गुरुप्रसाद शर्मा रेग्मी
एउटा नेताले निष्ठा र आस्थापूर्वक गरेको देश सेवा र जनसेवाको उच्च मूल्यांकन गरेर नै जनताले सलााई मानसम्मान गरेर आस्थाको केन्द्र बनाएका हुन्छन् । यो मानसम्मान सुरक्षित राख्न र आस्थाको केन्द्र बनाइराख्नको लागि नै राजनीतिक मूल्य, मान्यता, आदर्श र सुदृढ नैतिकता र चारित्रिकताको अनिवार्य गराएको हुनुपर्दछ । तर, नेताहरुले गल्ती के गर्दछन् भने जनताले दिएको त्यो सम्मान र आस्था केन्द्रको स्थानलाई आफ्नो व्यक्तिगत योग्यताको प्रतिफल मानेर राजनीतिक मूल्य, मान्यता, आदर्श र चरित्रलाई तपसिलमा राख्न थाल्छन् ।
आफ्नो अहंकार र दम्भलाई अधिकार सम्झन थाल्छन् । जब आफ्नो अहंकार र दम्भमा कमी आउन थालेको अनुभूति गर्दछन् तब बढी प्रतिष्ठा र सम्मान बढाउने आतुरताले आफ्नै दलका साथीहरुका खुट्टामा छिट्की हान्न थाल्छन् । दल विभाजन गराउने, बडो सुविधा र सहुलियत दिएर झेलिहरुको पल्टन तयार गर्ने, अपराधीहरु र तस्करहरुसँग मिलोमतो गर्ने अत्कण्डा उत्पन्न गराएर सत्ताको जोहोमा लागिरहेका हुन्छन् । जसले गर्दा अनेक अवैधानिक र गैरराजनीतिक आपाधापीमा लागिरहेका हुन्छन् । यस्ता दहीच्यूरे नेता सबै दलमा बाक्लिँदै गएको अवस्था भएकाले राजनीतिको दूरदशा हुनगएको हो । ऐस लोलुपता, पद लोलुपता, अहमता जस्ता कुरा कहीँकतै लुकाएर लुक्नसक्ने कुरै होइन ।
प्रकट भएर जान्छ जान्छ । जब प्रकट हुन्छ तब उसप्रतिको घृणा तिरस्कार उर्लिन थाल्दछ । अनौचित्यको यो भाव सर्वप्रथम आफ्नै दलका साथीहरुबाट प्रारम्भ हुन्छ । त्यो बढ्दै गएर जनताको सामू नाङ्गिँदै गएका हुन्छन् । आफूले पाएको पद र जनताले दिएको सम्मानबाट पनि वञ्चित हुनु पर्दछ । नेपालका राजनीतिक दलका नेताहरुलाई हेर्ने हो भने प्रायः सबै दलका केही न केही नेताहरु आफ्नै प्रपञ्चमा डुबेर धरासायी हुने प्रवृत्ति र प्रकृतिमा कुनै कमी आएको देखिँदैन ।
आडम्बर र दम्भ भन्ने कुरा धनविद्या, बुद्धि, ज्ञान, सौन्दर्य, पद हरेक क्षेत्रको ागि महँगो हुन्छ । यो कुरा जान्दाजान्दै पनि आफूलाई अरुभन्दा विशिष्ट बनाउन अनेक प्रकारका आडम्बर खडा गरी सबैले देखून भनेर देखाउने, सबैले सम्झिउन, सबैलाई प्रशंसा र सराहना गर्न लगाउने सोच राख्दछन् । त्यसको लागि फेसन ढाँट, बाँट, विलासी र शान सौकतको जीवनमा बढी खर्चिलो सरजामका गाइजात्रा जस्तो विज्ञापनबाजी गरिरहेको देखिन्छ ।
