‘भर्ना रोक, भौतिक उपस्थितिबीच पढाइ पनि रोक’

गोरक्ष समाचारदाता

दाङ, १८ साउन । निजी तथा सामुदायिक विद्यालयहरुले समेत धमाधम कक्षा ११ को भर्ना लिन थालेपछि घोराही उपमहानगरपालिकाको शिक्षा शाखाले कक्षा ११ को भर्ना र भौतिक उपस्थितिबीचको पठनपाठन तत्काल रोक्न सबै विद्यालयहरुलाई निर्देशन दिएको छ ।

यो बर्षको एसईई परीक्षाको नतिजा विधिवत्रुपमा प्रकाशित भइनसकेको अवस्थामा जिल्लाका सम्भ्रान्त भनिने विद्यालयहरुले नै धमाधम विद्यार्थी भर्ना लिएको जानकारीपछि घोराही उपमहानगरपालिकाले यस्तो निर्देशन दिएको हो । अहिलेसम्म पनि कोरोना भाइरसको संक्रमण यथावत रहेको भन्दै जोखिमको समयमा भीडभाड हुनेगरी भौतिक उपस्थितिबीच पढाइ नगर्न पनि उपमहानगरपालिकाले सचेत गराएको हो ।

घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख बिनोद गौतमले एक सूचना प्रकाशित गरेर यस्तो निर्देशन दिएका हुन् । सूचनामा घोराही उपमहानगर पालिकाअन्र्तगतका सामुदायिक तथा संस्थागत विद्यालयमा एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना गरेको भन्ने गुनासो आएकाले त्यस्तो कार्य रोक्न भनिएको छ । साथै हाल लकडाउन खुल्ला नहुँदै केही विद्यालयहरुले विद्यार्थीहरुको भौतिक उपस्थितिमै पठन–पाठन गरेको बुझिएन आएकाले अर्को आदेश नहुँदासम्म कक्षा ११ मा भर्ना कार्य र विद्यार्थीहरुको भौतिक उपस्थिति गराई शिक्षण कार्य नगर्नु÷नगराउन हुन शाखा प्रमुख गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

उक्त कार्य भएको पाइएमा नियमअनुसार कारबाही अगाडि बढाउने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले एसईई परीक्षाको नजिता प्रकाशन नहुँदै जिल्लाका विद्यालयहरुले २०७८ का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गरि सकेका छन् । कतिपय विद्यालयहरुले आफ्नो कोटा पूरा भइसकेको समेत बताउने गरेको अभिभावकहरु बताउँछन् । एसईईको नजिता नआउँदै कक्षा ११ मा भर्ना हुन नपाउने तर अहिले जिल्लाका निजी तथा संस्थागत विद्यालयहरुले भर्ना गरिरहेका छन् ।

परीक्षाको नतिजा अगावै जिल्लाका अधिकांश नाम चलेका विद्यालयहरुले भर्ना कोटा नै सकिएको बताउन थालेपछि अभिभावक अन्योलमा समेत परेका छन् । नतिजा सार्वजनिक भएपछि आफ्ना छोराछोरीका लागि स्कुल छनोट गर्ने ती अभिभावकहरुको सपना चकनाचुर भएको स्वयं अभिभावकहरुले बताएका छन् । विद्यालयहरुले सार्वजनिक सूचना तथा सामाजिक सञ्जालमार्फत कक्षा ११ मा भर्ना सुरु भएको जानकारी दिने गरेका छन् तर माध्यमिक तह सम्मको विद्यालय सञ्चालन तथा व्यवस्थापनको अधिकार रहेको स्थानीय तहहरु यसको बारेमा मौन रहेका छन् ।

स्थानीय तहहरुले यस प्रकारको कार्य रोक्न प्रभावकारी कदम चाल्न सकेका छैनन् । जसले गर्दा विद्यालयहरुले भर्ना अभियान सञ्चालन गरिरहेका छन् भने यस विषयमा विद्यार्थी संगठनहरुसमेत प्रभावकारी रुपमा आवाज उठाएको पाइँदैन । कक्षा ११ मा भर्ना गरेका विद्यालयहरुले अनलाइन माध्यमबाट कक्षासमेत सुरु गरेको अभिभावकहरुले बताएका छन् । अहिले बालबालिकाहरुले अनलाइन माध्यमबाट अध्ययन गर्ने गरेको एक अभिभावकले बताए । ‘एसईई परीक्षाको नतिजा नै नआउँदै कसरी बालबालिकालाई भर्ना गर्ने हो ?’ एक अभिभावकले भने ।

यस्तो कार्य गर्नु राम्रो नभएको उनको भनाइ रहेको छ । यो विद्यालयहरुको विद्यार्थी तान्ने बहानामात्र रहेको ती अभिभावकले बताए । यस प्रकारको गतल कार्य रोकिनुपर्ने उनी बताउँछन् । एसईईको नतिजा परीक्षा नियन्त्रण कार्यालयले कहिले सार्वजनिक गर्छ भन्ने अझै अन्योलमा रहेको छ । विद्यालयहरुले आन्तरिक मूल्यांकन गरी विद्यार्थीहरुको सम्भावित नतिजा भने शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमार्फत परीक्षा नियन्त्रण कार्यालयमा पठाइसकेका छन् ।