भुवन पोख्रेल
मानिस सामाजिक प्राणी हो । मार्क जुकरवर्गले यही सोचेर मानिसलाई भर्चुअल दुनियामा सामाजिक बनाउने प्रयास स्वरुप फेसबुक बनाए । सामाजिक सञ्जाल मानिसहरुलाई जोड्ने एउटा माध्यम हो । यो अहिले बालक, युवा, बृद्ध सबै पुस्ताको साथी बनेको छ ।
मानिसले आफ्ना भावनाहरु सामाजिक सञ्जालमा पोख्ने र रमाइला क्षणहरु शेयर गरेर एकअर्कामा खुसी बाँड्ने गर्छन् । खुसी मात्र नभई दुःख बाँड्ने ठाउँ पनि बनेको छ सामाजिक सञ्जाल । अझ कसैलाई रिस पोख्ने माध्यम पनि सोसियल मिडिया बन्न पुगेको छ । सामाजिक सञ्जालले एकान्तपन हटाउने मद्दत गरेको छ । सामाजिक सञ्जाल नै पहिलो साथी बन्न पुगेको छ ।
कम्प्यूटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत् आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वोवसाइट एवं इन्टरनेटको माध्यमबाट प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो ।
यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको सामूहिक रुप हो । फेसबुक, युटुब, भाइबर, ट्विटर आदि सामाजिक सञ्जालका उदाहरणहरु हुन् । यसमा मानिसले आफ्नो समयको धेरै हिस्सा बिताउँछन् । सामाजिक सञ्जालबाट सूचना आदानप्रदान छिटोछरितो गर्न सकिने तथा घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ । महत्वपूर्ण कागजात फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिन्छ ।
कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रशारण गर्न सकिन्छ । घरमै बसेर खरिदविक्री गर्न सकिने । आफ्ना विचार भावना राख्न सजिलो हुन्छ । सारा विश्वलाई नै एउटै गाउँमा ल्याउन सहयोग पुग्दछ । अध्ययन, अनुसन्धान एवं लेखान कार्यमा सघाउ पुग्दछ । व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय, सबैले हरेक काममा सामाजिक सञ्जाललाई प्रयोगमा ल्याउन सक्दछन् ।
अहिले कोरोनाको संक्रमणको कारण विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा प्रत्यक्ष अध्ययन, अध्यापन कार्य गर्न सकिएको छैन । यस्तो विषम परिस्थितिमा सामाजिक सञ्जाल शिक्षण सिकाइको वैकल्पिक माध्यम बन्न पुगेकोछ । सूचना प्रविधिको द्रूत विकाससँगै सामाजिक सञ्जालप्रतिको आकर्षण बढिरहेको छ । यसप्रति किशोरकिशोरीदेखि बृद्धबृद्धाहरुको मोह बढेको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका घटना बढिरहेका छन् । यसले सामाजिक जीवनलाई नै आक्रान्त तुल्याएको छ ।
सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबरलगायतका कारण हत्या, हिंसा, बलात्कार, यौन दुव्र्यवहार, लुटपात, शिकारी तथा मानव बेचविखनका घटनाहरु हुने गरेका छन् । कतिपय घटना जानेर भएका छन् भने कतिपय अञ्जानमा घटेका छन् । यसको मार युवायुवती वा किशोरकिशोरीले बढी भोगिरहेका छन् । सामाजिक सञ्जालको लतले अनुत्पादक क्षेत्रमा समय खेर फाल्नु दुःखद हो । यसले प्रयोगकर्तालाई नकारात्मकतातर्फ धकेलिइरहेको हुन्छ । सँगसँगै ठूलो धनराशी पनि यसले खर्च गराइरहेको छ । यसका सकारात्मक पक्ष भने हामीले सधैँ बिर्सिरहेका हुन्छौँ ।
इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग गर्नसके विश्व बजारमा सजिलै बिक्न सकिन्छ भन्ने ज्ञान प्रयोगकर्तामा हुनुपर्छ । युवा जामातमा सामाजिक सञ्जालको लत बढी छ । त्यसर्थ, विद्यालय तहको पाठ्यक्रममै सामाजिक सञ्जाल के हो ? यसको फइदा, बेफाइदा के छन् ? बालबालिकाले यसको सदुपयोग कसरी गर्ने ? सिकाउनु पर्छ । अभिभाकले बच्चाले इन्टरनेटमा कस्ता सामग्री हेरिरहेका छन् ? यो उनीहरुको व्यक्तित्व विकासमा कति सहयोगी बनेको छ भन्ने विषयमा जानकारी राख्नुपर्छ ।
इन्टरनेटमा धेरै समय भिडियोगेम खेल्न बिताउने, अनावश्यक अनलाइन सपिङ गर्ने, फेसबुक, युटुबजस्ता माध्यममा आउने सूचना घरिघरि हेर्नु, यस्तो बानीबाट आफूलाई परिवर्तन गर्न नसक्नु लत बसेको अवस्था हो । यस्तो समस्या धेरैमा हुन्छ । साइबर रिलेशन एडिक्सन अर्थात् धेरै मात्रामा च्याट, म्यासेन्जर, फेसबुक, इस्टाग्राम वा इमेलजस्ता सामाजिक सञ्जालको प्रयोग गरिराख्ने लत यसको नकारात्मक असर हो ।
साइबर सेक्सुअल एडिक्सन अर्थत् धेरै मात्रामा इन्टरनेटमा पाइने यौन उत्तेजनात्मक लेख, पोष्टर र भिडियोको लत पनि सामाजिक सञ्जालका नकारात्मक असर हुन् । इन्टरनेट तथा स्मार्ट फोनको लतले मानसिक समस्या देखापर्दछन् । तनाव, चिन्तन, बेचैनी तथा उदासीनताका साथै निद्राको समस्या हुन्छ । थकान महशुस हुन्छ ।
कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न नसक्नु र रचनात्मक कार्य गर्न नसक्नु आदि । शारीरिक समस्यामा ढाड दुख्ने, टाउको दुख्ने, घाँटी र गर्धन दुख्ने, आँखामा समस्या जस्तै सुख्खापन र दैख्नमा समस्या हुन्छ । खान मन नहुने र वजन वा तौल घट्ने, मानसिक लक्षण्का साथै शारीरिक लक्षण देखा पर्दछन् ।
एकै परिवारका सदस्यहरु पनि एकआपसमा भेटवार्ता गर्नभन्दा पनि घोप्टो परेर मोवाइल थिच्नमै तल्लिन रहन्छन् । कतै यसले हाम्रो पारिवारिक मूल्य, मान्यतालाई ओझेल पार्ने त होइन ? कतै सामाजिक सञ्जालको आवश्यकताभन्दा र असामाजिक बनाइरहेको त छैन ? सामाजिक सञ्जालमा बढ्दो देखावटीपनले मानिसहरुले घाँटी हेरी हाड निल्नु भन्ने उखान बिर्सिसकेका छन् ।
सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि २०७५ जारी भएको छ । अबदेखि सबै सरकारी कार्यालयनले अनिवार्य रुपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गुर्नुपर्ने भएको छ । सेवाग्राहीलाई सूचना दिन सबै कार्यालयले ट्विटर, फेसबुक र भाइबरजस्ता सामाजिक सञ्जाल सञ्चालन गरिरहेका छन् ।
साइबर अपराध पनि विज्ञान र प्रविधिसँग जोडिएको अपराध हो । कम्प्यूटर र इन्टरनेटबाट गरिने अपराधहरु वेबसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत् ब्ल्याकमेलिङ, इनटरनेट बैङ्किङ, जालसाजी, अर्काको पहिचान अनाधिकृत रुपमा प्रयोग, क्रेडिटकार्ड, अर्काको कम्प्यूटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याउने क्षति वा जालसाजी हुन् । इन्टरनेटले मानिसलाई एकातिर जोडेको छ भने सँगै टाढा पनि बनाएको छ । नेपालको साइबर स्पेस खतरामा छ ।