यसो गर्दा देख्ने मानिसको दृष्टि सबैमाथि जाओस् भनेर पद लोलुप, धनलोलुप नेताहरुले अपनाएर राजनीतिक अस्तित्व बचाउने कूचेष्टा गरेका हुन्छन् । तर यसले उनीहरुको क्षुद्रता र अपमान नै प्रकट भएको हुन्छ । त्यस्ता नेतालाई घृणा र तिरस्कारको पात्र बन्नुपरेको हुन्छ । यस्ता नेताहरु सत्ता र सम्पन्नताका लोभि हुने भएकाले उनीहरु राष्ट्रिय धन लुटेर सम्पन्न बन्ने सम्भावना पनि अत्यन्त नजिक जोडिएको हुन्छ । तर यस्तो गर्ने नेताहरु आन्तरिक दृष्टिले वा वाह्य दृष्टिले पतीत हुँदै गएका घटना हाम्रै आँखा अगाडि छन् ।
यो संसारमा जन्म लिएका मानिसहरुले सौभाग्यले मानिसको जीवन पाएको हुन्छ । समय र परिस्थितिले निर्माण गरिएको सुन्दर जीवनलाई आफ्नो सही विचार र व्यवहारले अझ सुन्दर र सार्थक जीवन बनाउन पर्याप्त अवसर दिएको हुन्छ । यस्तो गौरवमय अवसर पाएका यी देशका नेताहरुले देशका जनतालाई स्नेह र वात्सल्यता दिने मात्र होइन । अनुशासन, मर्यादा र नैतिकताको संस्कार दिएर देशको विकास र निर्माणमा सहयोगी बनाउन सक्नुपर्दछ ।
नेताहरुको एउटा आँखा जनतामा स्नेह बाँड्दै हिड्नु पर्दछ भने अर्को आँखाले जनतामा सुधार र उद्यमशीलको बाटो देखाउँदै हिड्नु पर्दछ । यसो भयो भने शिष्टता र सम्यमशीलता पनि झाँगिँदै जान्छ । तर विडम्बना के भइदियो भने यो देशका नेताहरुले गलत संस्कार दिएर हत्या, हिंसा, तस्करी, भ्रष्टाचारी, बलात्कारीको संस्कार बाँड्दै हिेकाले न कुनै नेता राजनेता बन्न सके न जनतालाई सुसंस्कृत बनाउन सके । यही कारणले गर्दा आज मान्छेलाई मान्छेसँग डराएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यो धरातलीयरुपी स्रस्टाको उद्यानलााई अधिकाधिक समुन्नत र सुसंस्कृत बनाएर आत्मकल्याण धरातलीय कल्याण बनाउने कुनै दलका नेतासँग न कुनै ठोस लक्ष्य भएको देखिन्छ न कसैको ठोस गन्तव्यको चिन्तन नै देखिन्छ । आत्म विकासको लक्ष्य र चिन्तनले देश र देशबासीको विकासमा कुनै पनि सार्थक भुमिका खेल्न सक्दैन । समयलाई जीवन मानेर जसो समयको जति बढी सदुपयोग गर्न सक्नुछ त्यो नेताले नै लक्ष्य र गन्तव्य बनाउन सक्छ र उन्नति र प्रगतिको एउटा ठोस मापदण्ड बनाउन सक्दछ ।
कुन नेताले आफ्ना कार्यमा कति नैतिकता र उदारता देखायो त्यही नै उसको अगाडि आएर उभिएको हुन्छ । कसले कति योजनाबद्ध तरिकाले देश र देशबासीको समुन्नति ग¥यो भन्ने कुराको नै सबैले मूल्यांकन गर्ने गर्दछन् । तर यो देशका नेताहरुले देश र देशबासीको समुन्नतिलाई तपसिलमा राखेर आफ्नो समुन्नतिका योजना बनाउने अनि देशको उन्नतिमा लागेको छु भन्ने नेताहरुको बाक्लो जामात भएकाले नै यो देशका धनी जनतालाई गरिब भएर बस्नु परेको हो ।
राजनीतिको दूरावस्था हुन गएको हो । यस्तो दूरावस्थाको सुधार गर्नलाई जनतामा नयाँ चेतना आउनु पर्दछ र परिवर्तनको एउटा नयाँ बाटो समाउन नसकेसम्म देशलाई यही दूरावस्थामा बस्नुपर्ने छ ।