भुवन पोख्रेल
नेपाली कांग्रेस नेपालको एक समाजवादी राजनीतिक दल हो । यो दलको स्थापना २००६ चैत्र २७ मा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट भएको हो । यो दल जसले नेपाललाई नागरिक अधिकार स्थापना उन्मुख र प्रजातन्त्रको मार्गप्रशस्त गरायो । कांग्रेसको गोरवमय इतिहास छ भनेर मात्र हुँदैन, यसको आश लाग्दो वर्तमान पनि हुनुपर्छ । इतिहास स्वर्णिम भएर मात्र हुँदैन ।
इतिहासबाट प्रेरणा लिएर विधिको बाटोको भ¥याङ चढ्नुपर्छ, अनि मात्र दलको अस्तित्व युग–युगान्तर बाँचिरहन्छ । इतिहासका गाथामा अल्झिएर मात्र हुँदैन । दल भविष्यमुखी हुनुपर्छ अनि मात्र सर्वस्वीकार्य बन्न पुग्दछ । आशलाग्दो वर्तमान र अनुहार हुनु त पर्छ नै एउटा राजनीतिक दल देशका भविष्यको आशा र भरोसा पनि बन्नुपर्छ । यदि त्यसो भएन भने यो पार्टीको नियति प्रजापरिषदको जस्तै बन्न पुग्दछ । कांग्रेसका नेता कार्यकर्ताले आफ्नो दल कता छ, आत्ममूल्यांकन गर्नु जरुर िछ । कहाँ थियो अहिले कहाँ पुगेको छ आत्मसमीक्षा र आत्मालोचना गर्न ढिला भइसकेको छ ।
आज कांग्रेसको नियति कहिले यो बैसाखी त कहिले त्यो बैसाखीको भरमा राज्यसत्तामा पुग्नुपरेको छ । दल विशेषको इतिहासमा विशिष्ट योगदान हुँदैमा आफ्ना संस्थापक नेताहरुको नाम लिँदैमा, कुनै पनि दल अब मतदातालाई स्वीकार्य भइहाल्दैन । मुलुकमा ठूला तीनवटा राजनैतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने दल नेपाली कांग्रेस हो तर पनि युवा पिढीको आकर्षणको केन्द्र नेपाली कांग्रेस बन्न नसक्नुलाई विडम्बना ठान्नुपर्छ । कांग्रेस बुढापाकाको मात्र पार्टी बन्नु भनेको यसको अस्तित्वमा संकट पर्नु हो ।
कांग्रेसको नेतृत्व् आफ्नो मृत्युपर्यन्त पार्टीको सिंहासनमा रहन चाहन्छ । कांग्रेसका नयाँ भनिएका नेतृत्वका प्रत्यासीहरु पनि अतीतको गौरवमय इतिहासका गाथा गाएर पार्टीलाई उर्जाशील बनाउन सकिँदैन भनी हस्तक्षेपकारी भुमिका खेल्नुको साटो यही अतीतगाथा दोहो¥याए स्वतः आफ्नो औचित्य स्थापित हुन्छ कि भन्ने सोचमै बन्दी देखिन्छन् । आर्थिक, सामाजिक हरेक दृष्टिले नेपालमा नयाँ चुनौती थपिएका छन् । ती चुनौतीको सामना गर्दै देशमा कसरी सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा प्रत्यासी नेतृत्ववर्गले सोच्नु पर्दछ । चौधौँ महाधिवेशनको तयारीमा लागेका कांग्रेसका नेता र यसका पंक्तिलाई त झनै सोचनीय विषय हो, यो ।
वर्तमान र भावी पुस्ताका निम्ति आशा र भारोसाको केन्द्र बन्न सक्नुपर्छ, नेपाली कांग्रेस पार्टी । आगामी महाधिवेशनमा नेतृत्व चयन गर्दा कांग्रेसपंक्तिले कस्तो विचारको पक्ष लिन्छ ? त्यसैले यसको भविष्य निर्धारण गर्छ । अहिले नेपाली कांग्रेसको महाधिवेशन अन्योलमा छ । आउँदो भदौ २३ गते नेपाली कांग्रेसको महाधिवेशन भएको साढेपाँच वर्ष पूरा हुँदैछ । विधानतः चार वर्षमा गनुपर्ने महाधिवेशन विशेष कारण देखाएर थपिएको एक वर्ष पनि नगरी सकिँदैछ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते आफ्नो प्रतिवेदन बुझाएको यति समय भइसक्यो ।