देश विदेशबाट नेपालको साइबर स्पेसमा कम्प्यूटर, मोवाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम रोकिएको छैन । नेपालमा साइबर सुरक्षाको चुनौती बढ्दो छ । यो विश्वकै संवेदनशील विषय हो । डिजिटलाइजेशन आफ्नो नियन्त्रणमा रहनु आजको आवश्यकता हो । नेपालमा साइबर चेतनाकै कमी छ । अहिले एटिएम, अनलाइन बैङ्किङका सुविधासँगै गम्भीर चुनौती पनि ब्न थालेको छ ।
यस अन्तर्गत् उपभोक्तालाई झुक्याएर अर्काको रकम आफूले निकाल्ने, एसएमएस तथा इमले फिसिङ गर्ने क्रियाकलाप बढेका छन् । नेपालमै पनि बैंकको सर्भरमा आक्रमण गरेर लुट मच्चाउने प्रयासहरु भइरहेका छन् । नेपालमा सहज पहुँच र फितलो साइबर कानुनले गर्दा पनि यस्ता अपराध घट्ने गरेका छन् । आजको युग विज्ञान र प्रविधिको युग हो ।
प्रविधिसँग जोडिएर दौडिनु आवश्यकता र वाध्यता दुवै हो । प्रविधिको उपयोगसँगै सुरक्षाको कुरो आउँछ । सरकारले डिजिटलाइजेशनको सपना देख्दै गर्दा साइबर सुरक्षाको चुनौतीलाई अवमूल्यन गर्नु भयानक गल्ती हुन जान्छ । सरकार, दूरसञ्चार, इन्टरनेट सेवाप्रदायक, बैंक एयरलाइन्सलगायतका कम्पनीका सिस्टमहरुमा साइबर आक्रमण भइरहेका छन् । साइबर सुरक्षाको मामलामा नेपालको कानुन सशक्त छैन ।
नेपालमा सबैभन्दा बढी सामाजिक सञ्जालबाट साइबर अपराध हुने गरेको छ । फेसबुक, ट्विटर, भाइबर, स्काइप, ह्वाट्स्सप, इन्स्टाग्राम, इमोजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता दिनहुँ बढिरहेका छन् । दिनहुँ यस्ता सञ्जालबाट पीडित भएको भन्दै महानगरीय अपराध अनुसन्धान शाखा अन्तर्गत्को साइबरक्राइममा उजुरी टिपाउँछन्, नक्कली फेसबुक एकाउन्ट बनाएर गालीगलौज, धम्की, चरित्रहत्या गर्ने गतिविधि भइरहेका छन् ।
कम्प्यूटर प्रणाली र इन्टरनेटका माध्यमबाट सिर्जना गरिएको अदृश्य संसार नै भर्चुअल संसार हो । भर्चुअल संसारमा गरिने कुनै पनि अपराधजन्य कार्य जसबाट पीडित व्यक्तिलाई उसको भौतिक संसारमा हानी नोक्सानी पु¥याउँछ भने त्यस्तो अपराध साइबर अपराध हो । साइबर अपराध अन्तर्गत् ह्याकिङ, फिसिङ, पहिचान चोरी, वेबज्याकिङ, साइबर स्क्वाटिङ, साइबर स्कटिङ, साइबर बुलिङ, इमेल बमिङ, इमेल स्पुलिङ, मिसिङ, छद्मभेषी छलछाम, भाइरस आक्रमण, ट्रोजन हमला, साइबर सन्ताप, साइबर मानहानी, साइबर चोरी, साइबर आतंकवाद, सफ्टवेर पाइरेसी, तथ्याङ्क क्षति, अनलाइन जुवा, बाल पोर्नोग्राफी इत्यादि अपराधअन्तर्गत् पर्दछन् ।
कम्प्यूटर र इन्टरनेटको विकासले सूचना प्रविधि सँगसँगै अपराधका किसिम र तौरतरिकामा पनि अभूतपूर्व परिवर्तन ल्याएको छ । इन्टरनेट र सामाजिक सञ्जालको सहज पहुँचले बढाएका अपराधहरु व्यक्तिको गोपनियता, प्रतिष्ठा र मर्यादाका लागि मात्र होइन राष्ट्रि सुरक्षाकै लागि समेत चुनौतीका रुपमा देखापर्न थालेका छन् ।
