दाङ,१८ साउन । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफु नेकपा (एमाले)मा भएको बताएकी छिन । उनले सामाजिक सञ्जालमा आफ्ना बारेमा आएका विभिन्न समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताएकी छिन् ।
उनले सोमबार विज्ञप्ति जारी गर्दै आफु एमालेमा भएको जानकारी गराएकी हुन् । उनी नेकपा विभाजित हुँदा माओवादी केन्द्रतिर लागेकी थिइन । ‘म निर्वाचित भएर प्रदेशसभामा क्रियाशील हुँदै गर्दा मेरा पार्टीका केही गुनासा थिए । कार्यकर्ताको नाताले पार्टीप्रति मेरा गुनासा र मप्रति पार्टीका केही गुनासा हुनु स्वभाविकै थियो’–उनले विज्ञप्तिमा भनेकी छिन्–‘अहिले ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु ।’
आफू सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको हुँदा माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमा रहेको उनले स्पष्ट पारेकी छिन् । ‘मैले सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको छ’–उनले भनेकी छिन्–‘त्यसैले मैले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रूपमा ठिक नभएकाले म एमालेमै रहेको स्पष्ट पार्दछु ।’ उनले आफु एमाले संसदीय दलको सदस्य भएको बताइन ।
२०७४ साल मंसिरको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट उनका श्रीमान उत्तरकुमार वली एमालेबाट निर्वाचित भएका थिए । तर पछि उनको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा विमलाकुमारी खत्री वली निर्वाचित भएकी थिइन् ।