अझै यसमा रहेका विवादहरुलाई केन्द्रीय समितिले टुङ्ग्याउनसकेको छैन । कसरी महाधिवेशनको माहोल सिर्जना हुने हो । महाधिवेशनको पहिलो सर्त नै क्रियाशील सदस्यहरुको नामावली प्रकाशन हो । त्यसका लागि त्रिलयाशील सदस्यता वितरण देखिएको विवाद सुल्झाउन आवश्यक छ । जुन अहिलेसम्म सुल्झाउने साटो उल्टै बल्झिएको छ । यसले महाधिवेशन अन्योलपूर्ण बन्दै गइरहेको छ । डेढवर्षदेखि मुलुकमा कोरोना महामारी छ । कांग्रेसले महामारी अघि नै आफ्नो महाधिवेशन गरिसक्नुपथ्र्यो । त्यो त गरेन गरेन थपिएको एक वर्षमा पनि महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्न सकेन ।
समय सीमा भित्र महाधिवेशन सम्पन्न गर्न नसक्नु नेतृत्वकै असफलता हो । केन्द्रीय कार्यसमितिकै कमजोरी हो । वहाना जे–जे गरे पनि जसले जसलाई दोषारोपण गरे पनि कर्यासमितिकै नालायकीपन हो । लोकतान्त्रिक मूल्य मन्यताप्रतिको अटेरीपन हो । कांग्रेसका नेताहरु अहिले एमालेको महाधिवेशन भएको सात वर्ष भयो भन्ने तर्क झिकिरहेका छन् । आफूले मुलुकको संविधान, कानुन र आफ्नो पार्टी विधानमा उल्लेखित पार्टी महाधिवेशनसम्बन्धी व्यवस्थालाई माने त भैगो नि । अरुलाई देखाएर आफ्नो गल्ती किन ढाकछोप गर्ने ?
कोरोना कहर अझै बाँकी छ । अझै मत्थर भएको छैन । यसबाट बच्न निकै सावधानी अपनाउनुपर्ने अवस्था छ । भीडभाड गर्ने माहोल छैन । यस्तो परिस्थितिमा ५–७ हजार मानिस एकै ठाउँमा भेला भएर महाधिवेशन सम्पन्न गर्न सकिँदैन । त्यसर्थ, प्रविधिमैत्री महाधिवेशन एउटा विकल्प हुनसक्छ । कोरोना कहरकै बीच इलेक्ट्रोनिक भोटिङबाट प्रदेश र केन्द्रको अधिवेशन सम्पन्न गर्न सकिन्छ । अब प्रविधिबाट भाग्न हुँदैन प्रविधिलाई आत्मसात गरेर अघि बढ्नुपर्छ । कोरोना कहरलाई अवसरको रुपमा लिँदै महाधिवेशनलाई प्रविधिमैत्री बनाउनुपर्छ तर मुख्य नेताहरु अझै प्रविधिमैत्री महाधिवेशनलाई आत्मसात गर्न सकिरहेका छैनन् ।
यस्तो अन्योलपूर्ण अवस्थामा कांग्रेस महाधिवेशन तत्काल हुने नहुने अन्योल छ तर कांग्रेस नेतृत्व भदौ तेस्रो साता वडा अधिवेशन गरेर महाधिवेशन सक्रिय आरम्भ गर्ने र पार्टीलाई अवैध हुनबाट जोगाउने र यो प्रक्रियालाई मंसिरमा सम्पन्न गर्ने दाउँमा रहेको छ । भदौ तेस्रो साता वडा अधिवेशन आरम्भ गर्ने र त्यसपछि लम्ब्याउने विकल्प नेताहरुबीच छलफलमा छ । किनकि यसबीचमा दसैँ, तिहार, छठजस्ता पर्वहरु पर्दछन् । यस्तो भयो भने भदौमा आरम्भ भएको महाधिवेशन प्रक्रिया मंसिरसम्म मात्र सम्पन्न हुनसक्छ । वडादेखि केन्द्रीय महाधिवेशनसम्म आइपुग्दा वडा, गाउँ, नगर, प्रदेश, क्षेत्र, संसदीय निर्वाचन क्षेत्र, जिल्ला प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्म अधिवेशनका चरणहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
