प्रादेशिक अस्पताललाई २० लाखको स्वास्थ्य सामग्री

तुलसीपुर, १८ साउन । राप्ती प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण हो ।

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले नेपालमा कोभिड–१९ बाट प्रभावितका लागि राहत तथा सहयोग कार्यक्रमअन्तर्गत अस्पताललाई करिब २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । प्रतिष्ठानले आइतबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर, सेनिटाइजर, पिपिई, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावित खतराबाट बच्नका लागि अमेरिकी संस्था होपको सहयोगमा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कोभिड महामारी प्रतिकार्यका लागि स्वास्थ्य सामग्री हस्तारन्तरण कार्यक्रमअन्तर्गत सहयोग दिएको प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार दाङमा राप्ती प्रादेशिक अस्पताल छनोटमा परेको हो । प्रदेशमा अहिलेसम्म रुकुमपूर्व, बाँके र बर्दियाबाहेक सबै जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको निर्देशक केसीले जानकारी दिए ।

अक्सिजन सिलिण्डर १० थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, सेनिटाइजर १२० लिटर र पिपिई सेट २ सय थान, सर्जिकल मास्क १ हजार थान, फेस शिल्ड २५० र सर्जिकल २५० थान अस्पताललाई हस्तान्तरण गरिएको हो । राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा अध्यक्ष न्यौपानेले कोरोना महामारीसँग प्रतिकार्यका लागि पर्याप्त स्वास्थ्य सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सबैले महामारीबाट बच्न आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उनले सहयोग गर्ने प्रतिष्ठानलाई धन्यवादसमेत दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले कोरोनाको तेस्रो लहर आउनसक्ने भएकाले प्रतिकार्यका लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा डा. प्रणय राना, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट पदमराज अधिकारीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका ल्याब टेक्निसियन एमटी महरले गरेका थिए ।