सूचना र प्रविधिको क्षेत्रमा भइरहेको द्रुत गतिको विकास, कम्प्यूटर प्रविधिमार्फत् भइरहेको द्रुत गतिको विकासले भएका नवीन शैलीका अपराधको बढोत्तरी, बढ्दो सुरक्षा चुनौती र विद्यमान कानुनको अस्पष्टता एवं अन्तर्राष्ट्रिय अभ्यास समेतलाई हेर्दा प्रचलित कानुनको समयानुकूल परिमार्जन र साइबर अपराध नियन्त्रणसम्बन्धी छुट्टै कानुनको टड्कारो खाँचो देखिन्छ ।
सामाजिक सञ्जाल पछिल्लो समय प्रविधिमा सहज पहुँ र इन्टरनेट विस्तारले गर्दा सबै उमेर समूहका मानिसहरुबीच लोकप्रिय बन्न पुगेको छ । किशोरकिशोरी मात्र नभई बालबालिका, युवा, प्रौढ सबै सामाजिक सञ्जालमा अभ्यस्त भइसकेका छन् । लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जानललाई सदुपयोग गर्न सके यो वरदान साबित हुन्छ भने यसको दुरुपयोगले अभिशाप साबित हुन्छ । आजको संसार सञ्चारको हो ।
त्यसैले भनिन्छ सञ्चार छ त संसार छ । सामाजिक सञ्जालका कारण आज प्रत्येक मान्छे सूचना र सञ्चारको पहुँचमा पुगेको छ । सामाजिक सञ्जाल आफ्नो पिर, व्यथा, खुसी साट्ने थलो मात्र नभई बौद्धिक बहस गर्ने चौतारो समेत भएको छ । के सहर, के गाउँ मानिसहरु सामाजिक सञ्जालमै झुम्मिएका छन् । चिनी बढी खायो भने तीतो हुन्छ भनेझँे सामाजिक सञ्जालको आवश्यकताभन्दा बढी प्रयोगले हाम्रो समय अनुत्पादक क्षेत्रमा खर्च हुन्छ । हामी सामाजिक सञ्जालको प्रयोग फुर्सदको समय बिताउने गर्छौँ कि ज्ञान हासिल गर्न ? सामाजिक सञ्जालको प्रयोग सबैले एकै ढङ्गले गर्छन् भन्ने छैन ।
सामाजिक सञ्जालको प्रयोग विभिन्न उद्देश्य, प्रयोजन र तौरतरिकाले भइरहेको हुन्छ । सामाजिक सञ्जालमा सामाजिक नै भएर प्रस्तुत हुनुपर्छ । आपराधिक मनोवृत्ति भएका व्यक्तिहरुले साइबरक्राइम गर्छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नु नकारात्मक सोच हो । सकारात्मक काम तथा विचारको प्रशंसा गर्न सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । सामाजिक सञ्जालमा कसैको मानहानी, गालीगलौज, दुव्र्यवहार गर्नु अपराध हो ।
आफूले गरेको पोष्टमा कसले लाइक ग¥यो ? कसले कमेन्ट ग¥यो ? फलानोले मेरो लाइक समेत गरेन भनेर गनेर टाउको नदुखाऔँ । आफ्नो फाइदाको लागि सामाजिक सञ्जालको प्रयोग गरौँ । आफ्नो अध्ययन, अध्यापन, वृत्तिविकास, व्यापार, व्यवसायका लागि सामाजिक सञ्जाल प्रयोग गरौँ । सामाजिक सञ्जालको प्रयोग राम्ररी जानिएन भने यो जञ्जाल बन्न पुग्दछ । त्यसैले आफूले आफैलाई प्रश्न गरौँ कि सामाजिक सञ्जालको प्रयोग केका लागि गररहेका छौँ ? एकपटक सोचौँ, यसको दुरुपयोग हुनबाट बचौँ ।
अनावश्यक अफवाहको लाइक र शेयरले सामाजिक सञ्जालएकातिर फोहरी नै भइसकेको हुन्छ । सामाजिक सञ्जालको प्रयोग जसरी ग¥यो परिणाम पनि त्यसरी नै आइरहेको हुन्छ । सामाजिक सञ्जालको प्रयोग नै नगर्ने भनेको होइन, प्रयोग गर्ने तर त्यहाँ आफू प्रयोग नहुने हो । समयको बर्बादी नगरौँ, प्रयोगकर्ता आफै सचेत होऔँ । यसले सकारात्मक सन्देश दिन्छ कि नकारात्मक ?