पार्टीको कार्यशैली नबदलिएसम्म परिवर्तन आउँदैन । पार्टीमा नेतृत्वलाई चुनौती दिनसक्ने साहसी कोही नभएपछि परिवर्तन दोबाटोमै अल्मलिन्छ । अहिले विधिको बाटोमा हिडेर विसंगत अवस्थालाई तोडेर एउटा लय पकड्नु कांग्रेसको प्रमुख चुनौती हो । कोरोना महामारी झन बढेर गएको छ । यस्तो अवस्था देख्दादेख्दै जनतालाई जोखिममा धकेलेर महाधिवेशनको तिथि तय गर्नु गाह्रो छ । कांग्रेस कार्यकर्ताका लागि महाधिवेशन उत्सव हो । अहिले तत्काल महाधिवेशनको तिथि तय गरिदिए मात्र पनि सबैजना देश दौडाहामा निस्कन्छन् । त्यसले जागरण होइन, जोखिम निम्त्याउँछ । कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । भदौ १८ देखि वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन सकाउने निर्णय केन्द्रीय कार्यसमितिले गरेको छ ।
जनताले आफूहरुलाई वैकल्पिक नेतृत्वका रुपमा लिएका छन् भन्नेमा कांग्रेसका नेताहरु सचेत हुनुपर्छ । यदि परिस्थिति सामान्य अवस्थामा फर्कियो भने महाविधेशन पनि तोकिएको समयसीमामा सम्पन्न गर्न सकिन्छ । अहिले कांग्रेसप्रति सबैको जिज्ञासा उसले वैकल्पिक सरकारको नक्सा कोर्न सक्छ कि सक्दैन भन्नेमा सीमित भएको छ । कांग्रेससामू केही प्रष्ट चुनौती छन् । पहिलो, नेतापिच्छे बोली र व्यवहारमा देखिने अन्योल र द्विविधिा, दोस्रो संसदको प्रभावकारीका लागि गर्नुपर्ने सक्दो प्रयास । संसद पुनःस्थापनाको नयाँ आयामलाई प्रष्ट रुपमा आत्मसात गर्नका लागि आत्मविश्वासका साथ कांग्रेस परिचालन गर्नसक्ने नेतृत्वको खाँचो छ ।
कथमकदाचित ताजा विचार कांग्रेसले दिनसकेन भने अर्को चुनौती थपिनेछ । कम्युनिस्ट राजनीति अहिले इतिहासकै कठिन मोडमा फसेको छ । यस्तो विषम परिस्थितिमा कांग्रेस सरकारमा छ सबै पक्षलाई मिलाएर मुलुकलाई राजनैतिक स्थिरतातर्फ लैजानु कांग्रेसका लागि चुनौती छ । कांग्रेस महाधिवेशन नजिकिँदैछ । यस्तो परिस्थितिमा कांग्रेसले आन्तरिक कलहबाट माथि उठेर सक्षम, सवल र सबैलाई मिलाएर अघि बढ्नसक्ने जुझारु नेतृत्व छनोट गर्नु पर्दछ । आन्तरिक विवादमा अल्झिएर नेतृत्व छनोटमा पारदर्शी प्रक्रिया नअपनाउने हो भने कांग्रेसको नियति अन्य कम्युनिस्ट पार्टीकोझैँ भइदिन्छ ।
नेतृत्वमा खिार र बलियो इच्छाशक्ति चाहिन्छ । झोला बोकेको र पछि लागेको भरमा नेतृत्वमा पुगनेहरुबाट सामाजिक रुपान्तरणको आशा राख्न सकिँदैन । अनुभव, लगाव, जागरुक, प्रेरित व्यक्तिले मात्र मुलुकमा परिवर्तन ल्याउन सक्दछ । कांग्रेस अभ पुरानै ढर्राबाट अघि बढ्ने हो भने पुरानै नियति भोग्नु पर्दछ । अबको महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले कांग्रेसको भविष्य कता जाने मार्गचित्र कोर्छ । नेतृत्व खारिएको, माझिएको सवल, जागरुक र उत्साही छनोट गर्न सकियो भने यसले कांग्रेसको सुन्दर भविष्य निर्माण गर्दछ ।
