबेला आम कायृकर्ता वा जनताको विश्वास जितेका नेताको देशमा खडेरी नै छ । हुन त यस्तै परिवेशले सच्चा नेता जन्माउँछ भनेर आशावादी कुरा पनि गरिन्छ ।
म चाहन्छु यो सत्य होस् र सकेसम्म चाँडो प्रमाणित पनि होस् तर वास्तविकता भने अलग छ । यहाँ जति एकता हुन्छन् त्योवैचारिक समन्वयको आधारमा नभएर शक्ति सञ्चयनको लागि मात्र हुने गरेका छन् । त्यस्तै जति समर्थन कार्यकर्ता वा जनताबाट हुने गरेका छन् यसको कारण या त व्यक्तिगत स्वार्थ बढी छ या त अन्य दल वा अन्य विचारप्रतिको पूर्वाग्रहले प्रेरित गरिरहेको छ । पूर्वाग्रहले आफूमा कमजोरी छ कि छैन भनेर सोच्ने समय नै दिँदैन ।
आफूले गल्ती गरेको छ कि छैन भनेर मूल्यांकन गर्ने फुर्सद नै हुँदैन अथवा आवश्यकता महसुस नै गरिँदैन । मानिसको स्वाभाव हो, ऊ निशर्त विलिन हुन चाहँदैन । त्यसमा पनि सक्रिय राजनीति गर्नेको अझ केही उद्देश्य नभए पनि सत्ता प्राप्तिमा सत्ताभोग त लक्ष्य रहन्छ नै । यो नपाएपछि छटपटी बढ्नु स्वाभाविक हो । यस्तोमा नेतृत्वको पद अध्यक्षसमेत दुईवटा गराएर सन्तुलन मिलाउने प्रयास अति सीमित समयका लागि पाच्य होला अन्ततः यदि सबैभन्दा ठूलो द्वन्द्वको कारण हुनु स्वाभाविक नै हुन्छ ।
२०७७ साउन ११ गते
आज अली बढी नै ढिलो गरेँ । केही काम भएर होइन । यो पहिलोपल्ट त होइन तर यति धेरै ढिलो भयो भने कहिलेकाहीँ आफ्नै बारेमा सोच्छु र आफ्नैसँग अली असन्तुष्ट हुन्छु । मैले सानैदेखि सुनेको छु र आजभोलि पनि सुन्छु उमेर बढेपछि अथवा भनौ बुढो भनिन योग्य भएपछि निद कम लाग्छ । त्यसैले बिहानै आँखा खुल्छन् आदि आदि । मसँग त्यो नियमितता पनि कहिल्यै बनेन । त्यो पक्षमा पनि म अनियमित नै रहेँ । निद कतिबेला लाग्छ भन्ने पनि थाहा हुँदैन । कहिले सुत्दावित्तिकै कहिले अलिबेर नलाग्ने ।
कतिपल्ट बीचमा निद खुल्ने अनि नलाग्ने । यस्तै यस्तै भयो भने बिहान निद लाग्ने । यस्तो अनुभव मैले अरुबाट सुनेको छैन । सबैले चाँडो ब्यूँतेको कुरा गर्दा म चुप लागेर सुनिरहन्छु । एकपल्ट सबै बसेको बेला भनेको छु मैले सकेसम्म ढिलो गर्छु भनेर । तर कतिपल्ट नचाहेर पनि आफैसँग लाज लाग्ने गरी ढिलो भएको अनुभव पनि छ । यसले केही खास काम बिग्रेको अनुभव त छैन तर आफ्नैसँग लाज लाने आफैसँग दिक्क लाग्ने स्थिति भोगेको भने पक्कै छु । आज पनि त्यस्तै त्यस्तै भएकोले त्यस्तै सोचमा केन्द्रित भए । आजबाट फेरि पुरानै प्रक्रिया सुरु गर्ने निर्णय गरेको छु । हप्तामा दुई दिन दाह्री काट्ने, सकेसम्म दिनदिनै घोराहीसम्म जाने ।
बिहान मन्दिरसम्म पुग्न तसुरु गरिसकेको छु अझ आजबाट सुरु गर्ने मन बनाएको मात्रैले पनि रमाइलो लागिरहेको छ । पानी पर्छ कि भन्ने सस्पेन्स छ । त्यहाँ गएर मिल्दा साथीभाइहरुसँग बस्ने, गफ गर्ने, हाँस्ने रहर छ । जीवनलाई पूर्णरुपमा सामान्य बनाउने इच्छा छ । तर पनि आजको ढिलोले अली दिक्क लगाएको छ । कति सुत्न सकेको ? कति ढिलो गर्न सकेको भन्न मन लागेको छ, आफैलाई । केही कुरामा पनि नियमित हुन नसकेकोमा पनि आफ्नो कमजोरी नै देखेको छु । त्यसले पनि दिक्कलाई थप उकासेको छ ।
जीवनमा नियमितता हुनुपर्छ । त्यसले जीवनलाई सक्रिय बनाउन सहयोग गर्छ । सक्रिय जीवन बाँच्न सजिलो हुन्छ । यो मेरो सोच हो अथवा म यो सोचसँग सहमत छु । तर आफैलाई मैले नियमित बनाउन सकेन अथवा चाहेन । आफ्नै सोचअनुसारको जीवन बनाउन पनि नसक्नुलाई आफ्नो कमजोरीकै रुपमा स्वीकारेको छु । यही कमजोरी कहिलेकाहीँ आफ्नै लागि हाँसोको विषय पनि बन्छ । कहिले दिक्क लाग्ने विषय पनि बन्छ । यसले आफू जस्तो विषय बनेर मनमा आउँछ त्यस्तै प्रतिक्रिया दिन्छ । आज अलि ग्लानिजस्तो अनुभव भएको छ । यस्तो भावनाबाट जतिसक्दो चाँडो मुक्त हुनुपर्छ भन्ने थाहा छ ।
केही बेरमै मुक्त हुनु पनि सकूँला तर अहिले यसले यति धेरै प्रभाव पा¥यो कि आजको विषय नै बन्यो । अरु त्यस्तो प्रभाव पार्ने विषय वा घटना केही नभए पनि यस्तो हुन्छ सायद । यस्तै यस्तै बेला विषयहरु छानेर लेख्ने भए यस्ता कमजोरीहरु डायरीमा कोरिने थिएनन्जस्तो पनि लाग्छ तर त्यसो गर्दा नियमितता धान्न सकिने पनि थिएन । सुरु गर्दाको प्रतिबद्धता पूरा गर्न पनि सकिने थिएन । म आफू आफ्ना कमजोरीहरु नढाँटेर स्वीकार गर्ने प्रतिबद्धता गरेको मानिस यस्ता कुराबाट दिक्क मान्नु हुँदैन ।
अरु पनि त धेरै कमजोरीहरु छन्, ममा । जीवनसँग कमजोरी हुनु अस्वाभाविक पटक्कै होइन । कसैसँग कम होला, कसैसँग धेरै होला तर कमजोरी नभएको जीवन कसैको हुँदैन । यो मेरो विश्वास हो । म धेरै कमजोरी भएकाहरुको समूहमा पर्छु । यो मेरो स्वीकारोक्ति हो । सायद यही स्वीकारोक्तिले ममा कमजोरीविनाको जीवन हुँदैन भन्ने विश्वास जगाएको हो । कमजोरी आफैमा मानवीय गुण हो । यसबारे तर्सिनु वा भाग्नु पर्दैन ।