कुनै पार्टी दल कतातिर जाने भन्ने कुरा नेतृत्वको विवेक र सक्षमतामा भर पर्दछ । तसर्थ, अबको महाधिवेशनमा नयाँ नेतृत्व छनोट गर्दा कांग्रेसका नेता र कार्यकर्ता निकै चनाखो हुनुपर्छ । अब नेपाली कांग्रेसको सान र मान बचाउन ऐतिहासिक गौरवमय गाथा गाएर सकिँदैन । पुरानो दल हो हरेक राजनैतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको दल हो भनेर वर्तमानमा पहिचान बनाउन सकिँदैन । कांग्रेसको भविष्य कस्तो हुने भन्ने कुरा चुनिने नयाँ नेतृत्वको हातमा छ । पुरानै ढर्रामा पार्टी सञ्चालन गर्न खोज्ने, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न नचाहने, नयाँ पिढीलाई विश्वास नगर्ने आफू नभए अरुले पार्टी हाँक्न सक्दैनन् भन्ने पुरातन सोचले पार्टीभित्र नयाँ नेतृत्व र सोचको जन्म हुनसकेको छैन ।
सबै आफ्नो पछि लागून भनेर अनुयायी मात्र बनाउने सोचले परिवर्तन ल्याउन सक्दैन र नयाँ विचार, उत्साह र जागरण आउँदैन । अब पुरानो पुस्तामा काम गर्ने जोश जाँगर देखिँदैन । त्यसर्थ विस्तारै नयाँ पुस्ताको काँधमा जिम्मेवारी दिँदै सल्लाहकारको भूमिकामा पुरानो पुस्ता बस्नुपर्छ । नेपाली कांग्रेस पुरानो पुस्ताको पार्टी हो बुढो पार्टी हो यसमा नयाँ सोच, जोश, जाँगर छैन भन्ने अहिलेका युवा पुस्तामा देखिएको छ । यसलाई चिर्नका लागि पनि नेतृत्वमा युवा पंक्ति आउनु आवश्यक छ । नेतृत्वमा युवा पिढी आउने हो भने यो पार्टी युवाहरुको आकर्षणको केन्द्र बन्छ । युवाहरु अहिले नेपालका राजनैतिक दलहरुप्रति सकारात्मक छैनन् ।
यस्तो परिस्थितिमा नेपाली कांग्रेसले युवाहरुको मतलाई कदर ग¥यो भने फेरि कांग्रेसको लहर आउँछ । यसको सुरुवात यही महाधिवेशनबाट गरियो भने आगामी चुनावमा कांग्रेसको भविष्य सुनिश्चित गर्न सकिन्छ । खाली इतिहासका गौरवमय गाथा गाएर कुनै पनि दल वर्तमानसम्म बाँचिरहने र भविष्य सुनौलो हुने होइन । पार्टीले गरेको योगदान युगयुगान्तर रहला तर विगतमा नेपाली कांग्रेसले देश र जनताका लागि ऐतिहासिक कदम उठाएको थियो भनेर वर्तमानमा हात बाँधेर बस्यो भने यसको आशलाग्दो भविष्य हुँदैन ।
विगतदेखि वर्तमानसम्म कांग्रेसका कदमहरु देश र जनताका लागि अघि बढेका छन् भन्ने महशुस भयो भने पार्टी जिवन्त भइदिन्छ । युवापंक्तिको साथ, सपोर्ट र भरोसा नेपाली कांग्रेसले पाउनसक्यो भने यसको भविष्य पनि सुनौलो भइदिन्छ । विडम्बना के छ भने कांग्रेसका शीर्ष नेतृत्वले आफू मृत्युश®यामा नपुग्दासम्म पद हस्तान्तरण गर्न नचाहने प्रवृत्ति । उमेरसँगै मानिस शारीरिकक, मानसिक हरेक हिसाबले कमजोर भइदिन्छ । निर्णय गर्ने क्षमता, जोश, जाँगर, इच्छाशक्ति कम हुन्छ । युवा जोशले उत्साहको लहर ल्याउँछ । परिवर्तनको बाढी ल्याउँछ ।
कांग्रेसमा पुस्ता हस्तान्तरण गरी पार्टीमा सुदृढीकरण गर्न जरुरी छ । आसन्न महाधिवेशनमा पार्टीका युवा नेताको काँधमा जिम्मेवारी सुम्पनु अनिवार्य सर्त हो । अघिल्लो सरकारले गरेका गल्तीहरुलाई सच्याउनुको साटो उही गल्ती दोहो¥याउने हो भने कांग्रेसको भविष्य आशालाग्दो हुँदैन । पार्टीलाई युगयुगान्तर बचाइराख्नका लागि पुरानै ढर्रामा अघि बढेर सफलताको मार्गचित्र कोर्न सकिँदैन । पार्टीलाई जीवन्त बनाउन पनि युवा पिढीले आफ्नो हस्तक्षेपकारी भूमिका आसन्न महाधिवेशनमा देखाउन सक्नुपर्छ । युवा पिढीबाटै सामाजिक रुपान्तरण र परिवर्तनकारी भूमिकाको आशा र भरोसा जनताले गरेका हुन्छन् ।